१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चिया बगानमा रम्दै महिला

अनिश तिवारी

ज्योतिषगाउँ, सिन्धुपाल्चोक — मेलम्ची २ ज्योतिषगाउँकी भक्ति खतिवडा दैनिक ६ घण्टा चिया बगानमै बिताउँछिन् । घरखेत, मेलापात धाउनुभन्दा चिया बगानमा खट्न रुचाउने उनको दैनिकी रोजगारीमा बदलिएको छ । 

चिया बगानमा रम्दै महिला

‘कामसँगै चिया खेतीबारे सिक्दै छु, मलाई यसमा रमाइलो लाग्ने गर्छ,’ चियाको बोट देखाउँदै उनले भनिन् । भोटेचौरस्थित ‘दि एभरेस्ट टी गार्डेन’ मा ६ घण्टा काम गरेर मासिक नौ हजार पारिश्रमिक पाउने उनले सुनाइन् ।


‘चिया बगानमा खटदाको आनन्द बेग्लै छ, यसले नयाँ सीप र जाँगर दिएको छ,’ उनले भनिन् । भोटेचौर तल्लोगाउँकी ४५ वर्षकी सानुमाया तामाङले चिया बगानमा काम गर्न थालेको दुई वर्ष भइसक्यो । ज्योतिष, जैसी गाउँदेखि भोटेचौरभरका महिलाले काम गरेर समयको सदुपयोग गर्ने मात्र नभई चिया खेतीबारे सिक्ने स्थान बनेको अगुवा भवानी खतिवडाले बताइन् ।


‘२० वर्ष भयो चिया बगानमा काम गर्न आउनेको महिलाको संख्या बढदो छ,उनीहरूले काम गरेर चिया खेतीबारे अनुभव बटुल्दै छन्,’ उनले भनिन्, ‘नयाँ आएकाले पनि चिया बगानमा मिहिनेत गर्दै छन्, अहिले चियाका बोटको माथिल्लो भाग काट्दै छन् ।’


‘टी गार्डेन’ का राजकुमार खतिवडाका अनुसार बगानमा ६५ महिलाले रोजगारी पाइरहेका छन् । ‘अधिकांशले चिया खेतीबारे सिकिसकेका पनि छन्, यहाँको चिया बगानले नयाँ सीप दिएको छ,’ उनले भने । राजधानीदेखि नजिकैका जिल्लाबाटसमेत चिया खेतीबारे सिक्नका लागि ‘गार्डेन’ मा आउने गरेका छन् ।


राजधानीबाट नजिकै रहेको पर्यटकीय आकर्षणको केन्द्रविन्दु चिया बगानमा पर्यटक आउजाउका लागि निषेध गरिएको छ । चिया बगान ‘अर्गानिक सर्टिफिकेसन’ को तयारीमा रहेको मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले बताए । ‘भोटेचौरजस्तै हैबुङ हुँदै धौलेगिरि, धुसेनीचौरसम्म ‘एभरेस्ट टी गार्डेन’ जस्तै चिया बगान बनाउने योजना बनाएका छौं,’ उनले भने । ५ करोड छुट्याएर यस्तो कार्यक्रमका लागि एभरेस्ट टी गार्डेनसँग प्राविधिक सहयोग मागेर तयारीमा जुटेको उनले सुनाए ।


यसरी सुरु भयो 'गार्डेन’

०५२ मा पहिलो पटक व्यवसायी सोमप्रसाद गौचनले यहाँको १ हजार ६ सय रोपनीमा ८ सय चिया खेती विस्तार गरेका थिए । दुई वर्षलगत्तै बाजुराबासी मोहन गिरीले लिएपछि पर्यटकीय आर्कषण बोकेको भोटेचौरस्थित चिया बगान व्यवस्थित बनाइँदै छ ।


‘टी गार्डेन’ का मोहन गिरीका अनुसार ८ करोड बराबरको लागत परेको चिया बगान ‘अर्गानिक सर्टिफिकेसन’ को प्रक्रियामा रहेको छ । ‘४५ वर्षका लागि स्थानीयको ३० आना जग्गा दिइएको छ, जसमा २२ वर्ष बितिसकेको छ,’ उनले भने ।


चार वर्ष पुगेपछि फसल निकाल्नुपर्ने चिया चैतबाट कात्तिकसम्म उत्पादन हुन्छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?