कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खाद्यले बोराको पैसा नलिने

कान्तिपुर संवाददाता

काठमाडौँ — खाद्य संस्थानले कर्णाली र दुर्गम क्षेक्रमा चामल बित्री गर्दा बोराको पैसा नलिने निर्णय गरेको छ । सित्तैमा प्राप्त बोरालाई कर्णाली र दुर्गमका जनताबाट प्रतिथान २० रुपैयाँ असुलेकाले संस्थानको आलोचना भएको थियो । 

खाद्यले बोराको पैसा नलिने

‘बोराको मूल्य लिनु जायज नभए पनि वर्षौंदेखि लिइँदै आएको रहेछ,’ संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले भने, ‘व्यवस्थापनले अबदेखि पैसा नलिने निर्णय गरेको छ ।’ व्यवस्थापनबाट निर्णय भएकाले संस्थानले सबै डिपोमा परिपत्र गर्ने उनले बताए ।

संस्थानले मिलबाट कुटानी गरेर चामल लिँदा र जापानी अनुदानको चामलमा आउने बोरा सित्तैमा प्राप्त गर्दै आएको छ । त्यही बोरा बेचेर संस्थानले कर्णाली र दुर्गमका जनताबाट बर्सेनि डेढ करोड रुपैयाँभन्दा बढी असुल्दै आएको थियो । कर्मचारीका अनुसार उपत्यका र दुर्गमका जनताबीच समेत विभेद हुँदै आएको थियो ।

संस्थानले उपत्यकामा चामल बिक्री गर्दा बोराको शुल्क लिँदैन । दुर्गम जिल्लाका जनताबाट भने थप २० रुपैयाँ असुल्दै आएको हो । उपत्यकाबाहेक दुर्गम जिल्लामा वार्षिक १ लाख ४० हजारदेखि २ लाख क्विन्टल चामल बिक्री हुन्छ । एउटा बोरामा २० किलो चामलको हिसाबमा वार्षिक आठ लाख बोरा चामल बिक्री हुने गरेको छ ।

जसअनुसार डेढ करोड रुपैयाँभन्दा बढी असुल्दै आएको थियो । संस्थानका प्रवक्ता शंकर सापकोटाले बोराको शुल्क हटदा कर्णलीका जनतालाई केही राहत हुने बताए । चामल खरिद गर्दा बोराको शुल्क नलागे पनि बोरा मात्रै खरिद गर्दा भने प्रतिबोरा २० रुपैयाँ लाग्ने बताए ।

व्यवस्थापनले बोराको मूल्य नलिने जनाए पनि निर्णय भएको तीन–चार दिन बित्दा पनि परिपत्र भएको छैन । समयमै परिपत्र नहुँदा अहिले पनि बढी मूल्य तिर्न बाध्य भएको संस्थानका अधिकारीहरू बताउँछन् । ‘निर्णय भएको तीन–चार दिन भइसक्यो । आलटाल भइरहेको छ,’ ती अधिकारीले भने, ‘माइन्युट भए पनि डिपोमा पठाउनकै लागि तयार भइसकेको छैन ।’

प्रवक्ता सापकोटाले परिपत्रबारे आफूलाई जानकारी नभएको बताए । उनले ढिलाइ गर्न नहुने बताए । ‘शुल्क हटाउने निर्णय भएको छ । निर्णय भएपछि तत्काल कार्यान्वयन हुनुपर्छ,’ उनले भने, ‘परिपत्रबारे सम्बन्धित शाखामा बुझेर जानकारी गराउँला ।’ संस्थान स्थापना भएदेखि नै बोराको मूल्य लिने गरिएको कर्मचारीहरू बताउँछन् ।

संस्थानले सबैभन्दा बढी हुम्ला/डोल्पालगायत कर्णाली र प्रदेश ७ का दुर्गम जिल्लामा चामल बिक्री गर्छ । हाल संस्थानका सदरमुकामबाहेक ५९ डिपो र २६ शाखा कार्यालय छन् ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?