कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

विषादीले समस्यैसमस्या

राजु चौधरी

काठमाडौँ — मुलुकभित्र प्रयोग भएका ९५ प्रतिशतभन्दा बढी विषादीले समस्या समाधान गर्नेभन्दा बढाउने गरेको भेटिएको छ । मानव, पशु, वन्यजन्तु, पानीको स्रोत, माटो तथा हावामा मिसिएर विषादीले समस्या बढाएको सम्बद्ध निकायले जनाएको छ ।

विषादीले समस्यैसमस्या

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार बर्सेनि करोडौं रुपैयाँका विषादीहरू आयात गरिन्छ ।

खाद्य वस्तुको बढदो माग पूर्ति गर्न, उत्पादन वृद्धि गर्न विषादी आयात हुन्छ । बालीनालीमा नोक्सानी पुर्‍याउने शत्रुजीवहरू (किरा, रोग, झारपात, मुसा, चरालगायत) बाट बाली कटानी अघि र पछि भण्डारणसम्म २० देखि ३५ प्रतिशत हुने नोक्सानीलाई कम गर्न विषादी प्रयोग हुन्छ । उचित प्रयोजनका लागि आयात गरिए पनि विषादीले समस्या बढाउँदै लगेको केन्द्रले जनाएको छ ।

‘विषादीहरू लक्षित समस्या समाधान गर्नभन्दा मानव वन्यजन्तु, माटो तथा हावापानीलाई बिगारिरहेको छ,’ विषादी सप्ताहबारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रमुख डिल्लीराज शर्माले भने, ‘जसले गर्दा मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या जन्मिएको छ ।’

केन्द्रका अनुसार १ सय २७ भन्दा बढी विषादीले आन्तरिक श्राव प्रणालीलाई बिगार्ने गरेको छ । खेत बारीमा प्रयोग गरिएको विषादीकै कारण मौरीको संख्यामा पनि कमी भएको छ ।

विषादीको व्यापक प्रयोगले विषादीका अवशेष माटो तथा पानीमा बढेर गएको छ । ओजन तहको विनाशमा विषादीको भार छ प्रतिशत रहेको रहेको उनले बताए । ‘विषादी कसरी राख्ने, प्रयोग गर्ने, बालीमा प्रयोग भएपछि कति दिनपश्चात् खाने चेतना छैन,’ उनले भने, ‘विषादीकै कारण बाली बिरुवामा हुने परागसेचन प्रक्रियामा कमी आएर कृषि उत्पादनमा कमी हुन्छ ।’

केन्द्रका अनुसार गत वर्ष ६ सय २५ टन खास विषादी आयात भएको छ । जसमध्ये किटनाशक १ सय ६९ टन, रोगनाशक ३ सय ४७ टन, झारनाशक १ सय ५ टन र अन्य १४ टन रहेको उनले बताए । ‘विषादीका लागि करिब ७५ करोड रुपैयाँ खर्च भएको देखिन्छ,’ उनले भने, ‘प्रतिहेक्टर विषादीको प्रयोग ३ सय ९६ ग्राम खास विष रहे पनि करिब ८५ प्रतिशतभन्दा बढी विषादी तरकारी बालीमा आधारित सघन खेती प्रणाली भएका स्थानमा प्रयोग भएको छ । तरकारी बालीमा १ हजार ६ सय ५ ग्राम खास विष प्रतिहेक्टर विषादीका प्रयोग भइरहेको छ ।’

केन्द्रले वार्षिक ७५ करोडको दाबी गरे पनि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले भने अर्बौं रुपैयाँको विषादी आयात भएको जनाएको छ । २०७४/७५ मा २ अर्ब ५१ करोड रुपैयाँँको आयात भएको प्रवद्र्धन केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा अस्वाभाविक रूपमा बढेको छ ।

केन्द्रको तथ्यांकअनुसार १ अर्ब १५ करोड ९८ लाख रुपैयाँको ३२ लाख ३४ हजार ५ सय किलो विषादी आयात भएको छ । विषादी मुख्यत: भारत, चीन, जर्मनलगायतबाट आयात हुन्छ । ती विषादी कृषि, घरायसी र स्वास्थ्य क्षेत्रका लागि आयात हुन्छ । आयातितमध्ये सबैभन्दा बढी कृषि क्षेत्रका लागि आयात हुन्छ ।

