कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

लामा कन्स्ट्रक्सनको धरौटी जफत

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकेडेमिक साइन्स ब्लक (कलेज भवन) निर्माणमा लामा कन्स्ट्रक्सनले सर्तबमोजिम काम नगरेको भन्दै धरौटी जफत गरेको छ ।

लामा कन्स्ट्रक्सनको धरौटी जफत

करिब १४ करोड रुपैयाँ लागत स्टिमेटको स्वास्थ्य शैक्षिक भवन निर्माण गरेको पाँच वर्ष बितिसक्दा पनि उपयोगविहीन हुन पुगेपछि लामा कन्ट्रक्सनको धरौटी जफत गरिएको हो ।


२०७० फागुन २७ गते भवनको उद्घाटन गरिएको थियो । चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीका लागि अत्याधुनिक सुविधा सम्पन्न शैक्षिक भवन निर्माण भएको दाबी त्यस बेला गरिएको थियो । भवन निर्माणमा कमसल समग्री र स्तरहीन छत ढलाइ भएको आरोप छ ।


निर्माण सम्पन्न नहुँदै छत भत्किएर पानी चुहिन थालेपछि धरौटी जफत गरिएको प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारले बताए । उनले भने, ‘चिकित्साशास्त्रका विद्यार्थी पठनपाठनका लागि भवनको अभाव भइरहेको बेला जफत गरिएको धरौटीबाटै प्रतिष्ठानले एकेडेमिक भवन मर्मत सुरु गरेको छ ।’


अघिल्लो कार्यकालका पदाधिकारीहरूले एकेडेमिक भवन निर्माण गरे पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउनै नसकिने गरी बनाएकाले मर्मत गर्नुपरेको रौनियारको भनाइ छ ।


प्रतिष्ठानले निर्माण कम्पनीलाई पटकपटक ताकेता गरेर मर्मत गर्न आग्रह गरे पनि बेवास्ता गरेको थियो । करिव ७० लाख रुपैयाँले एकेडेमिक भवन मर्मत सुरु गरेको प्रतिष्ठानका इन्जिनियर मदन साहले बताए । भारतीय सरकारको करिब १५ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्मित उक्त भवन निर्माणको ठेक्का लामाले पारेको थियो । भवनको छत र भित्तामा प्रयोग गरिएका एकस्टिक सामग्री हस्तान्तरण गर्नुअघि नै भत्किएर पानी चुहिन थालेपछि उपयोगविहीन भएको थियो ।


भवनमा रहेका चार वटा थिएटरमध्ये दुई वटा मात्र प्रयोगमा ल्याइएका थिए । बाँकी थिएटर कमजोर छत र भित्ताका कारण पानी चुहिएर विद्युत् सर्ट भएको, साउन्ड प्रुफका लागि भित्तामा गरिएका एकस्टिक सामग्री पानीले बिग्रेका र सिलिङ खस्न थालेपछि प्रतिष्ठान आफैंले मर्मत गर्न थालेको साहले बताए ।


भवनको थिएटर भित्र चिकित्साशास्त्रका विद्यार्थी र अनुसन्धानकर्मीका लागि एयरकन्डिसन, मल्टिमिडिया साउन्ड सिस्टम भएको आधुनिक कक्षा कोठा, सेमिनार हल, प्रयोगशाला, लाइब्रेरी, सर्भर कन्ट्रोल, प्रोजेक्टर र साउन्ड प्रुफयुक्त शैक्षिक भवन निर्माण गरिएको बताइएको थियो ।


उक्त भवनमा दुई सय विद्यार्थी क्षमताको एनाटोमी, फिजियोलोजी, बायोकेमिस्ट्री, माइक्रो बायोलोजी, प्याथोलोजी, फर्माकोलोजी र फरेन्सिक ल्याबको समेत व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको थियो ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?