२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘शुक्लाफाँटा प्रवेश शुल्क घटाऊ’

भवानी भट्ट

कञ्चनपुर — ५४ वर्ग किलोमिटर क्षेत्रमा रहेको विशाल घांँसे मैदान । त्यसमा सहजै देखिने बाह्रसिंगाको ठूलो बथान । कम क्षेत्रफलमा बढी बाघको बासस्थान । शुक्लाफांँटा राष्ट्रिय निकुञ्जका प्रमुख विशेषता हुन् ।

पर्यटकलाई आकर्षण गर्न सक्ने पर्याप्त स्रोत भएर पनि निकुञ्ज घुम्न आउने पर्यटकको संख्या न्यून छ । प्रचारप्रसारको अभावसंँगै, महँगो प्रवेश शुल्क र अन्य प्राविधिक समस्याका कारण निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्न नसकेको व्यवसायीहरू बताउँछन् ।


शुक्लाफांँटामा विदेशीभन्दा पनि आन्तरिक पर्यटकलाई भित्र्याउन हालसम्म खासै पहल भएको छैन । अझ प्रवेश शुल्क महँगो छ । निकुञ्ज प्रवेशमा व्यक्तिगतभन्दा पनि सवारी साधनको शुल्क चर्काे भएको व्यवसायीहरू बताउँछन् । ‘हालै निकुञ्ज भएकाले यसका प्रचारप्रसारका लागि पनि प्रवेश शुल्कमा छुट दिनुपर्ने देखिन्छ,’ पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने, ‘विदेशीभन्दा पनि आन्तरिक पर्यटकलाई भित्र्याउन पनि प्रवेश शुल्क महँगो छ ।’ शुक्लाफाँटा दुई वर्षअघि आरक्षबाट निकुञ्जमा स्तरोन्नति गरिएको हो ।


निकुञ्जभित्र प्रवेशका लागि नेपालीलाई एक सय, सार्क मुलुकका नागरिकलाई ७ सय ५० र त्यस बाहेककालाई १ हजार ५ सय प्रतिव्यक्ति शुल्क तोकिएको छ । सवारी साधनसहित प्रवेश गर्न कार १ हजार ५ सय र जिपका लागि २ हजार ५ सय शुल्क तोकिएको छ । निकुञ्जभित्र कार लैजान सकिँदैन ।


व्यक्तिगतभन्दा पनि सवारी साधनको प्रवेश शुल्क महँगो भएको व्यवसायीहरू बताउँछन् । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न शुल्क घटाउनुपर्ने उनीहरू बताउँछन् । जिपको प्रयोग गर्नेले भाडासहित प्रवेश शुल्कका लागि मात्रै ८/१० हजार खर्च गर्नुपर्छ । आन्तरिक पर्यटकहरू योभन्दा कम खर्चमै घुमफिर गर्न सकिने ठाउँ रोज्ने गरेकाले निकुञ्ज प्रवेश गर्न रुचाउँदैनन् ।


शुक्लाफांँटामा आन्तरिक पर्यटक मात्रै भित्र्याउन सके पनि यहांँ पर्यटन गतिविधि बढ्दै जाने व्यवसायीहरू बताउँछन् । भरखरै निकुञ्ज घोषणा भएकाले अन्य निकुञ्जको तुलनामा यहांँको प्रचारप्रसार हुन नसकेकाले पनि केही छुट र प्याकेजहरू ल्याउनुपर्ने उनीहरू बताउँछन् ।


यहांँको भीमदत्त नगरपालिकाले पनि प्रवेश शुल्क घटाउने पहल गर्न लागि निकुञ्ज कार्यालयलाई पत्राचार गरेको छ । ‘शुल्क बढी लिने भन्दा पनि पर्यटक बढी भित्र्याउनेतर्फ पहल गरिनुपर्छ,’ भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले भने, ‘यहांँ विदेशीलाई भन्दा पनि आन्तरिक पर्यटकलाई केन्द्रित गरेर कार्यक्रमहरू गर्नुपर्ने देखिन्छ ।’ उनले पूर्वाधार निर्माणमा निकुञ्जसँग मिलेर सहकार्य र आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताए । भीमदत्त नगरपालिकाले सन् २०१९ लाई पर्यटन पूर्वाधार र प्रचारप्रसारको वर्षका रूपमा घोषणा गरेको छ ।


निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडयालले बढी शुल्कले मात्रै पर्यटन नभित्रिएको नभई अन्य प्राविधिक कारणहरू पनि रहेको बताए । पर्यटक सूचना स्थल, विश्राम स्थल आदिको अभावका कारण पनि पर्यटक तान्न नसकिएको बताए ।


‘पर्यटक सूचना स्थल निर्माणका लागि प्रयास भइरहेको छ, भित्र भएको आकर्षण बाहिर जानकारी दिन सके लोभ्याउँछ,’ उनले भने, ‘प्रवेश शुल्क त राजपत्रमै प्रकाशित भएकाले निकुञ्जले मात्रै घटाउन सक्दैन ।’ विस्तारित क्षेत्रसमेत ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको निकञ्जमा १७ बढी वयष्क बाघ रहेको गत वर्षको गणनाले देखाएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?