ठेकेदारले तोडे पुलको ठेक्का

सम्झौता भएको आठ वर्ष बिते पनि पुल बनेन
शिव पुरी

रौतहट — दुर्गाभगवती गाउँपालिका ५ स्थित रौतहट–सर्लाही सीमा क्षेत्रको बडहर्वानजिक वाग्मती नदीमा निर्माणाधीन पुलको ठेकेदारले ठेक्का रद्द गरेको छ । 

नदीले धार परिवर्तन गरेपछि झन्डै पाँच वर्षदेखि निर्माणको काम ठप्प थियो । सम्बन्धित निकायले निर्माण सुरु गर्ने विषयमा निर्णय लिन ढिला गरेको भन्दै निर्माण कम्पनीले एकतर्फी ठेक्का रद्द गरेको हो । हुलाकी सडक निर्देशनालयका प्रमुख अशोक तिवारीले ठेकेदारले डिजाइन गलत भएको भन्दै एकतर्फी रूपमा ठेक्का रद्द गरेको पत्र पठाएको बताए ।

‘ठेकेदारले आफ्ना तर्फबाट ठेक्का तोडिसक्यो । उसले काम नगरेको अवस्थामा नयाँ टेन्डर निकाल्नुको विकल्प छैन,’ उनले भने, ‘अब निर्माणको काम केही ढिला हुन्छ ।’ पुल निर्माणको सम्झौता भएको आठ वर्ष बिते पनि सम्पन्न हुन सकेन ।

निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका ठेकेदार लंक केसीले पुल निर्माण गर्ने समय सकिएकाले आफ्नो पक्षबाट ठेक्का तोडेको बताए । ‘हामीले सम्झौताकै समय सकिसकेको र लामो समयसम्म साइट उपलब्ध गराउन नसकेकाले अहिलेको अवस्थामा काम गर्न सक्दैनौं भनेर रद्द गरेका हौं,’ उनले भने, ‘सरकार र निर्देशनालयका तर्फबाट अन्तिम निर्णय हुन सकेको छैन ।’

हुलाकी सडक आयोजनाअन्तर्गत दुवै जिल्लाको सीमा जोड्ने गरी वाग्मतीमा पुल निर्माणकै क्रममा काम बन्द गरिएको थियो । नदीले धार बदलेपछि निर्माण विषयमा अनुसन्धान गर्नुपर्ने निर्देशनालयले जानकारी दिँदै काम अघि नबढाउन भनिएको थियो । साबिकको स्थानभन्दा पूर्वबाट खोला बग्न थालेपछि निर्माणको काम तत्कालै रोकियो ।

सिद्धार्थनगरस्थित लुम्बिनी बिल्डर्सले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा पुलको ठेक्का सकार गरेको थियो । ठेकेदार कम्पनीसित ०६७ जेठ ३१ मा निर्माण सम्झौता भएको थियो । ०७० जेठ ३० मा निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । ठेक्का लुम्बिनीले सकार गरे पनि निर्माणको काम पप्पु कन्स्ट्रक्सनले थालेको थियो । ठेक्का सकार गर्ने बेला पप्पुको निर्माण कम्पनी कालोसूचीमा परेको थियो । उसले लुम्बिनीको नाममा ठेक्का सकारेर काम सुरु गरेको थियो ।

पुल निर्माण गरिएको भन्दा आठ सय मिटर पूर्वबाट खोला बग्न थालेपछि काम रोकिएको निर्देशनालयले जनायो । पुलको लम्बाइ ६ सय ३३ मिटर हो । चौडाइ डबल लेनको छ । पुलका १७ वटा पिलरको काम सकिएको छ । अब सुपर स्ट्रक्चरको काम बाँकी छ । पुलको उचाइ केही बढाइने जनायो । निर्देशनालयका अनुसार अहिलेसम्म ६० प्रतिशत बढी काम सकिएको छ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका थिए । पिलरको कामबाहेक अरू केही निर्माण भएको छैन । लामो समयदेखि पुल अलपत्र परेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले आक्रोश पोखेका छन् । निर्देशनालयले चार महिनाअघि नै काम सुरु गर्न निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । ठेकेदार, हुलाकी सडक निर्देशनालय र पुल महाशाखाका प्रतिनिधिबीच पटकपटक छलफलसमेत भयो ।

