कुसुम–हापुरे प्रसारण लाइन सुरु

दुर्गालाल केसी

दाङ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बिहीबार बबई गाउँपालिका ६ च्याटी खोलास्थित कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको उद्घाटन गरेका छन् । 

कुसुम–हापुरे प्रसारण लाइन सुरु

यसअघि जिल्लामा लमहीको ३३ केभी लाइनबाट मात्रै विद्युत् विस्तार भएको थियो । जिल्लामा पहिलोपटक यति ठूलो क्षमताको सबस्टेसन निर्माण भएको र अब विद्युत्को समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी उपनिर्देशक बज्रभूषण चौधरीले बताए ।


४३ करोड ८६ लाख लागतमा सबस्टेसन निर्माण भएको उनले जानकारी दिए । हापुरेमा निर्माण हुन थालेको दाङ सिमेन्ट उद्योगलाई लक्षित गरी बनाइएको सबस्टेसनले उद्योग नबन्दै दाङलाई उज्यालो बनाउन भूमिका खेलेको उनले बताए । अब जिल्लाका सबै सिमेन्ट उद्योगका लागि पर्याप्त विद्युत् भएको उनले बताए ।


जिल्लामा हाल घोराही, सोनापुर, सम्राट र रोल्पा सिमेन्ट उद्योग सञ्चालित छन् । सबै उद्योगलाई विद्युत् आपूर्ति गरी बाँकी ३८ हजार ग्राहकलाई तत्कालै विद्युत् विस्तार गर्न सकिने उनले बताए ।


लमही–घोराही १३२ केभी प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा पुगेको र अब छिट्टै मागभन्दा बढी विद्युत् आपूर्ति हुने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले विद्युत् खपत बढाउन सबैलाई आग्रह गरे । ‘अब हामी जति मागे पनि विद्युत् पुर्‍याउन सक्छौं । विद्युत्को समस्या भएन । अब खपत बढाउन लाग्नुपर्‍यो,’ उनले भने, ‘उद्योगधन्दा खोल्नुहोस् । विद्युत्को खपत धेरै गर्नुहोस् । विद्युत्को अत्यधिक उपभोग गर्नुपर्ने बेला आएको छ ।’


अब जनताले मागे जति विद्युत् दिन सक्ने अवस्थामा पुगेको मन्त्री पुनले बताए । ‘यसअघि सबस्टेसन नभएका कारण धेरैतिर विद्युत् पुर्‍याउन सकिएको थिएन । अब विद्युत्को समस्या हटेको छ ।


विद्युत्को सदुपयोग बढाउन योजना बनाउने बेला आएको छ,’ उनले भने, ‘उद्योग, व्यवसाय बढाएर विद्युत्बाट अधिकतम लाभ लिन सक्नुपर्छ । दाङका लागि यो महत्त्वपूर्ण अवसर हो ।’ अहिले देशभर नै जनताको जलविद्युत् आयोजना अभियान चलाएर हरेक जनतालाई विद्युत्को सेयरधनी बनाउन खोजेको उनले बताए । ‘अब चार वर्षभित्र विद्युत्मा देशका हरेक नागरिकको पहुँच पुग्नेछ,’ उनले भने, ‘सबैका घर उज्याला बनाउने अभियानमा हामी लागेका छौं ।’


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आयातित विद्युत्को उपयोग अन्त्य गर्ने योजनाअनुसार काम गरिरहेको बताए । विद्युत्को उत्पादन र पूर्वाधार बढाउने काममा लागिपरेको उनले बताए ।


‘देशका धेरै ठाउँमा यस्ता संरचना बनेका छन् । हामीले तीन दिनमा ६ सबस्टेसन उद्घाटन गरिसकेका छौं,’ उनले भने, ‘विद्युत्को विस्तारसँगै धेरै उद्योगहरू खुल्दै छन् । विद्युत्ले औद्योगिकीकरणमा ठूलो योगदान गरिरहेको छ । आयातित विद्युत्मा भर पर्ने अवस्थाको अन्त्य हुँदै छ ।’


यो विद्युत् लाइन विस्तारले दाङमा कम भोल्टेज र लोडसेडिङको समस्या समाधान भएको कुसुम–हापुरे १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख मनोजकुमार चौधरीले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?