सीसँग तत्काल वार्ता हुँदैन : ट्रम्प

मार्च २ सम्ममा दुई पक्षको सम्झौता नभए चिनियाँ आयातमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेर १० बाट २५ प्रतिशत पुर्‍याउनेछ
रोयटर्स

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग मार्च १ अघि कुनै हालतमा वार्ता नगर्ने बताएका छन् । उक्त मितिमा दुई देशले व्यापार युद्धको हल खोज्ने लक्ष्य लिएका थिए । उक्त मितिमा नै दुईबीच भेटघाट हुने सम्भावनाबारे जिज्ञासा राख्दा ट्रम्पले सिधै ‘नो’ भनेका छन् । 

सीसँग तत्काल वार्ता हुँदैन : ट्रम्प

ओभल अफिसको एक कार्यक्रममा ट्रम्पलाई सीसँगको आगामी महिनाको भेटबारे सोध्दा उनले भने, ‘तत्काल भेटघाट हुँदैन । सायद चाँडै हुन्छ, चाँडै नै होला ।’ ट्रम्पको अभिव्यक्तिले दुई देशबीच यथाशीघ्र व्यापार सम्झौता भए गिर्दो अमेरिकी स्टक मार्केट उक्सिन्थ्यो कि भन्ने अनुमान फेल खाएको छ ।


पछिल्लो पटक अर्जेन्टिनामा भएको भेटमा ट्रम्प र सीले ९० दिनका लागि भन्सार वृद्धि स्थगित गरेका थिए । यो अन्तरालमा आआफ्ना प्रतिनिधिलाई वार्ता र सम्झौताका लागि समय दिने तय भएको थियो । वार्ता सफल नभए अमेरिकाले चीनबाट आयातित सामानमा भन्सार शुल्क वृद्धि गर्ने चेतावनी ट्रम्पले दिँदै आएका छन् । आउँदो हप्ता दुई देशका प्रतिनिधिबीच बेइजिङमा वार्ता हुँदै छ ।

मार्च २ सम्ममा दुई पक्षको सम्झौता नभए दुई खर्ब डलरको चिनियाँ आयातमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेर १० बाट २५ प्रतिशत पुर्‍याउने ट्रम्पले बताएका छन् ।


सीसँग आफ्नो न्यानो सम्बन्ध रहेको भन्दै आएका ट्रम्पले गत साता मात्रै सीलाई भेटेर अन्तिम सम्झौता गर्ने बताएका थिए । सीको निमन्त्रणा लिएर ह्वाइट हाउस पुगेका चिनियाँ उपप्रधानमन्त्री लिउ हिसँगको भेटमा ट्रम्प उत्साहित हुँदै अन्तिम सम्झौताका लागि हल निकाल्न आफू तयार रहेको बताएका थिए ।


उक्त भेटमा सरिक एक अधिकारीका अनुसार ट्रम्पलाई उनका सल्लाहकारले सीको निमन्त्रणा स्वीकार गर्दा अपेक्षा बढ्नेतर्फ सचेत गराएका थिए । यसले दुई देशबीच मार्चअघि नै सम्झौता हुन सक्ने र वार्तामा अमेरिकाको प्रभाव क्षमतामा ह्रास आउन सक्ने भन्दै ट्रम्पलाई सचेत गराइएको थियो ।


फेब्रुअरी अन्तिमको एक सम्मेलनमा भाग लिन एसिया आउन लागेका ट्रम्पले त्यो बेला उत्तर कोरियाका प्रमुख किम जङ उनलाई भियतनामा भेटदै छन् । सोही भ्रमणका क्रममा उनले सीसँग पनि भेट्ने अनुमान लगाइएको छ । ट्रम्पले त्यो पनि एउटा विकल्प हुन सक्ने वा सी नै अमेरिका आउँदा हुने बताएका छन् । ह्वाइट हाउसको आर्थिक मामिलाका सल्लाहकार ल्यारी कुडलोले दुई अािर्थक शक्तीबीच पछिल्लो मितिमा भेट हुन सक्ने जानकारी दिएका छन् ।


‘कुनै विन्दुमा दुई राष्ट्रपतीबीच भेट हुनु नै छ,’ ल्यारी भन्छन्, ‘राष्ट्रपति ट्रम्पले भनेको पनि यही हो । अहिलेलाई भने त्यो अलि पारिकै कुरा हो ।’ उनीहरूबीच चाँडै भेट हुने समाचारले अमेरिकी बजारमा आशा जगाएको थियो ।


‘मार्केटमा कहाँनिर कति प्रभाव परेको छ भन्नेबारे म अनुमान लगाउन सक्छु,’ ओकब्रुक इन्भेस्टमेन्ट्सका पिटर जान्कोभिस्किस भन्छन्, ‘व्यापार वार्तालाई लिएर जनवरीदेखि नै आशा जागेको थियो ।’ अमेरिकाको प्रतिनिधिका रूपमा रोबर्ट लाइटथाइजर र यूएस ट्रेजरी सेक्रेटरी स्टेभेन नुनिच सोमबार चीन जाँदै छन् । यसपटक उनीहरूबाट सरकारले थप सफलताको कामना गरेको एक अधिकारीले बताए ।


अमेरिकाले महत्त्वपूर्ण नीतिहरूमा विशेष सुधारका लागि चीनलाई दबाब दिँदै आएको छ । चीनमा सञ्चालित अमेरिकी कम्पनीलाई कस्तो व्यवहार गर्नेलगायतका संरचनागत मुद्दामा अमेरिका चनाखो बनेको छ । चीनले अमेरिकी कम्पनीलाई आफ्नो प्रविधि साझा गर्न भन्दै अमेरिकी बौद्धिक सम्पत्ति चोरी गर्न खोजेको वासिङटनको आरोप छ । चीनले यो आरोप अस्वीकार गर्दै आएको छ ।


गत मंगलबारको कार्यक्रममा ट्रम्पले बेइजिङसँगको कुनै पनि नयाँ व्यापार सम्झौतामा ‘वास्तविक र संरचनागत परिवर्तन भए मात्रै अनुचित व्यापार पद्धति अन्त्य हुने’ बताएका थिए । त्यस्ता परिवर्तनहरू नै अहिलेसम्मका यावत् वार्ताका मुख्य बाधा–अड्चन बन्दै आएका छन् । दुई देशका प्रतिनिधिबीचको छलफलमा प्रगति नभए राष्ट्रपतीद्वयको भेट अनिश्चितकाललाई पछि सर्ने विज्ञले बताएका छन् ।

प्रकाशित : माघ २७, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?