ठेकेदारले काम सुरु गर्न लाग्दा स्थानीयस्तरमा अवरोध भएपछि झन्डै १३ महिना साइड उपलब्ध हुन सकेन । निर्देशनालयले काम सुरु गर्न भने पछि युद्धस्तरमा काम गर्दै आएको ठेकेदार केसीले सुनाए । निर्माणकै क्रममा काम बन्द भएपछि निर्देशनालयले गएको जेठमा महिनामा पुलको उचाइ २ सेमि बढाउने गरी काम सुरु गर्न ठेकेदारलाई पत्राचार गरेको थियो । उसले भने अस्वीकार गरेको छ ।

ठेक्का रद्द गरेको अवस्थामा काम गर्न नसक्ने भन्दै ठेकेदार पन्छिएको छ । यसले निर्माणको काम अन्योल बनेको छ । ठेकेदारले आरबिटेसनमा जाने तयारी गरेको छ । यो सम्बन्धित निकाय र ठेकेदारबीच विवाद भयो भने मध्यस्थता गर्ने र समस्या मिलाउने बोर्ड हो । ठेकेदारले आरबिटेसनका लागी प्रतिनिधि तोक्न माग गरेको छ । यसबाट समस्या हल नभए मुद्दामा जानुपर्छ । ठेकेदारले यस्तै मनस्थिति बनाएको छ । ‘हामी अझै पनि ठोस निकास निस्कियोस् भनेर पर्खिरहेका छौं,’ ठेकेदार केसीले भने, ‘ठेकेदारलाई मात्र दोष दिएर हुँदैन । हामी काम गर्न तयार थियौं । निर्देशनालयले समयमा निर्णय गर्न सकेन ।’

ठेकेदारले दुई वर्षअघि नै ठेक्का रद्दको निवेदन दिएको दाबी गरेको छ । लामो समयदेखि पुलको काम बन्द भएको चौतर्फी गुनासो पछि संसदीय विकास समितिका सभापति सांसद कल्याणी खड्का, सांसद प्रभु साहलगायतको टोलीले अनुगमन गरेको थियो । सभापति खड्काले बडहर्वाका स्थानीयलाई धेरै नै समस्या भएकाले पुल निर्माणको काम चाँडै सुरु गर्नुपर्ने बताइन् । ‘केही प्राविधिक कारणले रोकिएको होला । अब ढिला गर्नु हुन्न,’ उनले भनिन्, ‘चाँडै काम गर्न निर्देशनालयलाई भनेका छौं ।’

पुल निर्माणका क्रममा जग खन्ने क्रममा निस्केको माटो व्यवस्थापनमा चासो दिँदा साविकभन्दा पूर्वबाट खोला बग्न थालेपछि निर्माणको काम तत्काल रोकिएको हो । पुल एकातिर खोला अर्कोतिर बग्न थालेपछि निर्माणको काम रोकिएको निर्देशनालयले जनायो । अहिले पुल सुक्खा भएको स्थानमा छ । पुल नै नभएको साइटतिर पानी बगिरहेको छ ।

यही कारण निर्देशनालय र ठेकेदारलाई टाउको दुखाइको विषय बनेको हो । उसै बेला ठेकेदारले माटो हटाइदिएको भए समस्या नआउने प्राविधिकहरू बताउँछन् । पिलर तलको सबै माटो बगाइसकेको छ । ठेकेदारले पिलर निर्माणको बेला निस्कने माटो अन्यत्र व्यवस्थापन गर्नुपर्ने नियम छ । ठेकेदारले त्यसो गरेको पाइँदैन ।

‘लुम्बिनीको काममा पप्पु कन्स्ट्रक्सनले प्रतिनिधित्व गरेको हो,’ ठेकेदार केसीले भने, ‘त्यो बेला काम गर्ने वातावरण नभएको र काम गर्नुपर्ने बाध्यताले हामीले पप्पु कन्स्ट्रक्सनलाई सहयोग गरेका हौं । लुम्बिनी बिल्डर्सको फर्म मात्र प्रयोग गर्नुभएको हो ।’ पप्पुले देशभर पुल निर्माणको काम सकारेर त्यत्तिकै अलपत्र छाडेको छ ।

प्रकाशित : माघ २७, २०७५ ०८:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाँझो जग्गा भाडामा लिई खेती

एकै वर्षमा २५ लाख आम्दानी
डीआर पन्त

गन्यापधुरा, डडेलधुरा — गन्यापधुरा र अमरगढी नगरपालिकाका ५ युवाले सामूहिक खेतीबाट एकै वर्षमा २५ लाख रुपैयाँ आम्दानी गरेका छन् । २५ वर्षदेखि बाँझो रहेको १ सय २ रोपनी जग्गा भाडामा लिई खेती गरेका हुन् ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका र अमरगढी नगरपालिकाका युवाहरूले गरेको सामूहिक खेती । तस्बिर : डीआर/कान्तिपुर