केन्द्र प्रमुख शर्माका अनुसार नेपालमा विषादीको प्रयोगमा देखिएका समस्याहरूमा पर्खन पर्ने अवधि ख्याल नगरी, बाली कटानी समयमा विषादीका प्रयोग गर्ने, बिक्रीभन्दा अगाडि विषादीमा डुबाउने गरिएको छ । किसानले विषादीको मात्रा बढाएर छर्ने, रोग किराको पहिचानबिना विषादी छर्ने, विषादीलाई खेतीबाहेक अन्य जीवजन्तु तथा स्थानमा प्रयोग गर्ने कृषि कार्यबाहेक अन्य उद्देश्यमा प्रयोग गर्ने गरेको जनाएको छ ।

दर्ता नगरिएका विषादीको लुकीछिपी बिक्री वितरण, खाद्य सामग्रीको पसलमा पनि विषादी बिक्री, प्रतिबन्धित विषादीको लुकीछीपी प्रयोग, विषादीको पकेट पुन: खोली प्याकेजिङ र बिक्री, बिनालेबलका विषादी प्रयोग, म्याद नाघेका विषादी प्रयोग, विषादी प्रयोग गर्दा सुरक्षित पहिरनको समेत प्रयोग गरिँदैन । जसले गर्दा थप चुनौती बन्दै गएको जनाइएको छ ।

‘विषादी रासायनिक पदार्थले कीरा सूक्ष्म जीवाणु, झारपात, मुसा आदि मार्न कृषि तथा अन्य स्थानमा प्रयोग गर्ने गरिन्छ,’ शर्माले भने, ‘विषादी मानव शरीरमा श्वासप्रश्वास प्रक्रिया, छालाको सम्पर्क तथा खानाको माध्यमबाट पस्ने गर्छ । कारोबारमा संलग्न व्यक्ति, कृषक तथा कृषि उपज उपभोग गर्ने उपभोक्ताहरू सबैलाई नराम्रो प्रभाव पार्छ ।’

केन्द्रका अनुसार महिला र केटोकटीमा यसका प्रभाव बढी पर्ने पर्छ । विषादीका कारणले तत्काल असरका रूपमा मान्छेमा मुर्छा, झाडापखाला, कम्पन, दृष्टि कमजोरदेखि मृत्युसम्म हुन्छ । दीर्घकालीन असरमा अन्धोपन, क्यान्सर, टयुमर, नपुंसकता, बाँझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगहरूमा असर, नसासम्बन्धी समस्या, पक्षाघातलगायत समस्या उत्पन्न हुने केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ६० प्रतिशत किसानले प्राविधिकसँग छलफल नगरी विषादी प्रयोग गर्छन् । उनीहरूले एग्रोभेटसँग छलफल गरेर विषादी प्रयोग गर्दै आएका छन् । ‘एग्रोभेटले कस्तो सल्लाह दिएको हो, थाहा हुँदैन,’ उनले भने, ‘सही सल्लाह सुझावका लागि एग्रोभेटलाई समेत तालिम दिन जरुरी छ ।’

सरकारले १५ विषादी आयातमा प्रतिबन्ध गरेको छ । प्रतिबन्धित विषादीमध्ये छ प्रतिशत विषादी तराई क्षेत्रमा कारोबार हुने गरेको छ । अनुगमन र नियन्त्रण दायित्व केन्द्रको भए पनि केन्द्र मौन छ । अनुचित कार्य गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । उसले विषादीको बढदो प्रयोग घटाउन सचेतनासम्बन्धी कार्यक्रम सोमबारदेखि सप्ताह आयोजना गरेको छ ।

केन्द्रले विगत चार वर्षदेखि सप्ताह कार्यक्रम सञ्चालन गरे पनि उपत्यकामा मात्रै केन्द्रित गरेको छ । उपभोक्ता अधिकारकर्मीसँगको सहकार्यमा सचेतना कार्यक्रम, पोस्टर पम्पलेटहरू वितरण, प्रभातफेरी कार्यक्रम, सडक नाटक प्रदर्शनमार्फत सप्ताह कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रम केन्द्रमा मात्रै केन्द्रित हुँदा सम्पूर्ण किसानले उपलब्धि हासिल गर्न सकेका छैनन् ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?