१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हुवावेकी मेङको सुनुवाइ हुने

एजेन्सी

ओटावा — क्यानडा सरकारले हुवावे टेलिकम्युनिकेसनकी प्रमुख वित्तीय अधिकारी मेङ वाङझाउलाई अमेरिका सुपुर्दगी गर्ने विषयमा सुनुवाइ प्रक्रिया चलाउन अनुमति दिएको छ । उनको सुपुर्दगीबारे क्यानडा सरकारले सुनुवाइका लागि अनुमति दिने अनुमान गरिएको थियो ।

हुवावेकी मेङको सुनुवाइ हुने

यद्यपि उनलाई अमेरिकाको जिम्मा लागाउनेबारे अदालतको अन्तिम फैसला आउनुपर्नेछ । हुवावेकी संस्थापककी छोरीसमेत रहेकी मेङले इरानमाथिको प्रतिबन्ध उल्लंघन गरेको अरोपलाई लिएर मुद्दा झेल्नैपर्ने अमेरिकी दाबी छ । उनलाई यही बुधबार भ्यानकुभरस्थित अदालतमा पेस गरिने अधिकारीहरूले जनाएका छन् ।


गत डिसेम्बरमा अमेरिकाको अनुरोधमा मेङ क्यानडामा पक्राउ परेकी थिइन् । उनीविरुद्धको मुद्दालाई चीनले क्यानडा र अमेरिकाबीचको ‘द्विपक्षीय सुपुर्दगी सन्धिको दुरुपयोग’ भनेको थियो । सुपुर्दगी मुद्दाको सुनुवाइलाई अनुमति दिनु ‘राजनीतिक घटना’ भएको चिनियाँ विदेशमन्त्री लु काङले बताएका छन् । उनका अनुसार चीनले सुपुदर्गी प्रक्रियामाथि ‘कडा असहमति’ जनाउँदै ‘दृढ प्रतिरोध’ गर्ने बताएको छ । मेङको मुद्दाले चीन, अमेरिका र क्यानडाबीचको सम्बन्धमा कटुता ल्याएको छ ।


गत जुनमा मेङको सुपुदर्गीका लागि अनुरोधसहित अमेरिकी अधिकारीले विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता हुवावेविरुद्ध करिब दुई दर्जन मुद्दा दायर गरेका थिए । उनीमाथि बैंकिङ कसुर, न्यायमाथि अवरोध र प्रविधि चोरीको आरोप लगाइएको छ । हुवावे र मेङ दुवैले आरोपको प्रतिवाद गर्दै आएका छन् । क्यानडेली अदालतमा सुपुदर्गी मुद्दाको सुनुवाइ गर्ने/नगर्नेबारे क्यानडाको न्याय विभागले गत शुक्रबारसम्ममा निर्णय सुनाउनुपर्ने थियो । उक्त निर्णय अमेरिका–क्यानडाबीचको सुपुर्दगी सन्धिमा आधारित थियो ।


‘सुपुदर्गी सुनुवाइ ट्रायल होइन,’ न्याय विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ, ‘न त यसले कसुर वा बेकसुरको फैसला पेस गर्न सक्छ ।’ विभागले सोही विज्ञप्तिमार्फत मेङको मुद्दाको सुनुवाइका लागि अधिकार दिएको उद्घोष गरेको थियो । ‘यदि कुनै व्यक्ति आपराधिक कसुरमा थुनाका लागि क्यानडाले अन्य कुनै देशलाई पेस गर्छ भने ऊक्त व्यत्तिले सोही देशमा मुद्दा झेल्नुपर्नेछ,’ विभागको भनाइ छ ।


मेङका वकिलले भने ‘अमेरिकी अभियोगको राजनीतिक प्रकृतिको बलमा’ र अमेरिकी राष्ट्रपतिको प्रतिक्रियाको अनुसरण गर्दै लिइएको निर्णयप्रति आफूहरू असन्तुष्ट रहेको बताएका छन् । राष्ट्रिय सुरक्षाकको हित र चीनसँगको व्यापार सम्झौतालाई सहयोग पुग्छ भने मेङविरुद्धको मुद्दामा आफूले हस्तक्षेप गर्ने डोनाल्ड ट्रम्पले पटकपटक बताउँदै आएका छन् । मेङ हाल भानकभरमा छिन् । तारिखमा रहेकी उनी अदालतको प्रक्रिया चलुञ्जेल सोही अवस्थामा रहनेछिन् । मार्च ६ मा उनी ब्रिटिस कोलम्बिया सुप्रिम कोर्टमा हाजिर हुनुपर्नेछ, जहाँ उनको मुद्दाले सुनुवाइका लागि अनुमति पाउने/नपाउनेबारे अन्तिम निर्णय सुनाइनेछ ।


अर्को सुनुवाइको मिति सोही बेला तोकिनेछ । सुपुदर्गी सुनुवाइका क्रममा पेस गरिएका प्रमाण चित्तबुझदो भए मात्रै उनले सुपुदर्गीका लागि अनुमति पाउनेछिन् । उनलाई अमेरिका समर्पण गर्ने/नगर्नेबारे न्यायमन्त्रीले निर्णय सुनाउनेछन् । यस अवधिभर मेङलाई पुनरावेदनका लागि प्रसस्त अवसर रहे पनि सुपुदर्गी मुद्दाहरू दशकौंसम्म तन्किएका उदाहरण उत्तिकै भएकाले चिनियाँ पक्ष उत्साहित छैन । उनको पक्राउले चिनियाँ अधिकारीलाई क्रोधित तुल्याएको थियो । उनले कुनै नियम उल्लंघन नगरेको तिनले बताउँदै

आएका छन् ।


मेङको मुद्दाले चीन र क्यानडाबीच कूटनीतिक तनाव उत्पन्न गराएको छ । क्यानडाले आफू विधिको शासन अंगीकार गर्दै आएको दाबी गरे पनि चीनलाई सन्तुष्ट पार्न सकेको छैन । मेङको पक्राउपछि दुई क्यानडेली नागरिक समातिएको अनुमान लगाइएको छ । राष्ट्रिय सुरक्षामा खलल पुर्‍याएको आरोपमा गत डिसेम्बरमा पूर्वकूटनीतिज्ञ माइकल कोभरिग र व्यवसायी माइकल स्पाभोरलाई चीनले पकडमा राखेको थियो ।


हुवावेले अमेरिका र ग्लोबल बैंकलाई बहकाएको अमेरिकाको आरोप छ । इरानसँग व्यापार गर्नेबारे हुवावे डिभाइस यूएसए र स्काइकम टेक नामक आफ्ना दुई सहायक कम्पनीको सम्बन्धमा हुवावेले आफूलाई धोका दिएको अमेरिकाको भनाइ छ ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?