कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर कन्क्लेभमा युवाहरुले भने, ‘अवसर कुर्ने होइन, सिर्जना गरौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार उद्घाटन भएको कान्तिपुर कन्क्लेभको पहिलो सत्रमा ‘युथ फर नेपाल’ शीर्षकमा आफ्नो क्षेत्रमा उपलब्धि हासिल गरेका नेपाली युवाहरूले आफ्नो सफलताबारे छलफल गरेका थिए ।

कान्तिपुर कन्क्लेभमा युवाहरुले भने, ‘अवसर कुर्ने होइन, सिर्जना गरौं’

यो सत्रमा ट्रेसिङ नेपालका संस्थापक तथा ब्लगर लेक्स लिम्बू, मिस नेपाल शृंखला खतिवडा, टुटलका सहसंस्थापक शिक्षित भट्ट र पत्रकार तथा बौद्ध संग्रहालय तथा आध्यात्मिक क्षेत्रकी संस्थापक तथा निर्देशक सुम्निमा उदासले आफ्नो संघर्ष र सफलताबारे छलफल गरेका थिए । देश विकासमा युवाले आआफ्नो क्षेत्रबाट गर्न सक्ने योगदानबारे उनीहरूले आफ्नो धारणा राखेका थिए । यो सत्रमा युवाहरूले अत्यधिक रूपमा प्रयोग गर्ने सामाजिक सञ्जालमा प्रस्तुत हुने तरिकादेखि नवीन कार्यको सुरुवात गर्दा व्यहोर्ने झमेलासम्मका बारे चर्चा गरिएको थियो ।


बौद्ध संग्रहालयकी संस्थापक सुम्निमा उदासले भने नेपालमा जे काम गर्न पनि सुरुमा ‘हुन्छ, हुन्छ । भइहाल्छ नि’ भन्ने र पछि कामै नगरिदिने परिपाटी व्याप्त रहेको गुनासो गरेकी थिइन् ।


‘नेपालले युवाहरूका लागि आवश्यक यथेष्ठ अवसरहरू सिर्जना गर्न सकेको छैन । तैपनि देश अगाडि बढिरहेकै छ । जुन आफैंमा राम्रो हो,’ उनले भनिन्, ‘यहाँ रहेका तमाम चुनौतीमा पनि युवाहरूमा जोस जाँगर छ । समाजलाई एक बनाएर लैजान उनीहरू सक्षम छन् भन्ने प्रमुख उदाहरण भूकम्पका बेला उद्धार र राहत वितरणमा खटिएका युवाहरू हुन् ।’


ट्रेसिङ नेपालका संस्थापक लेक्स लिम्बूले अवसरलाई पर्खनेभन्दा अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । आफूमा कति क्षमता छ भन्ने स्वयंलाई नै थाहा हुने उनको तर्क थियो ।


‘सांस्कृतिक रूपमा हामीलाई बच्चैदेखि गर्न सम्भव हुने काममा मात्रै हात हाल्न सिकाइएको हुन्छ । युवाझैं नेपाली युवाहरूसँग धेरै क्षमता छ,’ उनले भने, ‘उनीहरूले परम्परागत सोचलाई त्यागेर केही नयाँ काम गर्नका लागि अगाडि आउनु जरुरी छ ।’


टुटलका सहसंस्थापक शिक्षित भट्टले भने सरकारले युवाहरूले नयाँ केही गरे त्यसमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए । ‘हामीले टुटललाई कसरी अगाडि बढाउने भन्ने मात्रै सोच्यौं । त्यसको अन्य पक्षमा भने ध्यान नपुगेकै हो,’ उनले भने, ‘म आज यही मञ्चबाट आफूले गरेको गल्तीको माफी माग्छु ।’ उनले भविष्यमा त्यस्तो गल्ती दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।