स्थानीय दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले गत वर्ष भागेश्वर एग्रिकल्चर एन्ड लाइभस्टक स्थापना गरी सामूहिक तरकारी खेती थालेका थिए । १२ जनालाई उनीहरूले रोजगारीसमेत दिएका छन् ।

२६ जना महिला कृषि मजदुरले पनि सिजनभरि रोजगारी पाएका छन् । युवाहरूको यो प्रयासले उनीहरू मात्र होइन, यस क्षेत्रका अरू युवाहरू मिलेर बाँझो रहेको जग्गामा विभिन्न तरकारीका बीउ उत्पादनमा लागेका छन् । गाउँ छाडेर तराई बसाइ सरेपछि गाउँमा बाँझो रहेको जग्गाको उपयोगसँगै राम्रो मुनाफा हुन थालेपछि गाउँका अन्य युवा पनि यसतर्फ आकर्षित भएको सञ्चालकमध्येका रामचन्द जोशीले बताए । उनले भने, ‘आफूहरूसँग एकलौटी जमिन नभएकाले गाउँका विभिन्न व्यक्तिको बाँझो जग्गा भाडामा लिएर खेती सुरु गरेका हौं ।’

अर्का सञ्चालक सदस्य सीताराम जोशीले पहिलो पटक शुद्ध आलुको बीउ एक सय क्विन्टल उत्पादन भएको बताए । उनले, ‘झन्डै १० लाख लगानी गरी यस वर्ष २५ लाख कमाइ भएको हो ।’ बजारमा शुद्ध आलुको बीउ (कार्डिनल डेजिरे) को अभाव भएको बेला आलुको बीउको खेतीबाट मुनाफा भएको उनले जनाए । जोशीका अनुसार फार्मको मुख्य उद्देश्य बाँझो जमिनलाई खेतीयोग्य भूमिमा रूपान्तरण गरी गाउँको बेरोजगारी घटाउन प्रयास गर्नु हो । पहिलो चरणमा कम्पनीले बेरोजगार महिला र पुरुष कृषि मजदुरलाई वर्षको १ सय २० दिन रोजगारी दिएको छ ।

आफू पनि रोजगार हुने र बेरोजगार युवालाई पनि काम दिन सकिने भएपछि युवाहरू यसरी सामूहिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । दत्तराज अवस्थीले भने, ‘कम्पनी गठन गरी व्यावसायिक खेती सुरु गर्दा धेरैले विश्वास गरेका थिएनन् । एकै वर्षमा लाखौं मुनाफा भएपछि भने सबै आश्चार्यचकित भएका छन् ।’

पानी अभाव, आलु खेतीको प्राविधिक सल्लाहकारको अभाव, बजारको न्यून सम्भावना हुँदाहुँदै पनि युवाहरूको प्रयास उदाहरणीय रहेको कृषि ज्ञान केन्द्र डडेलधुराका वरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्टले बताए । उनले भने, ‘आलु खेती गर्ने सयौं कृषक भए पनि बजारमा विविध खाले आलु बीउको अभावलाई युवाहरूले गरेको सामूहिक खेतीले पूर्ति गरेका छन् ।’

उनीहरूले उत्पादन गरेको आलु बीउ यस वर्ष सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा बिक्री भएको छ । तराईका कैलाली कञ्चनपुर र भारतका विभिन्न क्षेत्रबाट आयात हुने आलु बीउ बजार मूल्यभन्दा सस्तो पाउन थालेपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आलु बीउले राम्रो बजार पाएको पनि प्राविधिक विष्टले बताए ।

यस वर्षदेखि आलुमा प्रदेशलाई आत्मनिर्भर बनाउने गरी कम्पनीले ठूलो मात्रामा आलुको बीउ र आलु उत्पादन गर्ने भएको पनि जोशीले जनाए । उनले भने, ‘आलु कृषकहरूलाई आधुनिक प्रविधि (मल्चिङ प्रविधि) र प्रांगारिक खेती गर्नमा प्रोत्साहान गर्ने योजना बनाएका छौं ।’

सञ्चालक जोशीले युवाहरूको यस सामूहिक खेतीमा प्रधानमन्त्री कृषि आधुनिक परियोजना आलु सुपरजोन र अमरगढी नगरपालिका कृषि शाखाले सहयोग गरेको बताए । ‘१० लाखभन्दा बढी आफैंले लगानी गरेका हौं,’ जोशीले भने प्राविधिक र अन्य सहयोग अमरगढी नगरपालिकाको कृषि शाखाले गरेको हो ।’

प्रकाशित : माघ २७, २०७५ ०८:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT