१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

थामखर्क विमानस्थल पुन: सञ्चालन

खोटाङ — झन्डै २८ महिनापछि थामखर्क विमानस्थल पुन: सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, प्रतिनिधिसभा सांसद विशाल भट्टराई, नेपाल वायु सेवा निगम अध्यक्ष मदन खरेल, उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, खोटेहाङ गाउँपालिका ४ का अध्यक्ष प्रदीपकुमार राईलगायतले संयुक्त रूपमा सोमबार विमानस्थल उद्घाटन गरे । 

थामखर्क विमानस्थल पुन: सञ्चालन

विमानस्थलमा सोमबार नै नेपाल वायु सेवा निगमले परीक्षण उडान भरेको थियो । परीक्षण उडान तथा उद्घाटनका क्रममा सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरिएको थियो ।


धावनमार्ग कालोपत्रे गरीवरी विमानस्थल सुचारु गरेपछि स्थानीय खुसी भएका छन् । यातायातको खास सुविधा नभएकाले विमानस्थल अत्यावश्यक रहेको स्थानीय मनकुमारी राईले बताइन् ।


‘पहिले यहीँबाट प्लेन चढेर म दुईचोटि काठमाडौं गएकी थिएँ,’ उनले भनिन्, ‘दु:ख, बिमार पर्दा प्लेन चाहिन्छ ।

मलाई ढाड दुख्ने र पायल्सको समस्या छ । बेलाबेला जँचाउन गइरहनुपर्छ । प्लेन भए सजिलो हुन्छ ।’ नेपाल वायुसेवाले साताको दुई दिन उडान भर्ने निगमका अध्यक्ष खरेलले बताए । यहाँबाट काठमाडौं र विराटनगर जान सकिनेछ ।


स्थानीयले भने साताको कम्तीमा चार दिन प्लेन चलिदिए हुन्थ्यो भन्ने अपेक्षा राखेका छन् । पहिले पनि दुई दिन मात्रै प्लेन चल्दा ‘टिकट नपाएर लाप्पा खेल्नुपरेको’ बडकादियालेका जीवनप्रकाश श्रेष्ठले बताए । ‘हिउँदमा त जसोतसो दुई दिन लगाएर काठमाडौं, विराटनगर जान्छौं,’ उनले भने, ‘बर्खामा विजोग हुन्छ ।’ खोटाङको दक्षिणी भेगमा रहेको विकट खोटेहाङ गाउँपालिकासहित बराह पोखरी, जन्तेढुंगालगायत आसपासका बासिन्दालाई थामखर्क विमानस्थल महत्त्वपूर्ण यातायात विकल्प रहेको स्थानीयवासीको भनाइ छ ।


०५६ मा स्थापना भएको विमानस्थल ०७३ असोजदेखि बन्द भएको थियो । रौता कन्स्ट्रक्सनले साढे १० करोड रुपैयाँ लगानीमा दुई वर्षमा कालेपत्रेसहित अन्य स्तरोन्नति गरेपछि विमानस्थल पुन: सञ्चालनमा आएको हो । ‘अब यहाँ बाह्रै महिना नियमित प्लेन चल्नेछ,’ मन्त्री अधिकारीले भने, ‘पहाडी र दुर्गम क्षेत्रमा प्लेन जान छाडेकोमा अहिले हामीले त्यो चलन अन्त्य गर्न खोज्दै छौं ।’ मन्त्री बनेयता आफूले थामखर्कसहित देशभरका ३२ वटा विमानस्थल कालोपत्रे गर्नुका साथै २८ वटा सुचारु गरेको अधिकारीको भनाइ थियो ।


यातायात सुविधा असहज भएका स्थानमा हवाई सेवा पुर्‍याउनु सरकारको जिम्मेवारी भएको उनले बताए । यसलाई सरल बनाउने प्रतिबद्धता व्यक्त गरे । सांसद विशाल भट्टराईले खोटाङलाई समृद्ध र विकसित जिल्ला बनाउन यातायातका पूर्वाधार बलियो बनाउनु आवश्यक रहेकोतर्फ जोड दिए । खोटाङमा लामिडाँडा, खानीडाँडा र थामखर्क गरी तीन विमानस्थल छन् ।


लामिडाँडालाई दुई महिनाभित्र सञ्चालनमा ल्याउनुका साथै खानीडाँडाको स्तरोन्नति गर्ने मन्त्री अधिकारीको भनाइ थियो । स्थानीयले मन्त्रीलाई विमानस्थल उद्घाटन गरेर मात्र नहुने बताएका थिए । ‘बलबहादुर केसी, प्रदीप ज्ञवालीलगायतले पनि आआफ्नो पालामा विमानस्थल उद्घाटन गर्नुभएको थियो,’ खोटाङ क्यापसका पूर्वक्याम्पस प्रमुख राजन ढकालले भने, ‘त्यसको केही समयपछि विमानस्थल बन्द भयो । त्यो नियति नहोरियोस् ।’


बीस रोपनी ६ आना क्षेत्रफल रहेको थामखर्क विमानस्थलमा राष्ट्रिय ध्वजाबाहकसँगै तारा एयरले पनि उडान भर्छ भन्ने सुनेपछि स्थानीय दुर्गा खत्री दंग थिए । ‘तारा आयो भने हामीलाई सुविधा हुन्छ,’ उनले भने, ‘दिनदिनै प्लेन उडिदिए हामीलाई बिमार पर्दा डर हुँदैन थियो तर ताराको टुंगो लागेको छैन ।’ हाल उनीहरू उपचारका लागि गाईघाट, रसुवा, फोक्सुन्टार हुँदै काठमाडौं, धरान वा विराटनगर पुग्ने गरेका छन् ।


खोटेहाङको रोक्सिङ भञ्ज्याङ, सोलढुंगालाई पर्यटकीय क्षेत्र घोषणा गरिएकाले विमानस्थल सञ्चालनमा आउनु सुखद भएको स्थानीयवासीले बताए ।


खोटेहाङ आसपासका सोलढुंगा, ट्याम्केडाँडा, सानो हलेसी, भाले ढुंगा, इन्द्रेणी पोखरी, बराह पोखरीजस्ता रमणीय स्थल रहेको खोटेहाङ ४ का वडाअध्यक्ष कीर्तन राईले जानकारी दिए । गाउँको विकासका लागि माग गर्दै उनले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित : माघ २९, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?