कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चार दिनमा सवा ९ अर्बले घट्यो बजार

कान्तिपुर संवाददाता

काठमाडौँ — गएको चार दिनमा मात्र सेयर बजारको आकार करिब सवा ९ अर्ब रुपैयाँले खुम्चिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बढ्न नसकेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि घटेको हो । यसको अर्थ लगानीकर्ताको सम्पत्तिको मूल्य घट्नु हो ।

चार दिनमा सवा ९ अर्बले घट्यो बजार

बजारमा सूचीकृत कुल सेयर संख्यालाई तिनको वर्तमान बजार मूल्यले गुणा गरी पुँजीकरण निकालिन्छ । यसकारण पुँजीकरण बढदा लगानीकर्ताको सम्पत्तिको आकार बढछ भने घट्दा घट्छ । यसकारण अहिले बजार पुँजीकरण घटेकाले लगानीकर्ताको सम्पत्ति पनि घट्यो भन्ने अर्थमा विश्लेषण गरिएको हो ।


गत बिहीबारसम्म नेपाली सेयर बजारको आकार १३ खर्ब ४९ अर्ब रुपैयाँ छ । गत साताको तुलनामा यो साता यस्तो पुँजीकरण सवा ९ अर्ब रुपैयाँले कम हो । अघिल्लो बिहीबार यो १३ खर्ब ५८ अर्ब रुपैयाँ थियो ।


यो साता उत्पादन तथा प्रशोधनबाहेक सबै समूहअन्तर्गतका कम्पनीका लगानीकर्ताले गुमाए । जसमध्ये पनि होटल र बिमा समूहका लगानीकर्ताको सम्पत्ति उच्च दरले घट्यो । त्यसपछि लघुवित्त, बैंकिङ र विकास बैंक समूहको गिरावट दर उच्च रह्यो । यद्यपि उत्पादन तथा प्रशोधन समूहको परिसूचक २५.३२ अंकले बढ्यो ।


यो साता नेप्से परिसूचक र कारोबार रकम पनि घट्यो । उक्त अवधिमा साप्ताहिक नेप्से परिसूचक ०.६८ प्रतिशतले घटेर १ हजार १ सय ५.५३ विन्दुमा ओर्लियो । सोही अवधिमा कारोबार रकममा सवा १९ प्रतिशतले कमी आयो । यो साता सेयर बजारमा करिब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।


साताभरको कुल कारोबारमा बैंकिङ समूहले सबैभन्दा बढी ४२.६८ प्रतिशत हिस्सा ओगट्यो । उक्त अवधिमा भएको कुल ८० करोड रुपैयाँ बराबरको कारोबारमध्ये वाणिज्य बैंकहरूको मात्र ३४ करोड रुपैयाँको सेयर किनबेच भए । बैंकपछि धेरै कारोबार हुनेको दोस्रोमा बिमा समूह रह्यो । उक्त अविधको कुल कारोबारमा बिमा समूहको हिस्सा साढे १९ प्रतिशत रह्यो । जसमध्ये जीवन बिमाको ८.७१ प्रतिशत र निर्जीवन बिमाको हिस्सा १०.३१ प्रतिशत रहेको नेप्सेले जनाएको छ । त्यसपछि क्रमशः लघुवित्त, जलविद्युत् र संस्थापक सेयरको रह्यो ।


यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन । उक्त अवधिमा एभरेस्ट इन्स्योरेन्सको १४ लाख कित्ता हकप्रद सेयर सूचीकृत भए ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?