कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

खाद्य वस्तु महँगियो

राजु चौधरी

काठमाडौँ — बजारमा खाद्य वस्तुको मूल्य महँगिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनायता अधिकांश खाद्य वस्तुको मूल्य बढेको छ । 

खाद्य वस्तु महँगियो

चिउरा, दाल, तोरीको तेल, मासुलगायतको मूल्य प्रतिकिलो २० रुपैयाँभन्दा बढीले बढेको छ । विभागको तथ्यांकअनुसार साउनमा प्रतिकिलो ७० रुपैयाँ पर्ने पातलो चिउरा माघमा बढेर १ सय रुपैयाँ पुगेको छ । रहरको दाल २० रुपैयाँ बढेर प्रतिकिलो १ सय १५ रुपैयाँ पुगेको छ । तोरीको तेल प्रतिलिटर २० रुपैयाँ बढेर १ सय ६० रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ ।


मूल्य वृद्धि हुनुको कारण यकिन नभए पनि नियमनकारी निकायको उपस्थिति बजारमा नहुँदा अधिकांश खाद्य वस्तुको भाउ बढेको हो । पछिल्लो समय मैदा, आटालगायतको मूल्य पनि अस्वाभाविक रूपमा बढेको खुद्रा व्यापार संघले जनाएको छ । व्यवसायीका अनुसार स्वदेशमा गहुँ अपुग भएपछि भारतलगायत मुलुकबाट आयात गर्नुपर्छ ।


आयातित गहुँ महँगो भएपछि ती वस्तुको मूल्य बढेको हुन सक्ने संघका अधिकारीहरू बताउँछन् । ‘विभिन्न ब्रान्डका सामान बजारमा हुँदा मूल्यमा तलमाथि हुन सक्छ । पछिल्लो समय चिनी, मैदा, आटालगायतमा देखिने गरी बढेको छ,’ संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले भने, ‘मैदा आटाको भाउ बढदा अन्य वस्तुको मूल्य पनि तत्काल असर पर्छ ।’ विभागका अनुसार सात महिनाको अवधिमा आटा, मैदा र सुजीको मूल्य प्रतिकिलो १५ रुपैयाँले बढेको छ ।


प्रतिकिलो ४० रुपैयाँ पर्ने आटा बढेर ५५ रुपैयाँ, ४५ रुपैयाँ पर्ने मैदा ६० रुपैयाँ, ६० रुपैयाँ पर्ने सुजी बढेर ७५ रुपैयाँ पुगेको विभागको तथ्यांकमा छ ।


यीबाहेक गेडागुडीको मूल्य पनि अस्वाभाविक रूपमा बढेको छ । तथ्यांकअनुसार मासको दाल १५ रुपैयाँ बढेर १ सय ५ रुपैयाँ, मुगी १० रुपैयाँ बढेर १ सय ३५ रुपैयाँ, ५५ रुपैयाँ पर्ने सेतो केराउ बढेर ७० रुपैयाँ पुगेको छ । प्रतिकिलो १० रुपैयाँ बढेर राज्माको भाउ १ सय ५० रुपैयाँ, ९० रुपैयाँ पर्ने सानो केराउ बढेर १ सय रुपैयाँ, ७० रुपैयाँ पर्ने हरियो केराउ बढेर ८० रुपैयाँ पुगेको उल्लेख छ ।


बजारभाउ अस्वाभाविक रूपमा बढदा पनि अनुगमनकारी निकाय भने मौन छन् । खाद्यसम्बन्धी अनुगमनको अधिकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषिसम्बन्धी कृषि विभागले पनि गर्न सक्छ । वस्तुको गुणस्तरसम्बन्धी गुणस्तर तथा नापतौल विभागले गर्न सक्छ ।


यी निकायबाहेक आपूर्ति विभागलाई पनि सबै क्षेत्रको अनुगमन गर्ने जिम्मेवारी छ । विभिन्न विभागको सहकार्यमा आपूर्तिले सबै क्षेत्रमा अनुगमन गर्न सक्छ ।


पछिल्लो समय यी विभागहरूबाट अनुगमन हुन सकेको छैन । मुुलुकको पुन:संरचनासँगै बजार अनुगमन पनि स्थानीय निकायले नै गर्ने अधिकार दिएको छ ।


गाउँ तहसम्मै सरकारको उपस्थिति देखाउन अनुगमनको जिम्मा स्थानीय तहलाई दिए पनि अनुगमन हुन सकेको छैन । अनुगमन कार्यलाई सहज तुल्याउन सरकारले मंसिरमा ‘गाउँपालिका/नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका’ समेत तयार पारेको थियो । उक्त निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । उक्त निर्देशिका गाउँपालिका/ नगरपालिकालाई पठाइए पनि स्थानीय निकायबाट अनुगमन हुन सकेको छैन । ‘विभाग र प्रदेश तहसँगको समन्वय नहुँदा बजार अराजकतातर्फ धकेलिएको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘केन्द्रले स्थानीय सरकार, स्थानीयले केन्द्रलाई देखाएर पन्छिँदा बजारमा राज्यविहीनता महसुस भएको छ ।’


विभागको तथ्यांकअनुसार ताइचिन चिउराको मूल्य ५ रुपैयाँ बढेर १ सय २० रुपैयाँ, चिनीको मूल्य बढेर ७५ रुपैयाँ पुगेको छ । विभागले चिनीको मूल्य ७० बाट ७५ रुपैयाँ पुगेको दाबी गरे पनि खुद्रा पसलमा भने ८० रुपैयाँसम्ममा बिक्री हुन्छ । होलसेल नै ७२/७३ मा खरिद गर्दा बजार भाउ ८० रुपैयाँसम्म पुगेको नाम उल्लेख गर्न नचाहने एक व्यवसायीले बताए । भटमास र सनफ्लावर तेलको मूल्य पनि बढेको छ । भटमास तेलको मूल्य ५ रुपैयाँ बढेर १ सय ४० र सनफारमा १० रुपैयाँ बढेर १ सय ४५ रुपैयाँ पुगेको उल्लेख छ ।


खसीको मासु ५० रुपैयाँ बढेर प्रतिकिलो एक हजार र बोइलर कुखुरा १० रुपैयाँ बढेर ३ सय ३० रुपैयाँ पुगेको विभागले जनाएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले गहुँको कारण मैदाको मूल्य बढेको बताए । कुनै वस्तुमा मूल्य वृद्धि भए विभागले अनुगमन गर्ने बताए । ‘कार्यालयकै कामले व्यस्त हुँदा बजारको अवस्था बुझ्न पाएको छैन,’ उनले भने, ‘मूल्य बढेको भए खुद्रा/होलसेल व्यापारीसँग छलफल गर्छौं ।’


विभागका अनुगमन शाखा निर्देशक रघुनाथ महतले पनि नियमावली, मापदण्डलगायतमा केन्द्रित हुँदा अनुगमनमा ध्यान दिन नसकेको स्विकारे । ‘अनुगमनका लागि सामान्य प्रशासनबाट कर्मचारी मगाएका थियौं । अहिले विभागकै टोलीबाट मात्रै अनुगमन भएको छ,’ उनले भने, ‘सामान्य बढेको हुन सक्छ ।’

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?