वर्षामा तरकारी निर्यात हिउँदमा आयात

भारत, बंगलादेश र चीनमा उत्पादित तरकारीकै भर 
चन्द्र कार्की

तेह्रथुम — बर्खामा पूर्वी तराई हुँदै भारतीय बजारमा करोडौं मूल्यका तरकारी निर्यात गर्ने जिल्लाका किसान हिउँदमा भने उतैको तरकारीमा निर्भर गर्छन् । बेमौसमी तरकारी खेतीमा अव्बल मानिएका जिल्लाका किसानसमेत मंसिरयता भारत, बंगलादेश र चीनमा उत्पादित तरकारीकै भरमा भान्सा टारिहेका छन् । 

यहाँका सबैजसो स्थानीय तहका केन्द्र र ग्रामीण बजारसम्मै हाल विदेशी तरकारीले कब्जा जमाएको छ । जिल्लाका सबै स्थानीय तह सडक सञ्जालसँग जोडिएकाले पनि विदेशी तरकारी गाउँका उपभोक्तासम्म पुर्‍याउन सहज भएको जिल्ला समन्वय समिति संयोजक शिव ढुंगानाले बताए । वर्षको छ महिना आफ्नै तरकारी भारतीय बजारमा पठाउने यहाँका हजारौं किसान मंसिरयता भने विदेशबाट आयत गरिएको तरकारीकै भरमा छन् ।

Citizen


स्थानीय बजारमा दैनिक भारत, बंगलादेश र चीनका कृषि बजारको तरकारी सहजै आइपुग्ने गरेको छ । पूर्वको जोगबनी र काँकडभिट्टा नाका हुँदै यहाँका बजारमा तरकारी आइरहेको छ । चीनबाट प्याज, आलु र लसुन आउने गरेको छ । त्यस्तै भुटानबाट आलु ठूलो परिमाणमा आउने गरेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सभा पौडेलले बताए ।

भारतबाट प्याज, आलु, टमाटर, बन्दा, काउली, च्याउ, फर्सी, ब्रोकाउली, गाँजर, भेंडे खुर्सानी, हरियो खुर्सानी, सिमी, हरियो साग, लौका, काँक्रालगायत तरकारी दैनिक ठूलो परिमाणमा आयत भइरहेको छ ।

गत बर्खे सिजनको छ महिनामा ४० करोड रुपैयाँभन्दा बढी भारतीय रुपैयाँको तरकारी उताको बजारमा बिक्री गरेका धनकुटाको जोरपाटीदेखि तेह्रथुमको लसुने हुँदै संखुवासभाको मुढेशनिश्चरेसम्मका सडक दायाँबायाँका किसानका तरकारी खेती हुने बारी अहिले उजाड देखिन्छन् ।

हिउँद याममा यो क्षेत्रमा अत्यधिक चिसो हुने, तुसारो तथा हिउँ पर्ने भएकाले खुला जमिनमा तरकारी खेती नफस्टाउने लालीगुराँस नगरपालिका चित्रेका किसान श्याम गुरुङले बताए । यहाँका किसानले ग्रिन हाउसमा तरकारी खेती गर्ने प्रविधि व्यावसायिक रूपमा भित्र्याएका छैनन् । जसले गर्दा हिउँद याममा जहिल्यै पनि पहाडमा तरकारीको अभाव हुने गरेको छ ।

जिल्लाको तल्लो भेगमा भने तरकारी खेती हुने गरेको छ । यहाँ उत्पादन भएको तरकारीले माग धान्न सक्दैन । स्थानीय बजारमा विषादीको मात्रा परीक्षणै नगरिएका तरकारी छयापछयाप्ती बिक्री हुने भए पनि त्यसको अनुगमन निरीक्षण गरिँदैन ।

महँगो मूल्यमा बिक्री भइरहेका यस्ता तरकारी खानका लागि कति योग्य छन् भनेर कुनै निकायले खोजी गरेको छैन । लालीगुराँस नगरपालिका वसन्तपुर बजारका तरकारी बिक्रेता इन्दल साहले आफूहरूले पूर्वी तराईका व्यापारीमार्फत तरकारी खरिद गरी ल्याउने भएकाले विषादीको मात्राबारे आफूलाई केही थाहा नभएको बताए ।

जिल्लास्थित कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्राविधिक रामजुगन यादवका अनुसार हिउँद याममा कम किसानले तरकारी खेती गर्ने भएकाले आयातित तरकारीकै भर पर्नुपरेको बताए । तेह्रथुममा मात्र होइन, प्रदेश १ का अन्य पहाडी जिल्लामा पनि भारतसहितका देशमा उत्पादित तरकारी बढी पाइन्छ ।

स्थानीय स्तरमा उत्पादन हुने अर्गानिक तरकारीलाई बाहिरबाट आयात भइरहेका विषादीयुक्त तरकारीले विस्थापित गरेको छ । भारतीय तरकारीको अत्यधिक आयातले जिल्लामा उत्पादन हुने अर्गानिक तरकारीलाई ओझेलमा पारेको छ ।

भारतसहितका देशमा उत्पादन भएका तरकारी बिक्रीका लागि व्यापारी पनि भारत र पूर्वी तराईबाटै आउने गरेका छन् । यसरी आएका व्यापारीले स्थानीय उत्पादनलाई बेवास्ता गरी विराटनगर, झापालगायत नाकाबाट तरकारी पहाडका गाउँसम्म ल्याउने गरेका छन् ।

