कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सुपरजम्बो ए ३८० उत्पादन बन्द हुँदै

एजेन्सी

टुलुज — युरोपको विमान निर्माता एयरबसले सुपरजम्बो ए ३८० विमान उत्पादन बन्द गर्ने घोषणा गरेको छ । यो विमान पछिल्ला १२ वर्षदेखि आकाशमा उडिरहेको थियो । 

सुपरजम्बो ए ३८० उत्पादन बन्द हुँदै

एयरबसले बिहीबार विज्ञप्तिमार्फत यो संस्करणको विमान उत्पादन बन्द गर्ने घोषणा गरेको हो । एयरबसले विज्ञप्तिमार्फत एयरलायन्सबाट अर्डर कम आएकाले २०२१ मा ए ३८० वितरण बन्द हुने जनाएको छ । २०२१ यघि एयरबसले १७ वटा मात्रै यो संस्करणका विमान उत्पादन गर्नेछ । यसमा १४ वटा एमिरेट्स एयरलाइन र ३ वटा जापानको एएनए एयरलाइन्सलले अर्डर गरेका विमान हुन् ।

एयरबसको यो सुपरजम्बो विमानको सबैभन्दा धेरै अर्डर एमिरेट्सले गरेको थियो । यस कम्पनीले एयरबसका नयाँ उत्पादन र वाइडबडी विमानहरू ए ३३० निओ र ए ३५० लिने निर्णय गर्दै ए ३८० को ठूलो संख्यामा गरिएको अर्डर बदल्ने निर्णय गरेको छ । एमिरेट्स यसको सबैभन्दा ठूलो ग्राहक थियो । एमिरेट्ससँग ११० वटा ए ३८० विमान छन् ।

यसले पछिल्लो पटक ५३ वटा अर्डर गरेको थियो । ए ३३० निओ र ए ३५० लिने निर्णय गरेपछि एयरबसले एमिरेट्सको निर्णयले आफूहरूलाई दु:खी तुल्याएको जनाएको छ । एमिरेट्सको घोषणासँगै संसारभरका अन्य एयरलायन्सहरूले पनि आफ्ना अर्डरहरू फिर्ता गरेको एजेन्सीहरूले उल्लेख गरेका छन् ।

एयरबसका सीईओ टम इन्डर्सले पछिल्ला वर्ष यो संस्करण बिक्री बढाउन प्रयास गरिए पनि अर्डरमा कमी आएकाले २०२१ पछि उत्पादन नहुने भनेका छन् । ‘ए ३८० इन्जिनियरिङमा उत्कृष्ट र औद्योगिक उपलब्धि मात्रै थिएन,’ सीईओ इन्डर्सले अगाडि भन्छन्, ‘संसारभरका यात्रुहरू यो महान् विमानमा उड्न धेरै रुचाउँथे । आजको घोषणा हामी र योसँग जोडिएका विश्वभरका ए ३८० समुदायका लागि पनि पीडादायी घोषणा बनेको छ । याद राख्नुहोस् हाल सञ्चालनमा रहेका ए ३८० विमान भने धेरै वर्षसम्म आकाशमा उडिरहने छन् र यसका अपरेटरहरूलाई एयरबसबाट पूर्ण सहायता रहिरहनेछ ।’

चारवटा इन्जिन भएको दुईतले विमान ए ३८० सन् २००७ देखि व्यावसायिक उडानमा ल्याइएको थियो । हालसम्म एयरबसले २ सय ३४ वटा ए ३८० उत्पादन गरीसकेको छ । प्रतिविमानको मूल्य ५० अर्ब रुपैयाँ हाराहारी पर्छ । यसमा ५ सय ४४ यात्रु क्षमता छ ।

इकोनमी क्लास मात्रै राखिने हो भने यो विमानमा ८ सय ५३ यात्रु अटाउन सक्छन् ।

प्रतिघण्टा नौ सय किलोमिटरको गतिमा उड्ने यो विमानको फस्ट क्लासका १४ यात्रुहरूका लागि एमिरेट्सले जहाजभित्रै नुहाउने ‘सावर–स्पा’ सुविधा पनि राखेको छ । एयरबसले यो संस्करणको विमान उत्पादन बन्द गर्ने निर्णयले युरोपको श्रम बजारमा ठूलो असर पर्ने विश्लेषण गरिएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?