उनले आफूले टुटलमा लगानी गर्नुको कारणबारे प्रस्ट पार्दै यसले मानिसको आवागमनलाई सुविधाजनक बनाएर आर्थिक विकासमा सानो भए पनि सहयोग गर्ने दाबी गरेका थिए । ‘मैले आफूमा भएको भावनालाई मूर्त रूप दिन नयाँ सोचमा लगानी गरेको हुँ । नयाँ सोचका साथ थालनी गरेको लगानीले समाज र देशलाई नयाँ बाटोमा डोर्‍याउन सक्छ,’ उनले भने, ‘नयाँ सोचमा लगानी भनेको आफैंमा कलात्मक विषय हो जस्तो मलाई लाग्छ ।’


देश विकासका लागि अभिव्यक्ति स्वतन्त्रता

देश विकास केबल आर्थिक प्रगतिले मात्रै सम्भव नरहेको बताउँदै टुटलका सहसंस्थापक शिक्षित भट्टले अभिव्यक्ति स्वतन्त्रता पनि आवश्यक रहेको तर्क गरेका थिए ।

‘जब युरोप विकासले गति लिएको थियो, त्यो समयमा त्यहाँ संरचनाहरूको मात्रै विकास भइरहेको थिएन,’ भट्टले भने, ‘त्यहाँ साहित्य, कला, संगीतको पनि विकास भइरहेको थियो ।’

ट्रेसिङ नेपालका संस्थापक लिम्बूले पनि भट्टको तर्कमा सही थप्दै कलात्मक अभिव्यक्तिले समाजलाई अगाडि बढाउन मद्दत गर्ने बताएका थिए ।


‘केही व्यक्तिका लागि आफूलाई अभिव्यक्त गर्ने माध्ययम भनेकै कला हुन्छ,’ उनले भने, ‘त्यसैले कसैको पनि अभिव्यक्तिलाई निरंकुशतामा बाँध्नु हुँदैन ।’ उनका अनुसार कहिलेकाहीँ कुनै गम्भीर विषयलाई सरल र सटिक ढंगबाट राख्न पनि विभिन्न प्रकारका कलाले सहयोग नै गर्छ ।


नयाँ नेपालमा नयाँ सोच

मिस नेपाल शृंखला खतिवडाले नयाँ नेपाल नारामा मात्रै सीमित रहेको बताउँदै वास्तविकतामा केही पनि नयाँ नरहेको टिप्पणी गरेकी थिइन् ।


‘नयाँ नेपालमा केही पनि नयाँ छैन । खासगरी युवाहरूका लागि त केही पनि नयाँ छैन,’ उनले भनिन्, ‘अहिले भर्खरै युवा स्वरोजगार कार्यक्रमको घोषणा भएको छ । त्योबाहेक अरू के नै छ त ?’

टुटललाई सरकारले प्रतिबन्ध लगाउने तयारी गरेको प्रति व्यंग गर्दै मिस नेपाल शृंखला खतिवडाले भने युवाले गर्न खोज्ने हरेक नयाँ काम साथ दिनेभन्दा व्यवधान खडा गर्नेहरूको जमात धेरै हुने तर्क राखेकी थिइन् ।

‘एकातर्फ सरकार सूचना प्रविधिको अधिकतम प्रयोग गरेर देश विकासमा लाग्नुपर्नेमा जोड दिन्छ र अर्कोतर्फ युवाहरूले सुरु गरेका नयाँ कार्यलाई बन्द गर्नतर्फ लाग्छ,’ उनले व्यंग्य गर्दै भनिन्, ‘आजको प्रविधि प्रयोग गरेर सुरु गरेको कामलाई नियमन गर्न भने ३० वर्ष पुरानो कानुन हुन्छ । यस्तोमा कसरी नयाँ कामको थालनी गर्ने ?’


ट्रेसिङ नेपालका संस्थापक लेक्स लिम्बूले विदेशमा अध्ययन गरेर ज्ञान र सीप सिकेर नेपाल फर्किएका वा फर्कन चाहने युवाहरूले जागिर खोज्नुभन्दा पनि अरूलाई जागिर दिने गरी नयाँ केही गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?