जिल्लाका वसन्तपुर, म्याङलुङ, जिरीखिम्ती, लसुने, मोराहाङ, पोक्लाबाङ, संक्रान्ती, चुहानडाँडा, शुक्रबारेलगायत बजार क्षेत्रमा भारतसहितका देशमा उत्पादन भएका तरकारीले कब्जा जमाएको छ ।

यहाँका बजार हुँदै गाउँसम्म दैनिक ३० क्विन्टल बढी तरकारी आयात हुने अनुमान व्यापारीको छ । अहिलेको सुक्खा मौसममा यहाँसम्म आएको विदेशी तरकारीको मूल्य अकासिएको छ । कृषकले चिसो र न्यानो दुवै मौसममा पनि सहजै तरकारी खेती गर्न सकिने प्रविधिको प्रयोग कमै मात्र गरेकाले पनि यहाँको उत्पादनले व्यापकता नपाएको प्रदेश सांसद लक्ष्मण तिवारीले बताए । गाउँगाउँमा प्लास्टिक टनेल बनाएर ग्रिन हाउसभित्र तरकारी खेतीको विस्तार गर्न सकिए पहाडमा हिउँदयाममा पनि तरकारीको अभाव नहुने सांसद तिवारीको भनाइ छ ।

पूर्वी तराईका बजार हुँदै जिल्ल्लामा भित्रिएको तरकारी थोकमा किनेर खुद्रा व्यापार गर्ने व्यापारीको संख्या पनि अत्यधिक बढेको छ । ‘बर्खामा तरकारी बिक्री गर्न आउने किसानसमेत अहिले तरकारी खरिद गर्न आइरहेका छन्,’ चित्रे बजारका तरकारी व्यापारी होम रायमाझीले भने ।

जिल्लाभर दैनिक ५ लाख रुपैयाँँभन्दा बढीको तरकारी र ३ लाख रुपैयाँ हाराहारीको फलफूल बाहिरबाट आउने अनुमान संघको छ । त्यस्तै स्याउ, अंगुर, केरालगायत फलफूलको आयात दर पनि उच्च रहेको व्यापारीको भनाइ छ ।

प्रकाशित : माघ २८, २०७५ ०८:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

त्रिशूली ‘थ्रीबी’ आयोजनाको शिलान्यास

कृष्ण थापा

नुवाकोट — माथिल्लो त्रिशूली ‘थ्रीबी’ जलविद्युत् आयोजनाको आइतबार शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले किस्पाङ गाउँपालिका ५ स्थित पैरेबेंसीमा आयोजनाको शिलान्यास गरेका हुन् ।

माथिल्लो त्रिशूली थ्रीबी जलविद्युत् आयोजनाको आइतबार शिलान्यास गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलगायत । तस्बिर : कृष्ण/कान्तिपुर

३७ मेगावाट क्षमताको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को मुख्य लगानीमा निर्माण हुन लागेको हो ।

आयोजना समयमा सम्पन्न गरी जनताको विश्वास जित्ने लक्ष्य रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले बताए । ‘अधिकांश आयोजनाको कार्य समयमा नसकिने र त्यसको लाभमाथि अविश्वास बढ्ने गरेको छ,’ उनले भने, ‘यो आयोजनाको निर्माण समयमै सक्ने गरी कार्य अघि बढाइनेछ ।’ यसका लागि कानुनी र संरचनागत सरलीकरण तीव्र गतिमा अघि बढाएको जानकारीसमेत उनले दिए ।

स्थानीयबासीको सहयोग लिएर उनीहरूमा अपनत्वको भावना विकास गर्दै निर्धारित समयमै आयोजना सक्ने प्रतिबद्धता ऊर्जा सचिव दिनेशकुमार घिमिरेले पनि व्यक्त गरे ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाका प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा अध्यक्ष कुलमान घिसिङले माथिल्लो त्रिशूली ‘थ्रीबी’ तोकिएको समयभन्दा अगाडि नै निर्माण गर्न सकिए मुलुकभर भरपर्दो र नियमित विद्युत्् आपूर्तिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ ०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ ।

ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्नेछ । घिसिङले ठेकेदार कम्पनीले हाल निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण निर्माण उपकरण तथा सामग्रीको परिचालन गरी मुख्य सुरुङ (३७९२ मिटर), विद्युत्गृह, सर्ज टयांकलगायतका संरचनाको काम सुरु गर्ने अवस्थामा रहेको जनाए । सिचुवान कम्पनीका सीईओ वाङ वेनले सबैको साथ पाए समयमै आयोजना निर्माण सम्पन्न हुनेदाबी गरे ।

तीन वर्ष निर्माण अवधि रहेको आयोजनाले २९ फागुन ०७७ भित्र विद्युत् उत्पादन थाल्ने उनले बताए । नुवाकोट र रसुवामा निर्माण भइरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्रीए’ को क्यास्केड आयोजना हो । क्यास्केड भएकाले माथिल्लो त्रिशूली ‘थ्रीबी’ ले बाँध, बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्दैन ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत सेयर छ । कम्पनीमा रसुवा र नुवाकोटका स्थानीय तहको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ ।

प्रकाशित : माघ २८, २०७५ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT