कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकलाई ब्रोकर दिने विषयमा विवाद

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंकका सहायक कम्पनीलाई ब्रोकर दिने विषयमा सरोकारवालाबीच विवाद भएको छ । मंगलबार संसद्को अर्थ समितिले आयोजना गरेको पुँजी बजारसम्बन्धी छलफलमा बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा सरोकारवालबीच मत बाझिएको हो ।

कार्यक्रममा उपस्थित वित्तीय संघसंस्थाका पदाधिकारीले आफूहरू सहायक कम्पनीमार्फत ब्रोकर सञ्चालन गर्न तयार रहेको धारणा राखेका थिए ।


त्यसपछि ब्रोकरहरूले बैंकलाई ब्रोकर लाइसेन्स दिए इन्साइडर ट्रेडिङ बढ्ने भएकाले त्यस्तो गर्न नहुने बताए । बैंकलाई लाइसेन्स बाँडेर ब्रोकरको संख्या मात्र बढाउनुको साटो भएको ब्रोकरको क्षमता बढाउनेतर्फ सोच्नुपर्ने स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए ।


बजार विस्तारका लागि ब्रोकरको शाखा तथा एजेन्ट विस्तार गरेर अघि बढ्न सकिने उनको भनाइ थियो । हाल सञ्चालनमा रहेका ब्रोकरहरू सबै पक्षबाट सक्षम रहेकाले बजार विस्तारका लागि सबै काम मात्र गर्न सक्ने उनले दाबी गरे ।


बैंक तथा वित्तीय संस्थालाई सेयर ब्रोकरको लाइसेन्स दिँदा अन्य संघसंस्थाले दाबी गर्न सक्ने सम्भावना रहेकाले त्यसो गर्न नहुने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले बताए । बैंकलाई लाइसेन्स दिइहाल्नु त्यति व्यावहारिक नभएको उनको भनाइ थियो ।


सांसद रामकुमारी झाँक्रीले बैंकलाई ब्रोकरको लाइसेन्स दिनुअघि गम्भीर रूपले सोच्नुपर्ने बताइन् । ‘ब्रोकरको काम गरेर ७ सय ५३ स्थानीय तहमा बैंक पुग्छन् भनेर सोच्नु भ्रमपूर्ण मात्र हो,’ उनले भनिन्, ‘जोखिम बढी र नाफा कम हुने क्षेत्रमा बैंक कुनै पनि स्थितिमा जानेवाला छैनन् ।’


ब्रोकरको लाइसेन्स दिने बैंकलाई नभई बैंकले स्थापना गरेको सहायक कम्पनीलाई भएकाले अनावश्यक शंका नगर्न धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताए । बैंकलाई ब्रोकरको लाइसेन्स दिनेसम्बन्धी नीतिगत व्यवस्था नयाँ नभई एक दशकअघिकै भएको जनाउँदै उनले थपे, ‘बैंकलाई लाइसेन्स दिने कानुन ०६४ मै बनेको हो । अहिले त्यसलाई कार्यान्वयन गर्न खोजेको मात्र हो ।’


हाल सञ्चालनमा रहेका अधिकांश धितोपत्र ब्रोकरसँग कारोबार विस्तार गर्ने क्षमता नभएकाले बैंकरलाई लाइसेन्स दिनुपरेको उनले बताए । ‘आफू राम्रो सेवा सुविधा दिन नसक्ने अनि बैंकलाई लाइसेन्स दिँदा विरोध गर्ने प्रवृत्ति ठीक भएन,’ उनले भने, ‘अब पुराना ब्रोकरहरू पनि खुला प्रतिस्पर्धामा आउन सक्नुपर्छ ।’ यसअघि ब्रोकर संख्या थप गर्दा पनि यस्तै विरोध भएको स्मरण गर्दै उनले भने, ‘आफू प्रतिस्पर्धामा उत्रिन सकिँदैन भनेर नयाँलाई पनि ल्याउनु हुँदैन भन्नु भएन ।’


बैंठकमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बिस्तारै नेप्से अनलाइन कारोबार प्रणालीको समस्याहरू समाधान भइरहेको बताए ।


प्रकाशित : फाल्गुन ८, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?