२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बिकेन काउली

मनोज पौडेल

कपिलवस्तु — सरकार खेत बाँझो राखे कारबाही गर्ने कानुन बनाउँदै छ  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रतिनिधिसभामा पेस गरेको भू–उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा जमिन बाँझो राख्नेलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ  ।

यहाँ उत्पादित तरकारीले बजार नपाउँदा किसान निरास छन् । बिक्री नभए पनि उनीहरूले बारीमा नष्ट गरेका छैनन् । निःशुल्क वितरण गरिरहेका छन् । कपिलवस्तु नगरपालिका ३ बरन्डिहवाका भगवतिराका यादवले शनिबार तौलिहवामा लाग्ने हाटमा काउली र बन्दागोभी बेच्न लगे । मध्याह्न १२ देखि दिउँसो ५ बजेसम्म ग्राहकको प्रतीक्षमा बसे । बिक्री भएन । दुई क्विन्टल तरकारी नबिकेपछि फर्काएर घरै ल्याए । ‘किलोको ३ रुपैयाँले पनि कसैले किन्न खोजेनन्,’ उनले भने, ‘तरकारी बजार पुर्‍याउन खर्च मात्र भयो ।’ त्यसपछि गाउँभरिका ३० घरपरिवारलाई बोलाएर सित्तैमा बाँडेको उनले बताए । ६ कट्ठामा काउली र बन्दा लगाएका थिए । उत्पादन राम्रो भएको थियो ।


‘जिल्लाबाहिर लैजाऊँ भने लागत उठ्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले खेतमै गएर टिपेर लैजान छिमेकीलाई भनेको छु ।’ उत्पादनमा मिहिनेत परेको छ । त्यसैले बाटोमा लगेर फाल्न मनले नमानेको उनले बताए । तरकारी खेतीका लागि उनले १० हजार रुपैयाँ लगानी गरेका थिए । ‘अहिलेसम्म ६ सय रुपैयाँको बिक्री भयो,’ उनले भने, ‘परिश्रम र लगानी सबै डुब्यो, अब खेती गर्ने उत्साह छैन ।’ अहिलेसम्म ४ क्विन्टलभन्दा बढी बन्दा र फूलगोभी निःशुल्क वितरण गरेको उनले सुनाए । कपिलवस्तु १० का रामवृक्ष केवटले ८ कट्ठामा लगाएको बन्दा खेतमै छाडे । ‘३ रुपैयाँ किलोमा फूलगोभी नबिकेपछि खेतमै छाडेको छु,’ उनले भने, ‘इष्टमित्रलाई सित्तैमा बाँडेको छु ।’ तरकारी खेतीमा १५ हजार रुपैयाँ लगानी गरेको उनले बताए । ‘बन्दागोभीको त कुरौ छाडौं, कसैले लिन मान्दैनन्,’ उनले भने, ‘बजारमा बन्दागोभी १० रुपैयाँमा ६ डल्ला बिक्री भइरहेको छ । अब चौपायालाई खुवाउँछु ।’ सित्तैमा लैजान भन्दा पनि कसैले नमानेको उनले सुनाए । यस वर्ष तरकारी खेतीबाट ठूलो नोक्सानी बेहोर्नुपरेकाले अर्को वर्ष खेती गर्ने/नगर्ने दोधारमा परेको उनले बताए । कपिलवस्तु ९ श्रीनगरका प्रभु यादवको ३ कट्ठामा लगाएको फूलगोभी खेतमै सुकेको छ । ‘बजारमा भाउ छैन,’ उनले भने, ‘ज्याला पनि उठदैन ।’ ८ हजार रुपैयाँभन्दा बढी लगानी खेर गएको उनले बताए । ‘३ रुपैयाँ किलोमा गोभी बेच्न मनले मान्दैन,’ उनले भने, ‘सित्तंमा बाँडें ।’


तरकारी उत्पादनमा नमुना बुद्धभूमि नगरपालिका १० देवपुरा गाउँमा पनि ३० बढी कृषकले उत्पादन गरेका फूलगोभी र बन्दागोभी खेतमा सुकिरहेको कृषक बालदिन केवटले सुनाए । यस वर्ष मौसम राम्रो भएकाले धेरै उत्पादन भयो । बजारमा मूल्य नपाएपछि कृषक चिन्तित छन् । सानो बजार क्षेत्र र ढुवानी सहज नहुँदा समस्या भएको कृषि प्राविधकले बताए । ‘यहाँ बजारमा माग नभए अन्यत्र लैजान सक्नुपर्छ,’ तरकारी जोन कार्यक्रमका प्रमुख राकेश ओझाले भने, ‘तब पो भाउ पाइन्छ ।’ उत्पादन बढी र माग कम भएकाले मूल्य घटेको उनले बताए । सदरमुकाममा दैनिक ३ टन तरकारी खपत हुने गरेको उनले बताए । उत्पादित तरकारीलाई जिल्लाबाहिर पठाउनका लागि पहल गर्नुपर्ने उनले बताए ।

प्रकाशित : फाल्गुन २२, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?