२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

रणनीतिक सडक निर्माण सुस्त, वर्षेनि करोडौं खर्च

भीमबहादुर सिंह

(जाजरकोट) — अस्सी किलोमिटर लामो जाजरकोट–ब्युलीढंगा–जुम्ला सडक निर्माण थालेको १२ वर्ष बितेको छ । उक्त सडक निर्माणका लागि २५ करोड खर्च भइसकेको छ । जुम्ला जोड्ने यो सम्भावित रणनीतिक मार्गको ४० किलोमिटर पनि ट्रयाक खुल्न सकेको छैन । ९० किलोमिटर दूरीको जाजरकोट छेडा–चाँदे–जुम्ला सडकको ३५ किमि मात्र निर्माण भएको छ ।

रणनीतिक सडक निर्माण सुस्त, वर्षेनि करोडौं खर्च

१२ वर्षअघि निर्माण सुरु उक्त सडकमा ३० करोड खर्च भइसकेको छ । त्यस्तै १ सय ४० किलोमिटर लम्बाइको जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडकको निर्माण ३० किमिमा सीमित छ । २० करोड खर्च भइसकेको बारेकोट हुँदै जुम्ला जाने सडकको निर्माण ठप्प छ ।


जाजरकोट–जुम्ला जोड्ने यी तीन वटा रणनीतिक मार्गको निर्माण कार्य सुस्त देखिएको छ । बजेट अभाव, सम्बन्धित निकायको लापरबाहीलगायतका कारण रणनीतिक सडक निर्माण कार्य सुस्त भएको हो । जुम्ला जोड्ने रणनीति सडक मात्र हैन, जाजरकोट–डोल्पा अर्थात् भेरी करिडोर र मध्यपहाडी लोकमार्गको निर्माण पनि सुस्त नै छ । बजेट अभावमा जाजरकोट–जुम्ला जोड्ने तीन वटा रणनीतिक मार्गको निर्माण अलपत्र परेको छ । उक्त मार्गको ट्रयाक ओपन कार्य पूरा गर्नेतर्फ सम्बिन्धत निकायले बेवास्ता गरी ढिलासुस्ती गरिरहेका छन् ।


जुम्ला जोड्ने रणनीतिक मार्गहरू प्रदेश सरकार मातहत हस्तान्तरण हुने भएकाले निर्माणमा अन्योलता छाएको सडक डिभिजन चौरजहारीका इन्जिनियर कुशल भुसालले बताए । यी सडकको अघिल्ला वर्षहरूमा जेजति निर्माण भए पनि अब बाँकी कार्य प्रदेश सरकार मातहतका कार्यालयले हेर्ने निर्णय भएको उनको भनाइ छ । ‘रणनीतिक सडकमा के कति बजेट छ’ भन्ने जानकारी नभएको र कार्यालयमा उक्त सडक निर्माणका लागि बजेट नआएको इन्जिनियर भुसालले जनाए । चौरजहारी सडक डिभिजन कार्यालयमा भेरी करिडोर, लुम्बिनी–रारा सडक र अन्य केही साना सडकका लागि बजेट आएको उनले बताए ।


भेरी करीडोरको स्तरोन्नतिको २२ करोड र लुम्बिनी–रारा जोड्ने दुई सडकको सर्भे डिजाइन लागि एक/एक करोड बजेट आएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भेरी करिडोर सडकको बहुवर्षीय ठेक्काका लागि सम्बन्धित निकायसँग सहमति लिने कार्य भइरहेको छ । सडक डिभिजन कार्यालय चौरजहारीअन्तर्गत जुम्ला जोड्ने ३ सम्भावित रणनीतिक मार्ग र २८ क्षेत्रीय तथा सहरी सडक निर्माणको जिम्मा थियो । संघीय संरचनासँगै केही सडक प्रदेश र केही सडक स्थानीय तहअन्तर्गत सारिएको छ । जसका कारण सडक लथालिंग भई निर्माण सुस्त बन्न पुगेका हुन् । कुनै सडकमा मनोमानी सर्भे तथा रेखांकन, कुनै सडकमा कडा चट्टान कटिङ नगर्दा र कुनै सडकमा नाली, तारजाली, वाल, ढल निकास, ग्राभेललगायत स्तरोन्नतिको कार्य नहुँदा अलपत्र परेका हुन् । कर्णाली प्रदेश सरकारले पनि उक्त सडक निर्माणका लागि हालसम्म कुनै पनि पहल चालेको पाइएको छैन ।


