कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पर्यटकको रोजाइमा ‘बीएन्डबी’

होटल लजभन्दा सस्तो शान्त र सुरक्षित हुने भएकाले पर्यटकको रोजाइमा बीएन्डबी पर्ने गरेका छन्
सजना बराल

काठमाडौँ — जापानकी अकी सुगिमोतो नेपाल आउँदा तारे होटलमा बस्दिनन् । उनलाई गेस्टहाउस, होमस्टे, होस्टल, रिसोर्ट वा अपार्टमेन्टभन्दा बेड एन्ड ब्रेकफास्ट (बीएन्डबी) इनहरू चित्त बुझ्छन् । ‘यहाँ सस्तो हुन्छ,’ झम्सिखेलस्थित द यल्लो हाउसमा भेटिएकी उनले भनिन्, ‘होटलजस्ता ठूला हुँदैनन्, शान्त र सुरक्षित हुने भएकाले बीएन्डबी रोज्छु ।’ एक हप्ताका लागि नेपाल आएकी उनी यो अवधिभर यल्लोमै बस्दै छिन् ।

पर्यटकको रोजाइमा ‘बीएन्डबी’

उनलाई साथीभाइले यो ठाउँबारे जानकारी दिएका हुन् । द यल्लो हाउसमा होटलहरूमा झैं खाना उपलब्ध छैन । त्यहाँ रेस्टुरेन्ट रहेकाले यो होमस्टेअन्तर्गत पर्दैन । बिहानीको खाजा तयार गरेपछि रेस्टुरेन्ट बन्द हुन्छ । साँझ र दिनको खाना ग्राहकले बाहिरै खानुपर्ने हुन्छ । ‘कसैले अनुरोध गरे भने हामी मगाइदिन सक्छौं,’ द यलोकी म्यानेजर जेसिका गुरुङ भन्छिन्, ‘हामीकहाँ चाहिँ खाना पाक्दैन ।’ झम्सिखेल क्षेत्रमा अहिले थुप्रै बीएन्डबी खुलेका छन् । ठमेल, लाजिम्पाट, स्वयम्भू, एयरपोर्टतिर पनि राति सुत्नलाई कोठा र बिहानको खाजा उपलब्ध गराउने बीएन्डबीहरू प्रशस्त भेटिन्छन् ।


बीएन्डबीमा प्रायः विदेशी ग्राहक आउने गरेका छन् । विदेशीलाई नै लक्ष्य गरेर बीएन्डबी खोल्ने गरिएको कुरा तिनका मेनु हेर्दा थाहा पाइन्छ । कतिपय स्थानीय युवायुवतीसमेत बीएन्डबीतर्फ आकर्षित छन् । ‘हजार/पन्ध्र सय रुपैयाँमै कति राम्रा र सफा कोठा पाइदो रहेछ,’ द प्लेटफर्म इंकका कुशल बज्राचार्यले भने, ‘हामी साथीभाइहरू स्वयम्भूको बीएन्डबीमा बसेका थियौं, चित्त बुझ्यो ।’ उनका अनुसार अचेल जताजतै यस्ता आवास खुलेका छन् । कतिपय होटल र होमस्टे चलाउनेले समेत आफूलाई ‘बीएन्डबी’ लेख्न थालेपछि झुक्किने गरेको उनले बताए ।


थुप्रै गैरसरकारी संस्थाले आफूकहाँ पाहुना राख्ने गरेको यल्लोकी गुरुङले जानकारी दिइन् । ‘पहिले–पहिले स्कुल, कलेज र बैंक खोल्ने ट्रेन्ड थियो अहिले बी एन्डको छ,’ उनले भनिन्, ‘झम्सिेखेलमै कति धेरै खुलेका छन् । होटल म्यानेजमेन्ट पढ्नेहरू धेरै भएर हो कि अन्य विकल्प नभएर हो, जसले पनि यसमै लगानी गरेको देख्छु ।’ शान्त र हरियाली वातावरण भएकाले यल्लोमा बस्नेहरू फर्केर आउने गरेको उनको भनाइ थियो ।


लाजिम्पाटस्थित ‘कोसिना मीठो छ’ नामक बीएन्डबीमा ७ वटा कोठा छन् । एक पटकमा एक दर्जनलाई बेड एन्ड ब्रेकफास्टको सुविधा दिन सक्ने कोसिनाका संस्थापक देवेन्द्र पोखरेलले जानकारी दिए । उनले योसँगै हस्पिटालिटी ट्रेनिङ सेन्टर चलाएका छन् । बीएन्डबीमा बस्नेहरूले सेन्टरमा गएर नेपाली खाजा र परिकार बनाउन सक्ने पोखरेलले बताए । ‘विदेशीलाई स्थानीय संस्कृतिको स्वाद दिऊँ भनेर यसो गरिएको हो,’ उनले भने, ‘सार्क देशका ग्राहक हामीकहाँ आउँदैनन्, उनीहरू प्रायः होटल रोज्छन् । युरोपेली र अमेरिकीलाई बीएन्डबी चित्त बुझ्छ ।’


थोरै लगानी र सानो क्षेत्रफलमा स्थापना गर्न सकिने भएकाले बीएन्डबी सुरु गरेको पोखेरलको भनाइ थियो । उनीकहाँ एक दिनको प्रतिव्यक्ति २ हजार रुपैयाँ शुल्क लिइन्छ । यसमा बेड र ब्रेकफास्ट दुवै समेटिन्छन् । द यल्लोले ब्रेकफास्टमा क्रिप, भेज प्लाटर, स्पेसल सलाद, ब्रेड एन्ड टोस्ट, ससेज, आलु, अण्डा, चिज, दही, पोरिज आदि उपलब्ध गराउँदै आएको छ । ‘हाम्रो ब्रेकफास्ट राम्रो मानिन्छ,’ म्यानेजर गुरुङले भनिन्, ‘धेरैथरी परिकार राखेका छौं ।’ द यल्लोमा प्रतिव्यक्ति प्रतिदिन साढे पाँच हजार शुल्क छ ।


मिस्टिक, ब्ल्याक पिपर, कोजी होम, आमाज होमजस्ता बीएन्डबीहरू उपत्यकामा सञ्चालित छन् । यीमध्ये कतिले घरेलु तथा साना उद्योग विभाग वा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गर्ने गरेका छन् । भारतमा पर्यटन मन्त्रालयको स्वीकृतिपछि मात्रै बीएन्डबी सञ्चालन गर्न पाइन्छ । मन्त्रालयले नै तिनलाई गोल्ड वा सिल्भर वर्गमा विभाजित गरिदिन्छ । सन् २०१० को कमनवेल्थ गेम्सपछि भारतले बीएन्डबीलाई प्रवर्द्धन आएको छ ।


‘हामीकहाँ यो क्षेत्रलाई कसैले कभर गरेका छैनन्,’ कोसिनाका सञ्चालक देवेन्द्र पोखरेलले भने, ‘तालिम केन्द्र पनि भएकाले मैले सीटीईभीटीमा दर्ता गरेको छु । होटलहरूका झैं हामीहरूको कुनै संगठन बनेको छैन ।’ यस्तो हुँदा सुरक्षा र नियमनको समस्या हुन सक्ने उनको अनुभव छ । बीएन्डबीबारे सल्लाह दिने अमेरिकाको बीएन्डबी टिमका अनुसार यिनमा स्मोक डिटेक्टर, फस्ट एड किट, फायर एक्स्टिगुसर आदि हुनुपर्छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?