१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एकै गाउँबाट १० करोडको अदुवा

डिल्लीराम खतिवडा

उदयपुर — बाँदरको उपद्रोबाट दिक्क भएपछि सुरु भएको अदुवा खेती हाल व्यावसायिक बन्न पुगेको छ । कटारी नगरपालिका ११ गोठडाँडाका किसानले अदुवा खेतीलाई आम्दानीको दरो स्रोत बनाएका हुन् । 

गोठडाँडा र आसपासका किसानले बाँदर आतंक झेल्न नसक्दा ५/७ वर्षयता कोदो, मकै र धानको विकल्पमा अदुवा खेती गर्दै आएका छन् । कोदो, मकै, धान र आलु खेती बाँदरबाट जोगाउन समस्या भएपछि किसानले विकल्पमा अदुवा खेती रोजेका थिए ।

स्थानीय अगुवा किसान मीनबहादुर बस्नेतले भने, ‘सुरुमा बाँदरबाट जोगिने भएपछि अदुवा खेती गरियो, बिस्तारै त्यही अदुवा किसानको व्यावसायिक खेती बन्यो ।’


यो वर्ष (असोजयता) को अहिलेसम्म गहुँबारी, गोठडाँडा र आसपासका क्षेत्रबाट मात्रै १ हजार २ सय ५० टन अदुवा निकासी भएको छ । हजार टनको स्थानीयस्तरमा १० करोड रुपैयाँ हुने बस्नेतले बताए । किसानले तयारी अदुवा बारीबाटै प्रतिकिलोग्राम ८० रुपैयाँका दरले बिक्री गरिरहेका छन् । बस्नेत त्यस क्षेत्रको अदुवा संकलन गरेर कटारीका व्यापारीलाई बिक्री गर्ने गर्छन् ।


किसानले सुरुमा बाँदरबाट हैरान भएपछि अन्य खेती छाडेर अदुवा खेती गरेको गोठडाँडाका स्थानीय बासिन्दासमेत रहेका कटारी नगरपालिका ११ का वडाध्यक्ष दीपक बुढाथोकीले बताए । ‘अहिले पनि अन्य खेती गर्न सकिँदैन,’ उनले भने, ‘सुन्तलासमेत बाँदरले खान थालेपछि समस्या छ ।’ अदुवा खेती भने बाँदरले नछुने भएकाले पछिल्लो समय किसान व्यावसायिक रूपमा खेती गर्न थालेको उनले बताए ।


‘अदुवा बिक्री गरेर यस क्षेत्रबाट न्यूनतम पनि २ लाख रुपैयाँ सामान्य किसानले आम्दानी गरेका छन्,’ वडाध्यक्ष बुढाथोकीले भने, ‘त्यसैले पनि पछिल्लो समय अदुवा खेतीमा किसान आकर्षित हुने गरेका छन् ।’ थोरै श्रम, लगानी न्यून तर आम्दानी धेरै हुने भएकाले किसानको आकर्षण बढेको उनले बताए ।


अघिल्ला वर्षहरूमा अदुवाले राम्रो आम्दानी दिन सकिरहेको थिएन । गएको दुई वर्ष प्रतिकिलो ५ रुपैयाँमा समेत बिक्री नहुँदा बारीमै अदुवा कुहिने गरेको थियो । चार वर्षअघि न्यूनतम १ लाखदेखि बढीमा १० लाख रुपैयाँसम्म घरैपिच्छे आम्दानी गर्न सफल भएपछि त्यहाँका किसानले परम्परागत अन्न बालीको सट्टा पूरै गाउँभरि नै अदुवा खेती गरेको हर्देनीका किसान नरबहादुर राउतले बताए ।


‘व्यावसायिक खेती गरेपछि पछिल्लो दुई वर्ष अदुवाले राम्रो मूल्य पाएन,’ किसान नरबहादुरले झने, ‘यो वर्ष र दुई वर्षअघिसम्म अदुवा बिक्रीबाट राम्रो आम्दानी गरियो ।’ अदुवा बित्रीबाटै किसान नरबहादुरले कटारी बजारमा दुईतले पक्की घर बनाएका छन् । त्यसैगरी सदरमुकाम गाईघाट बजारमा समेत १५ लाख मूल्यको घडेरी किनेका छन् । यो मौससमा माक्रै अदुवा बित्रीबाट नरबहादुरले १३ लाख रुपैयाँ आम्दानी गरेको बताए ।


अदुवाको मूल्य बढेसँगै त्यस क्षेत्रमा जग्गाको मूल्यसमेत बढेको छ । अघिल्लो वर्षसम्म प्रतिरोपनी २० हजार रुपैयाँको मूल्यको जग्गा अदुवाको मूल्य वृद्धिसँगै हवात्तै बढेर अहिले पाखापखेराको जमिनसमेत प्रतिरोपनी ५/७ लाख रुपैयाँमा बिक्री हुने स्थानीयले बताए ।


कटारी क्षेत्रको अदुवा भारतको नक्सलबारी हुदै भारतमा निर्यात गर्ने गरेको व्यावसायी विलटेश्वर साहले बताए । ‘अदुवा उत्पादन भए पनि गुणस्तरीय नहुँदा निर्यातमा समस्या छ,’ व्यवसायी साहले भने, ‘किसानले राम्रो मूल्य लिए पनि गुणस्तरीय अदुवा दिन नसक्दा भन्सार प्रक्रिया झन्झटिलो छ ।’ भारतीय भन्सार नाकाबाट धुलाई नगरेको (नपखालेको) अदुवा पास नहुँदा समस्या भएको उनले बताए ।


साहका अनुसार कटारी क्षेत्रमा उत्पादित अदुवा भारतसँगै काठमाडौं, पोखरा र स्थानीय बजारमा बिक्री हुने गरेको छ । भारत र स्थानीय बजारमा राम्रो माग भएको नै किसानले यो वर्ष १० करोडभन्दा बढीको अदुवा बिक्री गरिसकेको उनले बताए । अदुवा उत्पादक किसानले भने बाँदरबाट अन्न जोगाउन अदुवा खेती गरेजस्तै मात्र गरेर उत्पादनमा ध्यान दिन नसक्दा आगामी दिन समस्या हुन सक्ने देखिन्छ । त्यसका लागि किसानले बेलैमा सोच्नुपर्ने व्यवसायी बताउँछन् ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?