कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

युवाको रोजाइ तरकारी खेती

माधव अर्याल

पाल्पा — रैनादेवी छहरा १ सिद्धेश्वरका सुदर्शन पन्त दुई वर्षदेखि व्यावसायिक तरकारी खेती गर्छन् । उनले गोलभेंडा, भेंडे खुर्सानी (क्याप्सिकम) को व्यावसायिक बेमौसमी खेती गर्छन् ।

युवाको रोजाइ तरकारी खेती

सिद्धेश्वरस्थित देउले अर्चलेमा प्लास्टिक मल्चिङ र डिप इरिगेसन (थोपा सिँचाइ) प्रविधिमा आधारित रहेर खेती गरेको उनले बताए । कृषि विकास कार्यालयका अनुसार तराई, मधेसमा सफल भेंडे खुर्सानी पहाडमा उनले सफल बनाएका छन् ।


२८ वर्षीय पन्तको ५० रोपनी बारीमा तरकारी रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेयले बताए । उनले इजरायली प्रविधिमा गरिएको खेती सिक्न भारत र चितवन पुगेको बताए । यातायातको सुविधा भएकाले बजारलाई खासै दु:ख छैन ।


उनी सिजनमा १५ लाख रुपैयाँभन्दा बढीको भेंडे खुर्सानी र त्यत्तिकै रकमको गोलभेंडा बिक्री गर्छन् । तानसेन १४ अर्गलीका युवा निर्मल राना पनि अहिले व्यावसायिक कृषक बनेका छन् । उनले फोटो स्टुडियोको काम छाडेर तीन वर्षदेखि तरकारी खेती गर्छन् । उनी विदेश जानुभन्दा यहीँ तरकारी खेती गर्दा फाइदा हुन्छ भन्ने बुझेको बताए ।


बजारको समस्या नभएकाले पनि यसमा आकर्षण बढेको छ । ‘डेढ लाख लगानी गरेर विदेश जानुभन्दा यही सजिलो लागेको छ,’ उनले भने, ‘साथीभाइले धेरै कर गरेका थिए तर म विदेश गइनँ ।’ अहिले उनी व्यावसायिक कृषक बनेर युवामाझ उदाहरणीय बनेका छन् । उनले मल्चिङ प्रविधिबाट तरकारी खेती सुरु गरेका छन् । मौसमी र बेमौसमी तरकारी खेती गर्दा सबै खर्च कटाएर मासिक ६० हजार रुपैयाँ आम्दानी गर्छन् ।


नियमित चार जनालाई रोजगारीसमेत दिएका छन् । ‘मैले निर्देशन दिएर र काम अह्राएर पनि राम्रो आम्दानी गर्न सफल भएको छु,’ उनले भने, ‘विदेश जाने युवालाई यहीँ तरकारी खेती गरेमा राम्रो आम्दानी हुन्छ भन्ने पनि गरेको छु ।’


पूर्वखोला गाउँपालिका ६ हेक्लाङका युवा कृषक मनबहादुर सारू वडाअध्यक्ष हुन् । उनले व्यावसायिक तरकारी खेती गर्न छाडेका छैनन् । समूह बनाएर गाउँलेलाई समेत तरकारी खेतीमा अगाडि बढाएका छन् । ‘आत्मनिर्भर बन्नलाई मकै लगाएर हुँदैन भन्ने हामीले बुझेका छौं,’ उनले भने, ‘अहिले सबै गाउँले तरकारी खेतीमा लाग्दा मलाई पनि आत्मसन्तुष्टि मिलेको छ ।’


उनको बारीमा गोलभेंडा, बन्दागोभी, मूलालगायतका तरकारी फलाएका छन् । मुख्य कुरा बजारको समस्या नभएकाले पनि सबैलाई हौसला मिलेको छ ।


वर्षायाममा तरकारी बजार पुर्‍याउन केही सकस भए पनि अन्य समयमा घरमै व्यापारी लिन आउने उनले बताए । ‘प्राविधिक सहयोग राम्रो पाउने हो भने तरकारी बिक्री गर्ने समस्या छैन,’ उनले भने, ‘सामूहिक र व्यक्तिगत तरकारी खेती गरेर धेरैले फाइदा लिएका छन् ।’ उनको आफ्नै गाउँमा मात्र २७ घरले तरकारी खेती गर्छन् ।


तानसेन नगरपालिका १२ चिउँदीका देवीबहादुर राना, रुकवीर रेश्मीलगायतका युवा पनि व्यावसायिक तरकारी खेती गर्छन् । उनीहरूले वार्षिक ३० लाख बढीको तरकारी बिक्री गर्ने बताए । बगनासकाली गाउँपालिका ६ यम्घामा विगतमा तरकारी खेती कमै कृषकले गर्थे । तर यतिबेला भने व्यावसायिक कृषक बन्ने होडमा यही गाउँका युवा देखिएका छन् ।


सामूहिक र एकल मात्र होइन कृषक समूह बनाएर तरकारी खेती गर्न थालेको वडाअध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताए । विदेशबाट फर्किएका युवासमेत व्यावसायिक तरकारी खेतीमा लागेका छन् । गाउँपालिकाको साामान्य सहयोगमा पनि उनीहरू हौसिएर तरकारी खेतीमा आकर्षित भएका हुन् ।


कृषक ओमप्रकाश बस्यालले विदेशको कमाइ छाडेर नमुना काम गर्न सकियोस् भनेर तरकारी खेतीमा लागेको बताए । अर्का कृषक भीमप्रसाद बस्याल पनि विदेशको जागिर छाडेर तरकारी खेतीमा लागेका छन् । उनीहरूको बारीमा लटरम्म काउली, बन्दा, गोलभेंडा, सिमीलगायत तरकारी फलेका छन् ।


बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले युवालाई तरकारी खेतीमा आकर्षण गर्न प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु गरेको बताए । ‘अघिल्लो आर्थिक वर्षमा केही युवालाई नमुनाका रूपमा ऋण लगानी गरेछौं,’ उनले भने, ‘राम्रो नतिजा आयो भने अझ बढाउने योजना छ ।’ अघिल्लो वर्ष ७ लाख रुपैयाँ बिनाधितो र स्नातक तह उत्तीर्ण भएको प्रमाणपत्र राखेर ऋण दिएको उनले बताए । चिर्तुङधारा, पोखराथोक, नायरनमतलेसमा व्यावसायिक युवा कृषक रहेका छन् ।

तानसेन नगरपालिका क्षेत्रभित्र तरकारी खेतीका लागि काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनका प्रमुख रामप्रसाद पाण्डेका अनुसार पछिल्लो समयमा युवाले तरकारी खेती रोज्ने गरेका छन् । धेरै युवाले अहिले समूह बनाउने र एकल पनि खेती गर्ने गरेका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?