बैंकको ब्याज विरुद्ध ताप्लेजुङका व्यवसायी आन्दोलित

आनन्द गौतम

ताप्लेजुङ — बैंकको ब्याजदर विरुद्ध ताप्लेजुङका व्यवसायी आन्दोलित भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले व्यवसायीहरूलाई बैंकले नाङ्गो बनाएकाले आन्दोलन गर्न बाध्य भएको बताए । ८ प्रतिशतमा सम्झौता गरेको ऋणको ब्याज १८ प्रतिशतसम्म पुर्‍याएको उनको दाबी छ । 

बैंकको ब्याज विरुद्ध ताप्लेजुङका व्यवसायी आन्दोलित

‘पहिला नेपाल बैंक मात्रै थियो पछि वाणिज्य बैंकहरु धमाधम थपिए, उनीहरू घरघरमा आएर ऋण लिइदिन अनुरोध गरे,’ घिमिरेले थपे,‘उनीहरूको प्रतिस्पर्धाले सात र आठ प्रतिशत ब्याजमा सम्झौता गरे अहिले दोब्बर भन्दा बढी बढाएर व्यवसाय नै टाट पल्टाइदिएका छन् ।’ ऋण अनुसार मूल्याङ्कन गरेको व्यावसायिक योजनाले फेल खाएपछि धेरै व्यवसायी समस्यामा परेको उनले सुनाए । बैंकले बिना जानकारी ब्याज बढाउने र त्यही अनुसार असुल्ने गरेको व्यवसायीको गुनासो छ ।


धेरै व्यवसायी निजी बैंकसँग आबद्ध भएकाले ब्याजदर घटाएर एकरुपता गर्न माग गरेका छन् । ‘वार्षिक १० लाख रुपैयाँ तिर्ने योजनाका आधारमा ऋण लिएकाले २० लाखसम्म ब्याज तिर्नुपरेपछि कसरी कारोबार गर्न सकिन्छ,’ उपाध्यक्ष नारान थापाले भने, ‘आवाज त पहिलापनि उठाएका थियौँ, तर अब सङ्गठित आवाज सुरु गरेका हौँ ।’ ब्याजदर नघटाए थप आन्दोलित हुने व्यवसायीको अडान छ ।


सदरमुकाम फुङलिङमा नेपाल बैंक, एनएमबी, जनता, सिद्धार्थ, सेन्चुरी, ग्लोबल आईएमई, लक्ष्मी र प्राइम बैंक रहेका छन् । थप बैंक आउने तयारीमा छन् । नौ वटा स्थानीय तह रहेको जिल्लाका ६ वटा गाउँपालिकामा पनि बैंकहरु पुगेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?