कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साप्ताहिक सेयर समीक्षा : कारोबार ६७% घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — साप्ताहिक व्यापारमा नेप्से परिसूचकमा खासै परिवर्तन नदेखिए पनि कारोबार रकम उल्लेख्य रूपले घटेको छ । यो साताभर ९९ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भयो । अघिल्लो साताको तुलनामा कारोबार रकम ६७.३९ प्रतिशतले कम हो । गत साता बजारमा ३ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

त्यसो त गत साता पनि सेयर बजार उल्लिखित रूपमा बढेकाले धेरै रकमको कारोबार भएको होइन । उक्त अवधिमा करिब २ अर्ब रुपैयाँ बराबरको एभरेस्ट बैंकको संस्थापक सेयर कारोबार भएको थियो । यहीकारण गत साता कुल साप्ताहिक सेयर कारोबार पनि धेरै देखिएको हो । अघिल्ला साताहरूमा औसत १ देखि सवा १ अर्ब रुपैयाँ बराबरको कारोबार हुँदै आएकामा गत साता एक्कासि बढेर ३ अर्ब रुपैयाँ पुगेको थियो । यो साताको कारोबार अन्य साताको औसतभन्दा पनि कम हो ।

गएको साता पाँच कारोबार दिनमा दुई दिन नेप्से बढ्यो र तीन दिन घट्यो । घट्नेभन्दा बढ्ने दिन कम भए मंगलबार नेप्से उच्च अंकले बढेकाले समग्र परिसूचक ऋणात्मक हुन पाएन । उक्त अवधिमा नेप्से परिसूचक ०.०२ प्रतिशतले सकारात्मक देखियो । साताको पहिलो दिन (आइतबार) को तुलनामा भने नेप्से ३.३५ अंकले बढ्यो ।

साताभरको कुल कारोबारमा बैंकिङ समूहले सबैभन्दा बढी ४५.७६ प्रतिशत हिस्सा ओगट्यो । उक्त अवधिमा भएको कुल ९९ करोड रुपैयाँ बराबरको कारोबारमध्ये वाणिज्य बैंकहरूको मात्र ४५ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भए । बैंक पछि धेरै कारोबार हुनेको दोस्रोमा बिमा समूह रह्यो ।

उक्त अविधको कुल कारोबारमा बिमा समूहको हिस्सा साढे १५ प्रतिशत रह्यो । जसमध्ये जीवन बिमाको ६.७२ प्रतिशत र निर्जीवन बिमाको हिस्सा ७.८७ प्रतिशत रहेको नेप्सेले जनाएको छ । त्यसपछि क्रमशः लघुवित्त, जलविद्युत् र संस्थापक सेयरको रह्यो ।

यो साता किसान माइक्रोफाइनान्स वित्तीय संस्था र सेन्चुरी कमर्सियल बैंकको हकप्रद सेयर सूचीकृत भए । यसैगरी साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रोपावर र एनआईसी एसिया बैंकको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त अवधिमा घलेम्दी हाइड्रोपावरको प्राथमिक सेयर सूचीकृत भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?