ढाका कपडा युरोप निर्यात

चन्द्र कार्की

तेह्रथुम — हातले घरेलु तानमा बुनेका तेह्रथुमे ढाका कपडा युरोप निर्यात हुन थालेको छ । घरघरमा हाते तान राखेर तयार गरिएका ढाकाका कपडा स्तरीय र आकर्षक भएको भन्दै युरोपेली मुलुकबाट माग बढेको छ । 

स्थानीय सीप र कच्चा पदार्थ प्रयोगबाट उत्पादित ढाका कपडाको युरोपेली मुलुकबाट माग आएपछि व्यवसायीहरू उत्साहित भएका छन् । यहाँ उत्पादित ढाकाका कपडा ‘तेह्रथुमे ढाका कपडा’ का नामले परिचित छ ।

बाहिरी जिल्लाबाट तेह्रथुम आइपुगेकाहरूले फर्किएर जाँदा आफन्त र साथीभाइलाई कोसेलीका रूपमा लिएर जाने र नेपालको प्रमुख सहर बजारमा मात्र किनबेच हुँदै आएको ढाकाको कपडा अब विदेशी बजारसम्म पुग्न थालेको हो । ‘उत्पादन बढाउन सके अब बजारको समस्या हुँदैन,’ पराजुली ढाका कपडा उद्योग म्याङलुङका सञ्चालक ढंगराज पराजुलीले भने ।

पछिल्लो समय जिल्लाको दुर्गम गाउँदेखि सदरमुकामसम्म फस्टाएको ढाका कपडा उद्योगले हजारौं स्थानीयलाई रोजगारी दिएको छ । ढाका कपडाको व्यवसायबाट न्यून आय भएकाहरूले घरमै बसेर लाखौं रुपैयाँ आर्जन गरिरहेका छन् । उद्योगी पराजुली ढाका कपडाको व्यवसायबाट जिल्लाका धेरैको जीवनस्तर सुधारिएको बताउँछन् ।

उत्पादित ढाकाका कपडा स्थानीय उद्योगीले नेपालका धरान, विराटनगर, झापा, पोखरा, काठमाडौंलगायत प्रमुख सहर बजारका व्यापारीलाई बिक्री गर्दै आएका थिए । अहिले तिनै व्यापारीको माध्यमबाट उत्पादित ढाकाको कपडा युरोपेली मुलुक अमेरिका, बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, सिंगापुर, मलेसियालगायत मुलुकतर्फ निर्यात हुन थालेको घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत नवीन पौडेलले बताए ।

नेपाल बाहिरका मुलुकमा ढाका कपडाको माग बढेपछि सदरमुकाम म्याङलुङसहित जिल्लाभरका ग्रामीण क्षेत्रका घरघरमा हातेतान राखेर कपडा बुन्ने काम भइरहेको छ । हाते तानमा रुमाल, कुर्ता सुरुवाल, साडी, चोली, मजेत्रो, सल, टोपी, पर्स, झोला, ब्याग, थैलीलगायत दर्जनौं प्रकारका ढाकाका समानहरू उत्पादन हुन्छन् ।

ढाका कपडाको माग अत्यधिक आएपछि म्याङलुङ बजारमा रहेको श्रमजीवी ढाका कपडा उद्योगका सञ्चालक रामसिंह आले मगरले आफ्नो उद्योगमा कामदारको संख्या बढाएको बताए । गाउँदेखि सदरमुकाममा रहेको उद्योगमा समेत गरी उनले ५ सयभन्दा बढी कामदारलाई रोजगारी दिएको बताए ।

उनको उद्योगबाट प्रतिमहिना २५ लाख रुपैयाँभन्दा बढीको ढाका कपडाको कारोबार हुने गरेको छ । ढाकाको व्यवसाय गर्ने उद्योगीले मात्र होइन, तानमा ढाकाका कपडा बुन्ने कामदारले पनि राम्रै आम्दानी गरिरहेका छन् । उद्योगी आलेका अनुसार उनको उद्योगमा काम गर्ने प्रत्येक कामदारले मासिक ७ देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दर् ैआएका छन् ।

पछिल्लो समय ढाकाको कपडाले राम्रो बजार लिएका कारण तेह्रथुमसँग सीमा जोडिएका संखुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा समेत हाते तान राखेर ढाकाका कपडा उत्पादन गर्न थालिएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?