महिला उद्यमशीलता सम्मेलन हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली युवा उद्यमी मञ्च र अमेरिकी दूतावासअन्तर्गतको नेपाल–अमेरिका एलुमनाई नेटवर्कले फागुन १७ मा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै छन् ।

लाजिम्पाटस्थित होटल र्‍याडिसनमा हुने सम्मेलनमा नवउद्यमी, विद्यार्थी, व्यसायीहरू सहभागी हुनेछन् । ‘कनेक्ट, कोल्याबोरेट, क्रिएट’ शीर्षकमा रहेर विभिन्न वक्ताले अभिव्यक्ति दिनुका साथै कार्यशाला र गोष्ठी गरिने मञ्चले जनाएको छ । सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडा र अमेरिकी राजदूत र्‍यान्डी बेरी उपस्थित हुनेछन् ।


एकदिने सम्मेलनमा विशेषतः प्राविधिक क्षेत्रमा काम गर्ने महिला उद्यमीलाई मञ्च प्रदान गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मिडियामा नआएका महिला अनुहारलाई समेत प्रस्तुत गर्न चाहेको मञ्चकी उपाध्यक्ष जुना माथेमाले बताइन् । ‘हस्तकला र घरेलु व्यवसायमा आबद्ध महिलालाई मात्रै उद्यमीका रूपमा देखाउँदै आइएको छ,’ उनले भनिन्, ‘हामीले उत्पादनमूलक उद्योग र हाइड्रोपावर क्षेत्रमा चुपचाप काम गर्दै आएका महिलाहरूलाई अगाडि ल्याउँदै छौं ।’


सम्मेलनमा हाँडीखोला जलविद्युत् कम्पनीमा कार्यरत पूजा चन्द ठाकुरदेखि स्वर्णिम पोलिमरकी ऋचा श्रेष्ठ, कंचनजंघा टी स्टेटकी समीक्षा बाँस्कोटा, अन्तरप्रेरणाकी दीप्ति खकुरेल, ओपन स्पेस नेटवर्ककी फैजा परविनजस्ता महिला उद्यमीले आफ्ना कुरा राख्ने तय भएको छ । महिला उद्यमी सम्मेलन भनिए पनि पुरुष उद्यमी र सहभागीलाई उत्तिकै स्थान दिइने माथेमाले बताइन् । उनका अनुसार अहिले यस्ता सम्मेलनमार्फत महिला उद्यमीलाई प्रोत्साहन गर्ने उचित समय हो ।


‘महिलासँग अहिले लगानीका लागि हातमा पैसा छ,’ उनले भनिन्, ‘रेमिट्यान्सबाट आएको त्यो पैसा उनीहरूले उद्यममा लगाउन सक्छन् । यो बेला उनीहरूलाई प्रोत्साहन गर्न सके महिला उद्यमशीलताले हामीकहाँ राम्रो उचाइ लिन्छ ।’ विगत पाँच वर्षदेखि सम्मेलन आयोजना गर्दै आएको मञ्चले क्षेत्रीयस्तरमा पनि कार्यक्रम गर्ने रहर पालेको माथेमाले बताइन् । ‘सन् २०१३ मा हामीसँग एक जना मात्रै महिला उद्यमी हुनुहुन्थ्यो,’ मञ्चका अध्यक्ष अजय श्रेष्ठले भने, ‘सम्मेलन गर्दै जाँदा अहिले संख्या बढेको छ ।’ समारोहमा दुई सय सहभागी उपस्थित हुने मञ्चको अपेक्षा छ ।


सम्मेलनको साझेदार संस्था रहेको लक्ष्मी बैंकले उक्त अवसरमा महिला उद्यमीका लागि विशेष कर्जा स्किमको अनावरण गर्ने योजना रहेको जानकारी दिइयो । पाँचौं शृंखलासम्म आइपुग्दा सम्मेलनमा सहभागीको संख्या बढेको माथेमाले बताइन् ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?