कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

काठमाडौंमा कर्णाली मेला

‘कर्णाली भन्ने बित्तिकै गरिबी र भोकमरी भनेर प्रचार भइरहेको छ यो भम्र चिर्न मेला आयोजना गरेका हौं’
कान्तिपुर संवाददाता

काठमाडौँ — कर्णालीको कृषि, पर्यटन र इतिहाससहित विविध पक्ष जानकारी गराउन शुक्रबारदेखि राजधानीमा बृहत् कर्णाली प्रदर्शनी र मेला सुरु भएको छ । स्थानीय कलाकारहरूका झाँकीसहितको मेला उद्घाटन उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए । 

काठमाडौंमा कर्णाली मेला

राजधानीमा रहेका कर्णालीका विद्यार्थी तथा स्थानीयहरूले आफ्नो क्षेत्र चिन्ने र चिनाउने अभियान स्वरूप आयोजना गरेको मेला तीन दिन भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

मेला उपसंयोजक जीवन शाहीका अनुसार कर्णाली प्रदेशअन्तर्गतका १० वटै जिल्लाका कृषि, उत्पादन, कला संस्कृति आदि प्रदर्शनीस्थलमा राखिएका छन् । ‘कुनै बेला कर्णाली क्षेत्रले तिब्बतसम्म खाद्यान्न निर्यात गथ्र्यो,’ उनले भने, ‘आजको दिनमा कर्णाली भनिने बित्तिकै गरिबी र भोकमरी भनेर प्रचार भइरहेको छ । यो भ्रम चिर्न मेला आयोजना गरेका हौं ।’ कर्णालीमा मात्रै उत्पादन हुने पोषिला खानेकुराका स्टल राखिएका छन् । कर्णालीमा उत्पादन हुने मार्सी चामल, यार्चागुम्बुको जुस, कोदोका परिकार, भेंडाच्यांग्राका परिकार पनि राखिएका छन् ।

शाहीका अनुसार मेलामा आइतबारसम्म प्रदर्शनी र छलफल सत्रहरू पनि राखिएका छन् । शनिबार खस भाषाबारे छलफल राखिएको छ । यसमा शोधकर्ता तथा विश्वविद्यालयका प्राध्यापकले नेपाली भाषाको जननी भनिने खस भाषाबारे बोल्नेछन् । पर्यटन बोर्डमा हुने छलफलमा दुई सय वर्षअघिको कर्णालीबारे आइतबारसम्म बहस हुनेछन् ।

कर्णालीको पर्यटकीयलगायतका सम्भावनाबारे बहस गर्न प्रदेशमन्त्रीलगायत सरोकारवाला पनि मेलामा छन् । कर्णालीका प्रमुख पर्यटकीय स्थल रारा, डोल्पालगायतका क्षेत्रमा कहिले र कसरी भ्रमण गर्ने लगायतका विषयबारे पनि आयोजकले मेलामा जानकारी दिइरहेका छन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?