छड बनाउने कच्चा पदार्थको आयात बढ्यो

गत वर्ष माघसम्ममा ५ अर्ब २२ करोड रुपैयाँको बिलेट आएकोमा यस वर्ष १८ अर्ब ४३ करोडको भित्रिएको छ
शंकर आचार्य

पर्सा — छड तथा डन्डी उद्योगहरूको प्रमुख कच्चा पदार्थ एमएस बिलेटको आयात वीरगन्ज भन्सार नाकाबाट बढेको छ । वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहबाट भने यसको आयात ओरालो लागेको छ । 

छड बनाउने कच्चा पदार्थको आयात बढ्यो

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय र वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले यस्तो देखाएको हो । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिको तुलनामा गत आवको यसै अवधिको तुलनाको तथ्यांकले दुवै नाकाबाट यो वस्तुको आयातमा ठूलो अन्तर देखाएको छ ।


पर्सा बारा औद्योगिक करिडोरका एक दर्जनभन्दा बढी डन्डी उद्योगले यसको आयात गर्छन् । भारतबाट यसको आयात हुन्छ । सुक्खा बन्दरगाह नाकाबाट गत आवको साउनदेखि माघसम्मको अवधिमा १८ अर्ब ५७ करोड रुपैयाँ बराबरको ४० करोड ४० लाख किलो एमएस बिलेट आयात भएको थियो । यस वर्षको यसै अवधिमा १५ अर्ब ३७ करोड रुपैयाँबराबरको २६ करोड २२ लाख किलो एमएस बिलेट आयात भएको छ ।


वीरगन्ज नाकाबाट गत आवको माघ मसान्तसम्मको अवधिमा ५ अर्ब २२ करोड रुपैयाँ बराबरको १० करोड ६ लाख किलो एमएस बिलेट आयात भएको थियो । चालु आवको यस अवधिमा भने १८ अर्ब ४३ करोड रुपैयाँ बराबरको ३१ करोड ५३ लाख किलो यो वस्तु आयात भएको छ ।


वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतोले जगदम्बा स्टिललगायतका करिडोरका केही उद्योगले यो नाकाबाट एमएस बिलेटको आयात बढाएकाले यो नाकाबाट यो वस्तुको आयात बढ्न पुगेको बताए । ‘आयातकर्ताले जुन नाकाबाट सहज हुन्छ त्यही नाका प्रयोग गर्छन्,’ उनले भने, ‘त्यस कारण केही उद्योगले यो नाकाबाट आयात बढाएका छन् ।’ यता सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत विकास साहले पछिल्लो केही महिनायता डन्डी उद्योगका कच्चा पदार्थ बोक्ने सवारी साधनलाई ओभरलोडेड भनी ट्राफिक प्रहरीले बाटोमा कारबाही गर्न थालेपछि यसको आयात घटेको हुन सक्ने बताए । यसबाहेक केही उद्योगले कच्चा पदार्थ आयात गरे पनि जाँचपास गराएर नलगेका कारण पनि आयात कम भएको देखिन सक्ने उनले बताए ।


केही महिनायता बन्दरगाह परिसरमा ठूलो संख्यामा एमएस बिलेट थुप्रिएकामा हाल भने आयातकर्ताले छुटाउँदै लगेको उनले बताए । झन्डै एक दशकयता आयातकर्ताले रेलमार्गबाट यो कच्चा पदार्थ आयात गर्न सस्तो र सहज हुन्छ भनी सुक्खा बन्दरगाह नाका प्रयोग गर्दै आएका थिए । गत वर्षदेखि भने यो नाकाको प्रयोग घटाउँदै लगेका छन् । केहीले रेल्वे र्‍याकको अभावमा समयमा कच्चा पदार्थ भारतबाट ल्याउन नपाएको गुनासो गरेका थिए ।


सुक्खा बन्दरगाह भन्सारमा राजस्वमा योगदान गर्ने प्रमुख वस्तुमा एमएस बिलेट नै आउँछ । त्यसपछि मदिरा र गेडागुडी आउँछन् । यो भन्सारले पछिल्लो ३ महिनायता मासिक राजस्व असुली लक्ष्य भेट्टाउन सकिरहेको छैन ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?