कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

चिया काटछाँटमा व्यस्त किसान

विप्लव भट्टराई

इलाम — हिउँद याममा चियाको मुना नपलाए पनि कृषकले फुर्सद पाएका छैनन् । बर्खाभरि हरियो चियापत्ती टिपेर कारखानामा बेच्नमा व्यस्त कृषक आ–आफ्नो बगान काटछाँट गर्नाले बेफुर्सदिला बनेका हुन् । 

चिया काटछाँटमा व्यस्त किसान

श्रमिकको अभाव भएकाले कृषकले आफैं काटछाँट गर्ने गरेका छन् । चैतदेखि कात्तिकसम्म चिया टिपाइसकिएपछि तुरुन्त काँटछाँट थाल्नुपर्ने कृषक बताउँछन् । ‘बर्सेनि बगानमा गर्नुपर्ने यो अनिवार्य काम हो,’ अन्तुका लक्ष्मण गौतमले भने, ‘सबैलाई उस्तै चटारो हुने भएपछि कृषक आफैंले काम नगरी विकल्प छैन ।’


धेरै उत्पादन गर्न र बगानको आकार मिलाउन पनि चियाको कटिङ अनिवार्य छ । चियालाई विभिन्न चरणमा काटछाँट गरिन्छ । कृषकले चिया टिपाइसकिएपछि हल्का ढंगले हरेक वर्ष काटछाँट गर्छन् । ‘हरेक ३ वर्षमा चियालाई डिप कटिङ गर्नुपर्छ,’ गौतमले भने, ‘जमिनको सतहदेखि १२ देखि १४ इन्चसम्म यो कटाइ गर्नुपर्छ ।’ चिया प्राविधिकका अनुसार चिया रोपेको १५ वर्षको हाराहारीमा जमिनको सतहबाट ६ सेन्टिमिटरमा अर्को कटाइ हुन्छ ।


कृषकस्तरबाट खुलेका अधिकांश बगानको उमेर १५ वर्षभन्दा कम भएकाले थोरै बगानमा मात्र यस्तो कटाइ हुने गरेको छ । पुरानो बगान ठूलो भएका कृषकले प्लग छुट्याएर यो क्रमलाई निरन्तरता दिने गरेका छन् ।


‘चियामा काम गर्ने श्रमिक पाउनै मुस्किल भएकाले समस्या हुने गरेको छ,’ अन्तुकै कृषक केशव घिमिरेले भने, ‘समयमा काटिएन भने बगान बिग्रने भएकाले अरू काम छाडेर आफैं कटिङ गर्ने गरेका छौं ।’ ठूला चिया बगानमा पनि श्रमिक घटेका कारण काटछाँटमा मेसिनको प्रयोग हुने गरेको छ । तर, मेसिनको कटिङले उत्पादनमा असर भएको भन्दै अधिकांश कृषकले भने प्रयोग घटाएका छन् ।


‘आफैं काटदा पनि सजिलो छैन,’ सन्दकपुर ५ जमुनाका गीता नेपालले भने, ‘गहक हतियारले बल लगाएर काट्नुपर्दा हात दुख्ने समस्या पनि आउँछ ।’ चियाको कटिङलगायत क्षेत्रमा काम गर्ने दक्ष प्राविधिक नहुँदा कृषकले अर्को समस्या खेप्नुपरेको छ । नियमित र विभिन्न प्रकारले कटिङ मिलाउनलाई प्राविधिक ज्ञान आवश्यक छ । तर, अधिकांश कृषकले अरूले गरेको हेरेर नै काम चलाउने गरेका छन् ।


जिल्लाभर विस्तार भएको चिया क्षेत्रमा यस्तै दैनिकी हरेक कृषकको छ । फैलिँदो चिया खेती र घट्दो कामदारका कारण खेतीवालाले नै सबै काम गर्नुपर्ने भएकाले कृषकको व्यस्तता १२ महिना नै उस्तै छ । कटिङसँगै चियालाई मल्चिङ गर्न पनि उत्तिकै भ्याईनभ्याई छ ।


चियापत्ती आउन छाडेपछि कारखानाले पनि मेसिनको मर्मत सम्भारसँगै आउँदो सिजनको तयारीका लागि समय छर्चने गरेका छन् । चैतदेखि निरन्तर सञ्चालनमा रहेका चिया कारखानाहरूले सबै मेसिनरी सामानको चाँत गर्ने, अत्यावश्यक सामग्री थपघट गर्ने र दाउराको जोहो गर्ने गर्छन् । यहाँका दुई दर्जनभन्दा ठूला र ६० को हाराहारीमा रहेका साना कारखानाको हिउँदयामको व्यस्तता यस्तै हुने गरेको छ ।

प्रकाशित : माघ २९, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?