काभ्रेमा पशु भ्याक्सिन कारखाना

कान्तिपुर संवाददाता

काभ्रे — गोल्छा समूह र हेस्टर बायोसाइन्सेज इन्डियाको संयुक्त लगानीमा काभ्रेमा पशुपन्छीका लागि ४७ थरी भ्याक्सिन उत्पादन गर्ने कारखाना खुलेको छ ।

काभ्रेमा पशु भ्याक्सिन कारखाना

६५ करोड रुपैयाँमा स्थापना गरिएको कारखानाको कुल उत्पादन क्षमता १ अर्ब २० करोड डोज भएको र २० वटा भ्याक्सिनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । थप २७ भ्याक्सिन लाइसेन्सको प्रक्रियामा कम्पनीका अधिकारीले जानकारी दिएका छन् । कम्पनीले हालसम्म २ करोड डोज भ्याक्सिन निर्यात गरिसकेको छ ।


कारखानाको औपचारिक उद्घाटनमा नेपाल अब हलो कोदालो गर्ने देश मात्रै नभएर विज्ञान र प्रविधिमा समेत अगाडि बढ्दै गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । अहिलेको सरकार कुरा बुझ्ने खालको भएकाले उच्च प्रविधिमा आधारित उद्योगलाई सहयोग गर्ने उनको भनाइ थियो ।


बुधबार बनेपा नगरपालिकाको नाला, उग्रचण्डीमा ‘हेस्टर बायोसाइन्सेस नेपाल’ को उद्घाटनका क्रममा ओलीले निर्यातमुखी उद्योगसँग सरकार मिल्न चाहेको बताएका थिए । ‘सार्वजनिक, निजी र सरकारी क्षेत्र पारस्परिक ढंगले अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘निजीलाई प्रोत्साहित गर्ने काम सरकारले गर्छ ।’ कार्यक्रममा उपस्थित अर्थमन्त्री युवराज खतिवडाले पनि निजी क्षेत्रलाई नजरअन्दाज गर्न नमिल्ने अभिव्यक्ति दिएका थिए ।


लगानीका लागि अहिले उत्तम अवस्था रहेको भन्दै खतिवडाले तरलता अभाव, बैंकको उच्च ब्याजदर, विनिमय जोखिमजस्ता चुनौती पार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । ‘उद्योगी र लगानीकर्तालाई एकद्वार नीतिबाट सुविधा दिन खोज्दै छौं,’ उनले भने, ‘अन्य कानुन, नीति नियम पनि सरलीकरण गर्दै छौं ।’


हेस्टर बोयोसाइन्सेसका प्रमुख कार्यकारी अधिकृत राजीध गान्धीले नेपालमा कारखाना खोल्नुअघि यहाँ दक्ष कामदार नपाइएला कि भन्ने आफ्नो चिन्ता फेल खाएको बताए । ‘यहाँको प्राविधिक कौशल देखेर म प्रभावित भएको छु,’ उनले भने, ‘अन्य उद्योग सञ्चालनका लागि नेपाल सरकारसँग समन्वय चाहन्छु ।’ गान्धीको भनाइ सुनेपछि प्रधानमन्त्री ओलीले भारतका अन्य उद्योगी समूहलाई समेत नेपालमा लगानी गर्न सुझाव दिनू भनी गान्धीलाई आग्रह गरे ।


कुखुरा र अन्य चौपायालाई आवश्यक पर्ने भ्याक्सिन उत्पादन गर्ने हेस्टरको कारखाना अवलोकनपछि प्रधानमन्त्री ओलीले भने, ‘हावाबाट बिजुली निकाल्ने कुरा गर्दा कतिपयले पत्याएनन् । यहाँ त भाइरस बनाएर, त्यसलाई नै टयाबलेट र भ्याक्सिनका रूपमा निर्यात गरेर डलर आम्दानी गरिने रहेछ । यसबारे बोल्दा केहीकेहीले राम्रो जोक बनाउन सक्छन् ।’


कम्पनीले उत्पादनको ९० प्रतिशत निर्यात गर्ने गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले बताए । उनले आफू कृषकहरूको समृद्धिको पक्षमा रहेको भन्दै बर्डफ्लु, पीपीआर जस्ता रोग निर्मूल गर्न यी भ्याक्सिन उपयुक्त हुने दाबी गरे । ‘अहिले कृषकले अवैधानिक तरिकाले बर्डफ्लुका भ्याक्सिन ल्याउने गरेका छन्,’ उनले भने, ‘उनीहरू बर्डफ्लुबारे जानकारी दिनसमेत डराउँछन् । हाम्रा भ्याक्सिन यहाँका पशुपन्छीका लागि बढी प्रभावकारी हुनेछन् ।’

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?