कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

झरीले इँटा नोक्सान

कान्तिपुर संवाददाता

धादिङ — माघ महिनामा पटकपटकको हिउँदे झरीले पृथ्वी राजमार्ग वरपर सञ्चालित ४१ इँटा भट्टामा २० करोड २५ लाख मूल्य बराबरको इँटा क्षति भएको छ । एउटा इँटा भट्टामा करिब १५ लाख बराबरको इँटा पानीले बिग्रेको छ भने जिल्लाका सबैजसो भट्टामा वर्षात्ले पकाउन राखेका सबै काचो इँटा नोक्सान गरेको छ । 

झरीले इँटा नोक्सान

धादिङ जिल्लामा पछिल्लो समय औद्योगीककरणसँगै इँटा उद्योग पनि प्रसस्तै सञ्चालनमा छन् । धादिङमा उत्पादित इँटा काठमाडौंलगायत विभिन्न ठाउँमा जाने गरेको छ । यसपालिको वर्षात्का कारण इँटा बिग्रेपछि व्यवसाय नै धरापमा पर्नुको साथै कतिपय व्यापारी पलायन हुने अवस्थामा पुगेको धादिङ इँटा व्यवसायी संघका अध्यक्ष कुवेर गजुरेलले बताए ।


राजधानीसँग जोडिएको धुनीबेंसी नगरपालिकमा मात्रै २९ वटा इँटा उद्योगहरू सञ्चालनमा छन् । तरकारी बाली हुने जग्गा मासेर सञ्चालन गरिएका इँटा उद्योगहरू सबैमा भारतीय कामदार छन् । वर्षात्कै कारण छ वटा भट्टामा आगो निभेको छ । एक पटक आगो निभेपछि पुन: आगो सल्काउन १ लाखभन्दा बढी खर्च लाग्ने व्यवसायी बताउँछन् ।


एउटा भट्टामा करिब ४ सयभन्दा बढी मजदुरलाई खानपिन, खच्चडलगायत विभिन्न खर्च करिब २ लाख दैनिक खर्च हुने गरेको छ ।


गत माघ महिनामा परेको वर्षात्का कारण भट्टामा काम गर्न नसकेको व्यवसायी बताउँछन् । काम नभए पनि मजदुरहरूलाई पाल्नका लागि समस्या छ भने अर्कोतिर स्थानीय वार्षिक करका कारण झनै समस्या भएको बताएका छन् ।

वर्षाले धादिङ जिल्लामा ४ करोड ८५ लाख ३० वटाभन्दा बढी काँचो इँटामा क्षति पुगेको छ । एक साताअघिदेखि परेको वर्षाले जिल्लाका विभिन्न ठाउँमा रहेका इँटामा क्षति पुगेको छ । इँटा उद्योगबाट करिब २३ करोडको नोक्सान भएको धादिङ इँटा व्यवसायी संघका अध्यक्ष गजुरेलले जानकारी दिए ।


लगातारको वर्षाले गर्दा इँटा बनाएर राखेका ठाउँहरूमा पानी जमेको छ । पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटाहरू काम नै नलाग्ने भएर बिग्रएपछि उद्योग सञ्चालकहरू चिन्तामा रहेको अध्यक्ष गजुरेलले जानकारी दिए ।


मंसिर महिनादेखि वैशाख महिनासम्म इँटा उत्पादनको समय हो । वर्षभरिको माग धान्नका लागि सोही समयमा करोडौं इँटाहरू तयार पारेर राखिन्छ । सिजनकै मध्यभाग माघको अन्तिमतिर परेको वर्षाका कारण करोडौं इँटा गलेर नष्ट भएको गजुरेलले बताए ।


महँगो ब्याजमा बैंकसँग ऋण लिएर उद्योग खोलेको र सामान जति सबै वर्षाका कारण बिग्रिएपछि अब बैंकको ऋणसमेत कसरी तिर्ने भन्ने समस्यामा परेको उद्योगीहरूको भनाइ छ । हिउँदे वर्षाले खुला आकाशमुनि राखिएका काँचा इँटामा क्षति पुर्‍याएको धादिङको थाक्रे ८ मा रहेका टायल एन्ड ब्रिक इन्डस्ट्रिज प्रालिका सञ्चालक माधव गजुरेलले बताए । ‘पोल्नका लागि सुकाएर तयार पारिएको १५ लाख इँटामा क्षति पुगेको छ,’ सञ्चालक गजुरेलले भने, ‘इँटाहरू जति सबै माटो जस्तै बनेको छ, यसबाट ६० लाखभन्दा बढी क्षति भएको छ ।’


प्रकाशित : फाल्गुन ६, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?