१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाटो बन्यो, अब विदेश

सजना बराल

बाजुरा — सडक बनिसकेपछि त्रिवेणी नगरपालिकास्थित कैलाशमाडौं, तोली र छतारा आसपासका स्थानीयलाई अर्को चिन्ताले छोपेको छ । पछिल्लो पाँच वर्षमा झन्डै १९ किलोमिटर बाटो खन्ने काममा उनीहरूले रोजगारी पाएका थिए । बाटो बन्यो, रोजगारी सकियो अब विदेश जानुको विकल्प नभएको उनीहरू बताउँछन् । 

बाटो बन्यो, अब विदेश

बाटो बन्दै गर्दा भारत, मलेसिया र अन्य देश जाने युवाको संख्यामा कमी आएको थियो । अब फेरि विदेश जानुको विकल्प नभएको स्थानीय नौले साउद (५९) बताउँछन् । ‘मेरो जेठो छोरा दिल्ली गइगयो,’ उनले भने, ‘यहाँ बसेर दालचामल पाक्दैन ।’

मौरे–कैलाशमान्डु तथा मौरे–तोली–छतारा सडक निर्माणका लागि यहाँका १७ हजार ५६ जनाले काम पाएका थिए । बेलायत सरकारको अनुदान सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थ्री) ले यी सडकको ट्र्याक खोलेको हो । आफूहरूले डोजर प्रयोग नगरी बाटो खनेको र्‍याप थ्रीका रमेश न्यौपानेले बताए ।

‘डोजर चलाए हामीले रोजगारी पाउँदैनौं,’ पिपलसेन गाउँका राजेन्द्र साउदले भने, ‘डाँडा थर्किएर नोक्सानी हुन्छ ।’ नेपाल ग्रामीण सडक मापदण्ड १९९८ ले ग्रामीण सडक निर्माण गर्दा डोजर, ड्रिलको प्रयोगमा रोक लगाएको छ । श्रममा आधारित र वातावरणमैत्री सडक निर्माण गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

निर्माण कार्यको ज्यालाबापत ५० करोड ७० लाख भुक्तानी भएकामा एउटा कामदारले औसतमा २ लाख ८९ हजार रुपैयाँसम्म पाएको न्यौपानेले जानकारी दिए । महिला, पुरुष, फरक क्षमता भएका सबै कामदारलाई ज्यालामा भेदभाव नगरिएको उनको दाबी थियो ।

'जो भगवान् देलान्, उही खाऊँली’

पाँच वर्षसम्म शनिबारबाहेक हरेक दिन सडक खन्नेमा काममा खटिएकी पार्वती नेपालीका हातभर ठेला उठेका रहेछन् । घन, मार्तोल चलाउनेदेखि ढुंगा, गिट्टी बोक्ने, बालुका चाल्ने, चट्टान फोर्ने, जाली भर्नेलगायत सम्पूर्ण काम जानेको उनले बताइन् । ‘हातमा रगत फुटेका थिए,’ उनले हत्केला देखाउँदै भनिन्, ‘दुःख भए पनि सुविधा आएकामा धेरै खुसी छु ।’ बाटो खन्ने काम सकिएकामा चिन्ता लागेको सुनाइन् ।

दोस्री श्रीमती ल्याएर श्रीमान् अलग भएपछि जलु भण्डारी (३५) ले सडक खनेरै घर व्यवहार चलाउँदै आएकी रहिछन् । तीन छोरीकी आमा उनी अब भने कसरी हातमुख जोर्ने भन्नेमा चिन्तित थिइन् । ‘यत्रो वर्ष यही सीप जानें,’ उनले भनिन्, ‘अब काम सकिहाल्यो । के गर्ने थाहा छैन । जो भगवान् देलान्, उही खाऊँली ।’

मौरे–तोली सडकमा पर्ने पिपलसेन गाउँका नौले साउद (५९) आफूहरूले नेपाल बनाउने अवसर पाएको बताउँदै थिए । ‘यस्तो काम हामीले फेरि पाउँदैनौं होला,’ उनले भने, ‘मेरा दुई छोरा र बुहारीले बाटो खने । काम सकिएपछि जेठो छोरा दिल्ली गयो ।’ बाटो खनेको पारिश्रमिकले उनका जेठा छोराले घर बनाएका छन् भने कान्छाले सडक किनारमा चिया र खुद्रा पसल थापेको देखियो ।

नौले छोराकै पसलमा चिया पकाउने र चोयाको डोको बुन्ने गर्छन् । सडक खुलेपछि चहलपहल बढेकाले यो उद्यम सुरु गरेको उनकी बुहारी पार्वती साउदले बताइन् । तीन नाबालक छोरीकी आमा उनले काखको नानी च्यापेरै बाटो खनेको सुनाइन् । ‘घन, मार्तोल चलाउँदा गाह्रो त भयो तर दुःख लागेन,’ उनले भनिन्, ‘त्यति काम पाएकाले यति गर्न सकियो । गाडी चढ्न, साइड लाग्न सिकियो । आफ्नै गाउँमा बस, ट्याकटर, जिप कुदेको देखियो ।’

