कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अमेरिका र चीन वार्ता नजिक

एजेन्सी

अमेरिका — राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीन व्यापार सम्झौताको नजिकतिर पुगेको बताएका छन् । बेइजिङसँगको उक्त सम्झौताकै एक अंशका रूपमा चिनियाँ टेलिकम कम्पनी हुवावेले झेल्दै आएको आपराधिक अभियोगको मुद्दासमेत सुल्झिन सक्ने उनको भनाइ छ । 

आफ्ना उच्च सल्लाहकारहरूले घेरिएका ट्रम्पले शुक्रबार ओभल अफिसमा चिनियाँ अतिथिसँग भेट गरेका थिए । त्यो बेला उनले वार्ता साताभर लम्बिने र चीनसँगको सम्झौताका लागि ‘धेरै धेरै राम्रो अवसर’ रहेको अभिव्यक्ति दिएका थिए । उनले चिनियाँ समकक्षी सी जिनपिङसँग ‘अन्तिम बुँदाको कामका लागि’ व्यक्तिगत भेटको अपेक्षा गरेको समेत बताएका थिए । उनीहरूले राष्ट्रपतिको रिसोर्ट ‘मारा लागो’ मा सम्भवतः मार्चमा भेट्नेछन् ।


चीनको व्यापार अवरोध र अमेरिकी कम्पनीलाई गरिने व्यवहारप्रति ट्रम्प प्रशासनको चिन्तालाई वार्तामार्फत टुंगो लगाउने लक्ष्य राखिएको छ । चीनले त्यहाँ रहेका अमेरिकी कम्पनीलाई तिनका महत्त्वपूर्ण प्रविधि हस्तान्तरणका लागि दबाब दिएको अमेरिकाको आरोप छ । ट्रम्पले व्यापार वार्तासँग राष्ट्रिय सुरक्षाको मुद्दालाई पनि जोड्ने खालको अभिव्यक्ति दिएपछि उनका कानुन कार्यान्वयन तथा सूचना अधिकारीले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।


न्याय विभागले हुवावेलाई व्यापार रहस्य चुहावट गरेको आरोप लगाएको थियो । उक्त आरोप फिर्ता हुन सक्ला कि भन्ने पत्रकारको जिज्ञासामा ट्रम्पले झनेका छन्, ‘हामी यसबारे अमेरिकी अधिवक्ता र महान्यायाधिवत्तासँग छलफल गर्नेछौं । त्यसबारे निर्णय गरिनेछ ।’


जनवरीमा अमेरिकाले हुवावे र यसका प्रमुख वित्तीय अधिकृत मेङ वाङझौविरुद्ध व्यापार रहस्य चोरेको, अनुसन्धानमा अवरोध गरेको र इरानमाथिको आर्थिक प्रतिबन्धमा इभेड गरेको आरोप लगाएको थियो । मेङलाई अमेरिकी आदेशअनुसार गत वर्ष क्यानडामा गिरफ्तार गरिएको थियो । व्यापार सम्झौताका लागि आवश्यक परेको खण्डमा ट्रम्पले मेङको मुद्दामा पक्कै पनि हस्तक्षेप गर्ने बताएका छन् ।


हुवावेलाई छुट दिँदा प्रशासन भने अप्ठ्यारो अवस्थामा पुग्ने देखिन्छ । सुरक्षा खतराका कारण अमेरिकासहित विभिन्न देशले फाइभजी नेटवर्कका लागि कम्पनीका उपकरणमा प्रतिबन्ध लगाउने विषयलाई लिएर अमेरिकी प्रशासनले विभिन्न देशसँग हातेमालो गरिरहेको छ । यस्तोमा हुवावेविरुद्धको मुद्दा खारेज गर्दा प्रशासन अनौठो मोडमा पुग्ने देखिन्छ । प्रशासनले राष्ट्रपतिको हस्ताक्षरका लागि ‘कार्यकारी निर्देशन’ तयार पारिरहेको छ, जसमा अमेरिकी कम्पनीले हुवावेसहित चिनियाँ कम्पनीले निर्माण गरेको उपकरण प्रयोग गर्न नपाउने नियम छ । चीनले यसको आलोचना गर्दै आएको छ ।


‘व्यापार सम्झौतामा यो विषय राख्न पनि सक्छौं नराख्न पनि,’ ट्रम्पले भने, ‘यसबारे कुरा गर्नुपर्ने अमेरिकी महान्यायाधिवक्ताको संयोजकत्वमा मात्रै त्यसो गर्नेछौं ।’ वासिङ्टनमा भएको यो हप्ताको बैठकपछि अमेरिका र चीनको छलफल सम्झौताका विभिन्न क्षेत्रमा पुगेको र चिनियाँ आयातमा लगाउने भनिएको कर वृद्धि रद्द हुन सक्ने उनले बताएका छन् । मार्च १ को अन्तिम मितितर्फ दुवै देश दौडिरहेका छन् । त्यो बेलासम्म विवाद नसुल्झिए ट्रम्पले २ सय खर्ब लडरको चिनियाँ आयातमा १० बाट २५ प्रतिशत कर वृद्धि गर्ने चेतावनी दिएका छन् ।


रोबर्ट लाइटथाइजरसहित ट्रम्पका सल्लाहकारहरू भने अमेरिका–चीनबीच अझै पनि ‘धेरै ठूला अड्चन’ तोड्न बाँकी रहेको भन्दै सावधानी अपनाउन सल्लाह दिइरहेका छन् । ‘उत्सव मनाउनु अहिले निकै हतार हुन्छ,’ कमर्स सेक्रेटरी विलवर रोजले भनेका छन् । पर्याप्त अप्ठ्यरा बाँकी रहे पनि दुई पक्षले ४८ घण्टाभित्र वार्ता लम्बाउन सहमति गरेका छन् । चिनियाँ मुद्राको स्थिरताका लागि ट्रम्पले भन्ने गरेको ‘अन्तिम सम्झौता’ को निटक पुगेको अमेरिकी अधिकारीले जनाएका छन् । सम्झौताको व्यहोरा भने प्रस्ट पारिएको छैन ।


चीनले आफ्नो मुद्रा कमजोर पारेर भन्सार कर सरल गर्न सक्नेतर्फ अमेरिका सचेत देखिन्छ । यसो गरिएमा चिनियाँ सामानको मूल्य सस्तो पर्न आउँछ । केही अन्तर्राष्ट्रिय वित्तीय विज्ञले भने यस्तो सम्झौताको उपाय व्यंग्यात्मक भएको बताएका छन् । अमेरिकाले वर्षौंदेखि चीनलाई आफ्नो मुद्रा स्वतन्त्रतापूर्वक प्रवाह गर्न दिएकाले त्यस्तो नहुने विज्ञको तर्क छ ।


चिनियाँ प्रतिनिधिले ट्रम्पलाई सीको चिठी हस्तान्तरण गरेका थिए । सीका प्रमुख दूत लिउ हिले दुई देशबीचको सम्झौता सम्भावित रहेको बताएका छन् । बिहीबार र शुक्रबारको बैठकमा दुई देशले केही एमओयूको मस्यौदा तयार पारेका थिए ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?