कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तयारी पोसाक निर्यात बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्ला केही वर्ष स्थिर रहेको तयारी पोसाकको निर्यात चालु आर्थिक वर्षको सुरुमा भने बढेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तयारी पोसाकको निर्यात ८ दशमलव २ प्रतिशतले बढेको नेपाल तयारी पोसाक उद्योग संघले जनाएको छ । विगतका चार आर्थिक वर्ष तयारी पोसाक निर्यात ५ अर्बकै हाराहारीमा स्थिर थियो ।

संघका अध्यक्ष चण्डिप्रसाद अर्यालले भने, ‘यो वर्षको सुरुका महिनामा निर्यात बढेको देखियो, यसैलाई हेरेर ढुक्क हुने अवस्था भने छैन । आशावादीचाहिँ बन्न सकिन्छ, सरकारले ध्यान दिन सके निर्यात बढाउने प्रसस्त आधार छन् ।’

आर्थिक वर्ष ०७४/७५ को प्रथम चौमासिकको तुलनामा आव ०७५/७६ को सोही अवधिमा निर्यात ८ दशमलव २ प्रतिशतले वृद्धि भई २ अर्ब २१ करोड रुपैयाँ पुगेकाले केही आशा पलाएको उनले बताए ।


सन् २००२ अघि नेपालमा तयारी पोसाकको बजार र निर्यात राम्रो भए पनि विभिन्न कारणले उद्योग बन्द भएर समस्या आएको हो । हाल दुई हजारभन्दा बढी सिलाइका उपकरण त्यसै थन्किएका छन् । ती उपकरणलाई सञ्चालनमा ल्याउन सरकारको सहयोगको खाँचो रहेको उनले बताए ।


नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको पोसाक स्वदेशभित्रै उत्पादन गरिए ती उपकरण पुन: सञ्चालनमा आउन सक्ने व्यवसायीहरू बताउँछन् । योसँगै आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्नेतर्फ पनि व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सन् १९८० को दशकमा नेपालमा तयारी पोसाक उद्योग सञ्चालनमा आएको हो । सन् १९९० को दशकमा पुग्दा एक हजार बढी उद्योग सञ्चालनमा आएको तथ्यांकमा उल्लेख छ । त्यो बेला निर्यात ३ सय ८९ लाख डलरसम्म पुगेकामा सन् २००३ पछि भने बिस्तारै उद्योग खस्कन गई हाल ५ हजार ५५ को हाराहारी उद्योगमा सीमित छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?