सडक सञ्जाल थपिएपछि बाम्का बजारसमेत विस्तारित भएको बाम्कास्थित बडीमालिका भोजनालयका रङ खडकाले अनुभव सुनाए । ‘मैले होटल चलाएको दस/ग्यार वर्ष भइगयो,’ उनले भने, ‘पहिले यो बजार सानो थियो । अहिले फिँजिएको छ ।’ बजार बढेपछि धनगढी, अत्तरिया र चिसापानीदेखि व्यापारीहरू सामान बेच्न आउन थालेका रहेछन् । अत्तरियाबाट आएका हरीश ताम्राकार बाम्कामा डेक र पटेला (डेक्चीहरू) को मोलमोलाइ गर्दै गरेका भेटिए ।

कैलाशमाडौं भेगतिरका कतिपयले सडक खनेर आर्जनको गरेको रकम जग्गामा लगाएका रहेछन् । केहीले गाउँमै र कतिपयले तराई (धनगढी) मा जग्गा जोडेको सुनाए । ‘गाउँका मान्छेले सुरुमै मेरो नाउँ हाल्दिएनन्,’ कलशी अयड (४०) ले व्यथा पोखिन्, ‘मेरो जग्गासमेत काटियो । र्‍यापलाई दुःख सुनाएपछि चार/पाँच महिना मात्रै काम गर्न पाएँ ।’ सञ्चित रकम र बाटो खनेको पैसा जोडेर धनगढीमा सानो टुक्रा जमिन किनेको उनले बताइन् ।

पुल नहुँदा गाडी बन्द

मौरे–कैलाशमाडौं र मौरे–छतारामा बाटो खुलेर जिप कुद्न थाले पनि बर्खामा बाटो बन्द हुने गरेको छ । बूढीगण्डकी र मालागाढा खोलामा पुल नबनेसम्म बाटो खुल्नुले अर्थ नराख्ने स्थानीय शिक्षक रत्तबहादुर अयडले बताए । ‘यी सडकलाई साँफे–मार्तडी सडकखण्डसँग जोड्न बीचमा दुइटा पुल हाल्नुपर्छ,’ उनले भने, ‘पुल नहुँदा बर्खामा गाडी चल्दैन । पारि डाँडामा सरर गाडी कुदेको हेरेर बस्छौं हामी ।’


त्रिणेवी नगरपालिकाका मेयर रामसिंह रावलले सडकको मर्मत सम्भारका लागि सचेत रहने भन्दै बूढीगण्डकी र मालागाढामा पुल हाल्न स्थानीय सरकारले पहल गर्ने प्रतिबद्धता जनाए । ‘हाम्रो काँधमा आएको जिम्मेवारी पूरा गर्ने बचन दिन्छु,’ उनले भने, ‘मौरेमा गाडी चल्ने पुलको आवश्यकता छ, त्यसको निर्माणका लागि प्रक्रिया अघि बढाउनेछौं ।’ बूढीगण्डकी र मालागाढामा हाल ग्याबियन ओछ्याइएको छ । पैदलयात्री झोलुंगेपुलबाट वारपार गर्छन् ।

बूढीगण्डकी करिडरको साँफे–मार्तडी सडकखण्डमा बाम्का बजार छ । त्यहाँबाट उँधो झरेर बूढीगण्डकी तरेपछि मौरे मन्दिर आइपुग्छ । त्यसको देब्रेतर्फको ठाडै उकालो लाग्दा कैलाशमाडौं पुगिन्छ भने दाहिनेतिर लागेर मालागाढा तरेपछि तोली हुँदै छतारासम्म ट्र्याक खोलिएको छ । पाँच वर्ष लगाएर बाटो खनेपछि अहिले जिप चल्न थालेका छन् । स्थानीयहरू बाम्का आएर किनमेल गर्छन् । धेरै सामान किन्न, स्वास्थोपचार वा अन्य प्रयोजनका लागि अत्तरिया वा धनगढी झर्छन् । सदरमुकाम मार्तडी पुग्न बाम्काबाट पूरा एक दिन लाग्ने स्थानीयले सुनाए ।

२०७० साल असोजबाट निर्माण थालिएको मौरे–कैलाशमाडौंको लम्बाइ १३ किलोमिटर छ भने मौरेदेखि तोली हुँदै छतारा पुग्ने सडकको लम्बाइ १६ किमि छ । यी सडकले त्रिवेणी नगरपालिकाका अधिकांश वडाका बस्तीलाई छुने र्‍यापले जानकारी दिएको छ ।

बेलायत सरकार अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी) का साइमन लुकास र र्‍याप थ्रीका माइकल ग्रिनले त्रिवेणी नरपालिकाका प्रमुख रामसिंह रावललाई सडकको स्वामित्व हस्तान्तरणको प्रमाणपत्र बुझाएका छन् ।

निर्माणका लागि छुट्याइएको ६० करोड ५३ लाख रुपैयाँ शतप्रतिशत खर्च भएको ग्रिनले बताए । लुकासले भने नवनिर्मत बाटोको सम्भार गर्न स्थानीयबासी र स्थानीय सरकारलाई अनुरोध गरे ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?