कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लाङटाङ घुम्ने पर्यटक बढे

कान्तिपुर संवाददाता

रसुवा — यो वर्षमा सात महिनायता ६ हजार २ सय १२ विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जले तथ्यांक राख्न थालेयता दुई हजार ३ सय ५ आन्तरिक पर्यटक घुम्न आएको अधिकारीहरूले जनाएका छन् । 

लाङटाङ घुम्ने पर्यटक बढे

चालीस वर्षको अवधिमा तीन लाखभन्दा बढी विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरेको एक तथ्यांकले देखाएको छ । वर्ष ०३५/०३६ देखि ०७४/०७५ सम्ममा तीन लाख ५ हजार ५ सय ४० विदेशी तथा सार्क राष्ट्रका पर्यटकले रसुवा भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए । लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापना ०३२ चैत ९ मा भएको हो । सार्क मुलुकलगायत लाङटाङ क्षेत्र घुम्न आउने अन्य देशका पर्यटकहरूमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतलगायत २४ भन्दा बढी राष्ट्रका रहेका छन् ।

निकुञ्जको तथ्यांकअनुसार सबैभन्दा कम आर्थिक वर्ष ०३५/०३६ मा ८ सय ८३ पर्यटक र सबैभन्दा धेरै आर्थिक वर्ष ०७०/०७१ मा १७ हजार ५० आएका छन् । काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले पनि लाङटाङ क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न सकिने भएकाले लाङटाङ घुम्ने पर्यटकहरू बढेको जानकारहरू बताउँछन् ।

पर्यटकका लागि घुम्न रसुवामा तीन पदमार्ग छन् । धुन्चे गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेंसी हुंँदै लाङटाङ र स्याफ्रुबेंसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेंसीसम्मको तामाङ सम्पदा मार्ग रहेको छ । पर्यटकहरू गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत गोसाइँकुण्ड, तामाङ सम्पदा मार्गभित्र रहेको तामाङ कला र संस्कृतिलगायतका विभिन्न क्षेत्रहरूको अवलोकन गर्न आउने गर्छन् ।

त्यसैगरी, लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपान्डा, हिमचितुवा र कस्तूरीमृगलगायतका जीवजन्तु पाइन्छ । नेपालको तेस्रो पर्यटकीय पदमार्गको रूपमा लाङटाङ क्षेत्र पर्छ । सिजनमा यस क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ ।

निकुञ्जमा थप पर्यटक प्रवद्र्धन गर्नका लागि अहिले पदमार्ग सुधार, विश्रामस्थल निर्माण, सूचना पार्टीहरूको स्थापना गर्नेलगायतका काम भइरहेको निकुञ्जले बताएको छ । पछिल्लो वर्ष लाङटाङ र गोसाइँकुण्ड क्षेत्र घुम्न आउने आन्तरिक पर्यटक पनि बढ्दै गएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?