जुम्ला जोड्ने रणनीतिक मार्गको चौडा बनाउने, नाली, तारजाली, वाल, ढल निकास, ग्राभेललगायत स्तरोन्नतिको कार्य त कता कता ट्रयाक ओपन नै अलपत्र परेको अवस्था छ । त्यस्तै तीन वटै रणनीतिक राजमार्गको ग्रेडिङ तथा घुम्तीको स्पेस नमिल्दा र विभिन्न खोलामा पुल नहुँदा थप अलपत्र परेको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए । ट्रयाक ओपनमै करोडौं खर्चेका यी सडकमा यातायातका साधन नगुड्दा लगानी खेर गएको प्रमुख रावलको भनाइ छ । ‘सडकमा बस गुड्ने त परैको कुरा, ट्याक्टर र जिपसमेत गुड्न सक्दैनन्,’ उनले भने, ‘गाडी गुड्ने खालको सडकमा निर्माण हुन नसक्दा समस्या भएको छ ।’


पाँचकाटिया–जुम्ला सडकको कम चौडाइ, नाली तथा ग्याबिङ नहुनु, अप्ठयारो रेखांकन, छोटा घुम्तीलगायतका कारण यातायात सञ्चालन हुन सकेको छैन । सडक खण्डको गारराङ्सीदेखि नाउलीसम्मको रेखांकन गाडी चढ्नै नसक्ने गरी निर्माण भएको रावलको भनाइ छ । तीन किमि उक्त खण्डमा १३ घुम्ती भएको रावल बताउँछन् । ‘ती घुम्तीमा मोटरसाइकलकै मोड पुग्दैन,’ उनले भने, ‘खलंगा–पाँचकाटिया सडकको राङ्सी खण्डमा रेखांकन परिवर्तन गर्ने भनेको ९ वर्ष बितेछ । तर सम्बन्धित निकाय टेरपुच्छर नलगाएको पाइयो ।’ उनका अनुसार करोडौं लगानी गरेको सडकको उक्त खण्डमा रेखांकन परिवर्तन नगरे बस यातायात सञ्चालनको सम्भावना छैन । उचित रेखांकनबिनै करोडौं बजेट खन्याएर सडक निर्माण अलपत्र पार्ने प्रवृत्ति देखिएको प्रमुख रावल बताउँछन् । जाजरकोटमा मात्र करोडौं बजेट खर्चेर निर्माण थालिएका ठूला पाँचसहित करिब पाँच दर्जन सडक अलपत्र छन् । जिल्लाभरको सडक सञ्जाल र छिमेकी जिल्ला जोड्ने उद्देश्यले ती सडक निर्माणको योजना बुनिएको हो ।


यसैगरी मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डको ट्रयाक खोल्ने कार्य सम्पन्न हुन सकेको छैन । निर्माण सुरु भएको १० वर्ष बित्दा पनि सम्बन्धित पक्षको लापरबाहीले उक्त खण्डको ट्रयाक खोल्ने कार्य पूरा हुन नसकेको हो । एकैसाथ निर्माण सुरु भएका लोकमार्गको रुकुम र दैलेख खण्डमा भने ३ वर्षअघिदेखि यातायात सेवा सञ्चालनमा आएको छ । तर, लोकमार्गको जाजरकोट खण्ड सडक आयोजना र निर्माण कम्पनीको लापरबाहीले निर्माण सम्पन्न नभई यातायात सञ्चालन हुन सकेका छैनन् । कुदुदेखि दैलेखको सुयाँडासम्मको ८२ किलोमिटर जाजरकोट खण्डअन्तर्गत कार्कीगाउँ र झाप्राको सिमानामा रहेको मन्ताभीर, कालढुंगा थलहबजार, दसेराको चुवादेउली भीर, दसेराको फाल्मा र साल्माबीचको भुसखोलालगायत स्थानमा निर्माण कार्य अलपत्र परेको छ । तर पछिल्लो समय लोकमार्ग स्तरोन्नतिको काम अगाडि बढेको पाइएको छ । आयोजना ट्रयाक खोलिएको ८ वर्षपछि स्तरोन्नति थालिएको हो । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना (पश्चिम खण्ड) दैलेखले जाजरकोट खण्डको कुदुदेखि कार्कीगाउँसम्मको ३५ किलोमिटर सडक पहिलो चरणमा पिचको काम सुरु गरेको जनाएको छ । एक अर्बको लागतमा शर्मा सिंह एन्ड ब्रदर्स जेवी काठमाडौंले पिच गर्न लागेको व्यवसायी विश्वास उप्रेतीले बताए ।


त्यस्तै जाजरकोट–डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडकको जिरो प्वाइट पासागाडदेखि नै स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । एक सय १८ किलोमिटर जाजरकोट–डोल्पाको पहिलो चरणको सडकको ट्रयाक खोल्ने कार्य मात्र सम्पन्न भएको छ । यस सडक खण्डको ट्रयाक खोल्ने निर्माण कार्य पूरा भए पनि दर्जन बढी खोलामा पुलको निर्माण तथा स्तरोन्नति नहुँदा समस्या भएको स्थानीय नेत्रबहादुर सिंहले बताए ।


प्रकाशित : फाल्गुन ४, २०७५ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?