२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

चिया खेती थेग्न गाह्रो : कृषक

विप्लव भट्टराई

इलाम — यो पटक हिउँदमा पर्याप्त वर्षा भएकाले अघिल्ला वर्षभन्दा छिटो चिया टिपाइ हुने निश्चित छ । हिउँदभर काँटछाँट र सरसफाइमा रहेका कृषक कात्तिकसम्म चिया टिप्न र कारखानासम्म पुर्‍याउन व्यस्त रहन्छन् ।

चिया खेती थेग्न गाह्रो : कृषक

घरको आर्थिक गर्जो टार्ने विकल्प चियाको चटारोमा रुमलिने कृषकको मुहारमा खुसी भने छैन । चियाको राजधानी भनेर चिनिने इलामका कृषक भने उत्पादनअनुसारको मूल्य नपाउनेसहित समस्याका चाङ सुनाउनमा पनि उत्तिकै समय खर्च गरिरहेका छन् ।


कृषिसम्बन्धी सरोकार राख्ने कोही जिल्ला भित्रिए उनीहरूले समस्या सुनाउन थालिहाल्छन् । उत्पादनले राम्रो मूल्य नपाउने, कर्जा नपाइने जस्ता समस्याले बगान सञ्चालनमा नै कठिनाइ हुने गरेको कृषकको बुझाइ छ । उद्यमीहरूले भारतले सीएफएल परीक्षणका नाम थप झन्झट दिएको समस्यासमेत पोख्ने गरेका छन् ।


केही समयअघि सूर्योदय नगरपालिकामा आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग पनि कृषकले यस्तै गुनासो गरे । चिया रोप्दादेखि बजारमा पुर्‍याउँदासम्म भोगेका समस्याहरू पालैपालो सुनाएका कृषकको निष्कर्ष थियो, राज्यले नै चिया क्षेत्रलाई सम्बोधान गर्न सकेन । चिया रोप्ने बेला सरकारले हौस्याएको सम्झँदै स्थानीय मानकुमार लेप्चाले अहिले याद नै नगरेको बताए । ‘चियामा मरिहत्ते गर्ने कृषकले लोनसमेत पाउन सकेका छैनन्,’ उनले थपे ।


मुख्यमन्त्री राईले चिया खेती विस्तारसँगै दिगो आम्दानीको स्रोत बनाउन कृयाशील रहेको बताए । ‘अर्गानिक प्रमाणीकरण, कर्जा व्यवस्थापन र चिया खेतीको विकासका लागि योजनाबद्ध काम गर्नेछौं,’ उनले भने । अन्तर्राष्ट्रिय मुद्रा आर्जनको प्रमुख स्रोत मानिएको चियालाई विश्व बजारमा पुर्‍याउन नसकेकै कारण यस्तो समस्या आउने गरेको अधिकांश कृषकको बुझाइ छ । ‘कृषकस्तरबाट सिधा सम्पर्क गर्ने कुरा भएन,’ फिक्कलका सुजन नेपालले भने, ‘यसका लागि राज्यले ठोस विधि र प्रक्रिया बनाएर बजारीकरण गर्नुपर्छ ।’


वर्षभरि चियाबारीमा नै सिंगो परिवार रुमलिँदा पनि खान लाउन नै धौधौ भएको कृषकको भनाइ छ । ठूला चिया कारखानाले हरियो चियापत्तीको उचित मूल्य नदिएको भन्दै कृषकस्तरबाट साना र मझौला चिया कारखाना खुल्ने क्रम पनि बढ्दो छ । धेरै यस्ता चिया कारखानाको पहुँच ठूलो बजारमा नभएका कारण स्थानीय बजारमा नै चित्त बझाउनुपर्ने बाध्यता छ ।


पछिल्लो चियाको अवस्थाले कृषक मात्र हैन उद्योगी पनि खुसी छैनन् । युरोपियनलगायत पश्चिमी मुलुकमा चिया निर्यात गर्दै आएका गोर्खा टी स्टेटका सञ्चलक उदय चापागाईले सरकारको भरपर्दो चिया नीति नआएसम्म चियाको अवस्था नसुध्रने बताए । ‘अर्गानिक चिया उत्पादन नगरी अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउन सकिँदैन,’ उनले भने, ‘कृषकस्तरबाट मात्र अर्गानिक बनाउने अभियान सफल हुन सक्दैन ।’


पुराना चिया उद्योगी पुनम राईले पनि इलामलाई चिया क्षेत्र घोषणा गरेर यावत् समस्या समाधान गर्दै लैजानुपर्ने बताए । किसानहरूले अर्गानिक खेती सुरु गर्दा लगानी घट्ने, अर्गानिक प्रमाणीकरण साना किसान र उद्यमीले गर्न नसक्ने बताउँदै आएका छन् । केही कृषकले अर्गानिक प्रमाणीकरण गरे पनि निरन्तरता दिन पनि उत्तिकै कठिनाइ रहेको छ ।


धेरै चिया उत्पादन हुने जिल्लाकै मुख्य क्षेत्रका प्रदेश सभासद काजीमान कागतेले कारखाना बढेपछि उद्योगले हरियो चियापत्ती पाउनै छाडेको बताए । सूर्योदय नगरपालिकाले चियाको गुणस्तर कायम गर्दै कृषकलाई उचित मूल्य दिन अघिल्लो आर्थिक वर्षदेखि नै कार्यविधि ल्याएको छ ।


कार्यविधि लागू गरेसँगै चियाको दिगो विकासका लागि चरणबद्ध रूपमा कार्यक्रम अघि सारेकाले कृषकका धेरै समस्या समाधान हुने सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?