कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भारत-पाक तनावले नेपाल आउने उडान प्रभावित

पाकिस्तानले आफ्नो आकाशमा छिर्न प्रतिबन्ध लगाएपछि नेपाल आउने जहाजले ४५ मिनेट बढी उडान भर्नुपरेको छ 
घनश्याम खडका

काठमाडौँ — जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको छ । 

भारत-पाक तनावले नेपाल आउने उडान प्रभावित

'पाकिस्तानको आकाश प्रतिबन्ध भएपछि कतार, दुबईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदलिएको छ,' प्राधिकरणका एक अधिकारीले भने, 'नयाँ रुटअनुसार खाडी मुलुकबाट उडेका जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेका छन् ।' साबिक उडान तालिकाअनुसार खाडी मुलुकबाट नेपालका लागि उड्ने जहाज पाकिस्तान र अफगानिस्तानको पठार क्षेत्र हुँदै सिधै नयाँदिल्लीको आकाशमार्ग प्रयोग गरी त्रिभुवन विमानस्थल अवतरण गर्थे ।


'त्यो नेपालका लागि सबैभन्दा छिटो र मितव्ययी बाटो हो,' ती अधिकारीले भने, 'पाकिस्तानले भारत आउने जहाजलाई आफ्नो आकाशमा छिर्न नदिएपछि त्यो रुटबाट नेपाल आउने जहाज उड्न पाइरहेका छैनन्, नयाँ रुटले यात्रुलाई बढी समय, विमान कम्पनीलाई ज्यादा खर्च र प्रशासनिक भार थप गरिदिएको छ ।' प्राधिकरणका अनुसार यसरी महाराष्ट्र हुँदै नयाँ मार्गबाट नेपाल आउने जहाजले ४५ मिनेट बढी उडान भर्नुपर्छ ।


'४५ मिनेट बढी उडाउँदा जहाजको खर्च पनि बढ्ने नै भयो, यसबापत यात्रुसँग बढी भाडा लिन नपाइने हुनाले एयरलाइन्सहरूलाई अप्ठेरो परेको छ,' ती अधिकारीले भने, 'भारतीय आकाशमा जहाजको चाप बढी परेकाले विमानहरूले समयमै उडान भर्न र बाटो पाउन पनि मुस्किल पर्दै गएको छ ।'


यसरी रुट परिवर्तन गर्नुपर्दा आएको कठिनाइका कारण टर्किस एयरलाइन्सले काठमाडौंबाट तोकिएको मंगलबारको उडान रद्द गरेको थियो भने त्यसका कारण सयौं यात्रुले सास्ती पाएका थिए ।


प्राधिकणका अनुसार पाकिस्तानी प्रतिबन्धका कारण नेपालको कुल अन्तर्राष्ट्रिय उडानको ५० प्रतिशत प्रभावित भएका छन् । औसतमा दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान नेपालमा हुने गरेको छ । यो अवस्था लम्बिरहे नेपालको अन्तर्राष्ट्रिय हवाईसेवामा समस्या आउने अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार घुमाउरो बाटोबाट उही पैसामा उड्नु पर्दा एयरलाइन्सहरू उडान रद्द गर्ने वा भाडा बढाउने अवस्थामा पुग्नेछन् । 'उडान रद्द गरे त्यो नेपालका लागि राम्रो हुँदैन, भाडा बढाए यसले नेपालको पर्यटन क्षेत्रलाई ठूलो असर पर्छ,' त्रिभुवन विमानस्थलका एक अधिकारीले भने ।


उडान रुट परिवर्तन हुँदा थाइल्यान्डको राजधानी बैंककमा हजारौं यात्रु अलपत्र परेका छन् । थाई एयरलाइन्सले आफ्ना ३० वटा उडान रद्द भएको जनाएको छ । त्यसमध्ये दुई उडान पाकिस्तानी आकाशमा प्रवेश गरेलगत्तै बैंकक फिर्ता गरिएको एयरलाइन्सले जनाएको छ । एयर इन्डिया, जेट एयरलाइन्स, कतार र सिंगापुर एयरलाइन्सका उडान सबैभन्दा बढी प्रभावित भएका छन् ।

प्रकाशित : फाल्गुन १६, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?