१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

स्याउ हेर्न मनाङका किसान जुम्लामा

आश गुरुङ, एलपी देवकोटा

जुम्ला — मनाङका किसान स्याउ हेर्न जुम्ला आएका छन् । उनीहरू जुम्लाको स्याउमा मोहित भएका छन् । जुम्ला कर्णाली प्रदेशमा पर्छ भने मनाङ गण्डकी प्रदेशमा । दुई जिल्लाका स्याउ किसान यो भ्रमणका क्रममा आआफ्ना अनुभवहरू साटासाट गरेका छन् । जुम्लामा अझै राम्रो स्याउ उत्पादन हुन सक्ने सुझाव मनाङे किसानले सुझाएका छन् । 

स्याउ हेर्न मनाङका किसान जुम्लामा

स्याउ जोन मनाङका सञ्चालक समिति सचिव तुलसीराम गुरुङले मनाङमा एग्रो मनाङले एकै वर्षमा स्याउबाट ३/४ करोड आम्दानी हुने गरेको सुनाए । जुम्लामा हाल भइरहेको १५/२० लाख आम्दानी बढाउन यसको व्यावसायिक विकासमा लाग्नुपर्ने उनको भनाइ छ । ‘मिहिनेत गरे आफ्नै माटोमा पैसा फल्छ,’ उनले भने, ‘त्यसैले युवालाई विदेश जान रोकौं, स्याउ खेतीलाई बढवा दिऊँ ।’

स्याउ उत्पादनमा अब्बल मानिएको जुम्लाको स्याउ खेतीबारे जानकारी लिन मनाङका किसान जुम्ला आएका हुन् । १७ जनाको समूहले जुम्ला आएर मनाङे किसानले जुम्लाको स्याउ खेतीबारे अध्ययन अवलोकन गरेको स्थानीय किसान धनबहादुर थापाले बताए । ‘उहाँहरूले उच्च हिमाली क्षेत्रमा हुने ‘हाइडेन्सिटी’ स्याउ हेर्नुभयो,’ उनले भने, ‘हामीलाई आफ्नो अनुभव र सुझाव पनि सुनाउनुभयो ।’

स्याउ खेतीले चिनिएको नेपालका प्रमुख ८ जिल्लामध्ये जुम्लासहित कर्णाली प्रदेशका हुम्ला, कालिकोट, मुगु र डोल्पा, प्रदेश ५ को रुकुम तथा गण्डकी प्रदेशको मुस्ताङ र मनाङमा स्याउ खेती हुँदै आएको छ । सरकारी तथ्यांकअनुसार ११ हजार १ सय ६६ क्षेत्रफलमा स्याउ खेती गरिएकामा ५ हजार ६ सय हेक्टर क्षेत्रफल उत्पादनशील छ ।

जुम्लामा मात्रै १ हजार ९ सय ५८ हेक्टर क्षेत्रफलमा स्याउ फलेको छ । ४३ हजार ५ सय २ टन उत्पादन भएको छ । मनाङमा २ सय ७ हेक्टरको जग्गामा स्याउ खेती गरिएकामा उत्पादनशील ८९ हेक्टर छ । यसबाट चालु आर्थिक वर्षमा ९ सय १६ टन स्याउ उत्पादन भएको थियो । मनाङमा एग्रो मनाङ प्रालिले मात्रै ४ सय ५० रोपनी जग्गामा यस वर्ष ४ सय टन स्याउ फलाएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउ सुपर जोन) जुम्लाका अनुसार स्थानीय किसानले एग्रो मनाङको सम्पर्कबाट छ हजार बिरुवा रोपेका छन् । सुपरजोनका कृषि अधिकृत जोगेन्द्र कान्दुले पछिल्लो समय किसान स्याउ खेतीतर्फ आकर्षित भएका बताए ।

अध्ययन भ्रमणले दुवै जिल्लाका किसानबीच स्याउ खेतीबारे जानकारी आदान–प्रदान भएको उनको भनाइ छ । ‘हाइडेन्सिटी स्याउ जुम्लामा पनि फल्न थालेको छ, सानो बोटमा धेरै फल्ने भएकाले किसान यसतर्फ आकर्षित छन्,’ उनले भने, ‘त्यसैले पछिल्लो समय जुम्ला स्याउ खेतीले चिनिएको छ ।’ जुम्लाको प्रमुख नगदे बाली नै स्याउ रहेको उनले बताए ।

जुम्लामा २०२४ सालबाट बगैंचा गरेर स्याउ खेती गरिए पनि २०७३ सालमा मात्र सञ्चालक समिति निर्माण गरी स्याउ खेतीबारे कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।

समितिका अध्यक्ष मीनबहादुर डाँगीले जुम्ला स्याउमा आत्मनिर्भर बन्ने क्रममा रहेको बताए । ‘हाम्रो स्याउ सुर्खेत, कोहलपुर हुँदै देशका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेको छ,’ उनले भने, ‘बजार व्यवस्थापनका लागि पनि हामीले विशेष ध्यान दिएका छौं ।’

प्रकाशित : फाल्गुन २६, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?