कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

साना उद्योगमा विदेशी लगानी खुला नगरौं : निजी क्षेत्र

सजना बराल

काठमाडौँ — साना तथा घरेलु उद्योगमा पनि विदेशी लगानी खुला गर्ने सरकारको तयारीप्रति निजी क्षेत्र असन्तुष्ट बनेको छ । संघीय संसद्मा हालै दर्ता भएको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ मा साना तथा मझौला उद्योगमा विदेशी लगानी खुला गर्न सक्ने प्रावधान छ ।

साना उद्योगमा विदेशी लगानी खुला नगरौं : निजी क्षेत्र

विदेशी लगानी गर्न नपाइने उद्योगको सूचीमा साना तथा घरेलु उद्योगहरू समावेश गरिएको छैन । हालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ अनुसार साना तथा घरेलु उद्योगमा विदेशी लगानी गर्न पाइँदैन । यसलाई निरन्तरता दिनुपर्ने आफूहरूको सुझाव विपरीत हाल विधेयक ल्याउन लागिएको भन्दै उद्योगीले सरकारलाई पत्र पठाई असन्तुष्टि जनाएका हुन् ।


विधेयकको मस्यौदामा लघु उद्यम र घरेलु उद्योग तथा कृषि, प्राथमिक उत्पादनका क्षेत्र एवं मत्स्यपालन वा मौरीपालन उद्योगलाई विदेशी लगानी गर्न नपाउने सूचीबाट हटाइएको निजी क्षेत्रले जनाएको छ ।


विधेयकको दफा ३ को उपदफा २ सँग सम्बन्धित ‘विदेशी लगानी खुला नगरिएका उद्योग तथा व्यवसाय’ को अनुसूचीमा लघु उद्यम तथा घरेलु उद्योग नपर्नुको अर्थ यी क्षेत्रमा विदेशी लगानी सम्भव छ भन्ने रहेको उद्योगीले बताए । यसलाई लिएर उनीहरू निरास छन् ।

‘हामीले कानुन संशोधनअघि नै सरकारलाई आवश्यक सुझाव दिएका थियौं,’ नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने, ‘यस्तो प्रावधानले देशलाई बेफाइदा गर्छ, आफैं काम गरेर खाने वातावरण रहँदैन, उत्पादित वस्तुको मूल्य अभिवृद्धिमा फरक पर्छ भनेका थियौं । त्यस कारण यसमा पुनर्विचार गर्न फेरि पनि हाम्रो आग्रह छ ।’ उनका अनुसार साना तथा मझौला उद्योगमा विदेशी लगानी खुला गर्दा कतिपय अफ्रिकी मुलुक ठूलो समस्यामा परेका छन् । यसबाट पाठ सिक्नुपर्ने उनले बताए ।


नेपाल उद्योग तथा वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यो विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखेकी छन् । आफूहरूले दिएको सुझाव विपरीत गएकाले त्यसमा ध्यानाकर्षण र परिमार्जनका लागि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई पत्र पठाएको राणाले बताइन् । ‘प्राथमिक उत्पादनका क्षेत्र र घरेलु उद्योगहरू आत्मनिर्भर छन्,’ उनले भनिन्, ‘यिनमा विदेशी लगानी खुला गर्दा हाम्रा उद्योग धरापमा पर्छन् । सरकारले आत्मनिर्भर भइसकेका स्वदेशी उद्योगलाई सुरक्षा दिनुपर्छ । ती फस्टाउने वातावरण बनाउनुपर्छ ।’


राणाका अनुसार सरकारले साना उद्योग लक्षित प्रविधि भित्र्याउन सक्छ तर यिनमा लगानी ल्याउनु आवश्यक छैन । माछापालन वा डेरी उद्योगजस्ता क्षेत्रमा स्वदेशी लगानी नै पर्याप्त भएको बताइन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले विदेशी लगानी खुला गरिए आफूहरू विस्थापित हुने चिन्ता व्यक्त गरे । ‘हाम्रो स्रोत/साधन नभएको खण्डमा विदेशी लगानी आउनु ठीक छ,’ उनले भने, ‘माछा, कुखुरापालनजस्ता सामान्य उद्योगमा हामी आफैं गर्न सक्छौं । ठूलो लगानी आउँदा लघु, घरेलु र मझौला व्यवसायीलाई अप्ठ्यारो पर्छ ।’


परिसंघका शर्माले भने भैंसी र मौरीपालनले गाउँघरका साना तथा मझौला उद्योगीलाई सहयोग गर्दै आएको र रोजगारी सिर्जनामा सघाउ पुर्‍याउने बताए । ‘विदेशी लगानी आए प्रतिस्पर्धा बढ्ला भनेर हामी डराएका होइनौं,’ उनले भने, ‘साना लगानीसँगै भित्रिने अन्य कुप्रवृत्ति रोक्न पनि यस्तो प्रावधान हटाउनुपर्छ ।’ विदेशी लगानीहरू उद्योग विशेष हुनपर्ने शर्माको भनाइ छ । कटुवालका अनुसार हामीकहाँ लघु, घरेलु र साना उद्योगको संख्या हाल ८० प्रतिशतभन्दा बढी छ । अढाई लाख जति साना उद्योग सञ्चालनमा रहेको उनले जानकारी दिए ।


उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले कानुन संशोधन गर्दा धेरै तहको छलफल भएरै यो प्रावधान दर्ता गराएको बताए । उनका अनुसार विधेयकको दफा ३ मा विदेशी लगानीको न्यूनतम सीमा तोक्ने प्रावधान रहेकाले साना तथा मझौला उद्योगको विषयलाई त्यसले सम्बोधन गर्नेछ । ‘सरकारले न्यूनतम लगानीको सीमा कति तोक्छ ? त्यो मैले भन्न सक्ने कुरा भएन,’ भट्टराईले भने, ‘विदेशी लगानीमा न्यूनतम पुँजी तोकिएपछि घरेलु, साना र मझौला उद्योगीको चिन्ता सम्बोधन हुनेछ ।’ विदेशी लगानी खुला नगरिएका उद्योगहरूको सूची लामो हुने भएकाले सबैलाई नलेखिएको उनले बताए ।


किसानी समाप्त हुन्छ : डेरी उद्योगी

सरकारले डेरी उद्योगको क्षेत्रमा विदेशी लगानी भित्र्याएर नेपाली उद्योग र किसानलाई समाप्त पार्न खोजेको डेरी उद्योगीको आरोप छ । डेरी क्षेत्रमा आउने विदेशी लगानी रोक्न उनीहरूले ससरकारलाई आग्रह गरेका छन् ।


नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा डेरी उद्योगी सुमीत केडियाले सरकारले आफूहरूलाई उठिबास गराउन खोजेको बताए । ‘राज्यले विदेशी लगानी भित्र्याएपछि हामी कारोबार छाडेर विदेश जान बाध्य हुन्छौं,’ उनले भने, ‘नभएर उनीहरूको उद्योगमा काम गर्नुपर्छ ।’


डेरी एसोसिएसनका अनुसार डेरी क्षेत्रमा ३० अर्बको लगानी छ । आफूहरूले एक अर्ब रुपैयाँभन्दा बढी कर तिरेर चाहिएको गुणस्तरमा दुग्धजन्य पदार्थ उपलब्ध गराउनुका साथै माग पूरा गरिरहेको केडियाले बताएका थिए । नेपाल दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक ईश्वरीराज न्यौपानेले विदेशी लगानीले नेपालका किसान र उद्योगी धाराशायी हुने बताए ।


‘भारतको आमूल कम्पनीले नेपालमा उद्योग स्थापना गर्दै छ भन्ने सुनेको छु,’ उनले भने, ‘त्यस्तो हो भने नेपाली किसान र उद्योगीका लागि दुर्भाग्य हुन्छ, हामी आमूल कम्पनीभन्दा कुनै कुरामा कमजोर छैनौं ।’ नेपालमा हाल २ हजार ८ सय ५० डेरी उद्योग सञ्चालनमा छन् । देशको कुल गार्हस्थ उत्पादनमा दूध क्षेत्रले ९ प्रतिशत योगदान दिइरहेको डेरी उद्योग संघले जनाएको छ ।

प्रकाशित : फाल्गुन २०, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?