कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कौसीमा अर्गानिक तरकारी

'कति विषादी मिसिएको तरकारी खानु ? त्यही भएर अब अर्गानिक तरकारी फलाएर स्वस्थ जीवन जिउन मन छ ।’ 
विमल खतिवडा

काठमाडौँ — बागबजारकी प्रमिला महर्जनको पाँचतले घर छ । माथिल्लो तलामा लस्करै गमला छन् । ती गमलामा थरीथरीका फूल फुलेका छन् । २५ वटा गमलामा कुनै बोटले कोपिला हाल्दै छन् भने कुनैले फुलेर सौन्दर्य थपेका छन् । अब उनलाई फूल मात्र फुलाउन मन छैन ।

कौसीमा अर्गानिक तरकारी

खाली रहेको छतलाई रंगीचंगी फूलसँगै हरियाली बनाउने रहर छ । ‘कति विषादी मिसिएको तरकारी खानु ?’ उनले प्रश्न गर्दै भनिन्, ‘त्यही भएर अब फूल मात्र होइन अर्गानिक तरकारी फलाएर स्वस्थ जीवन जिउन मन छ ।’


उनले भूकम्पअघि छतमा माटो राखेर तरकारी लगाइन् । छत रसाएपछि डरले माटो झिकिन् । तरकारी लगाउन छाडिन् । ‘सुरुमा जानी नजानी तरकारी लगाएको थिएँ,’ उनले भनिन्, ‘भूकम्पपछि छत रसाउन थाल्यो, त्यसपछि लगाउन छाडें ।’ उनको ५ जनाको परिवार छ ।


महानगरपालिकाअन्तर्गत कृषि विभागले कौसी खेतीसम्बन्धी तालिम दिएपछि उनलाई तरकारी लगाउन आत्मबल बढेको हो । ‘अहिले बजारबाट ल्याएको तरकारी आधा घण्टा पानीमा भिजाएर मात्र पकाउने गरेको छु,’ उनले भनिन्, ‘बजारको तरकारीको भर हुन्न, कति विषादी मिसिएको छ, थाहा पाइँदैन, त्यही भएर परिवारलाई खान पुग्ने गरी तरकारी लगाउने सोचमा छु ।’ उनी मात्र होइन, सहरको सबभन्दा व्यस्त रहने गन्तव्यमा पर्ने बागबजार, पुतलीसडक, कमलादी, कृष्ण पाउरोटी, धोबीधाराका महिलाले एकसाथ जम्मा भएर कौसी खेतीबारे तालिम लिए । अहिले सबै जना कौसीमै खेती गर्न कस्सिएका छन् ।


‘छतमा थोरै लसुन, प्याज, मुला, धनियाँ लगाएर खाँदै आएका छौं,’ बागबजारकै मन्दिरा श्रेष्ठले भनिन्, ‘यतिले पुगेन, बजारको विषादीयुक्त तरकारीबाट परिवारै मुक्त हुन चाहन्छौं, त्यसको विकल्पमा घरकै खाली छतमा परिवारलाई पुग्ने गरी अर्गानिक तरकारी लगाउन लागिएको हो ।’ घर तीनतले छ । अहिले दूधको क्रेटमा तरकारी लगाएको उनले सुनाइन् । पहिला कम्पोस्ट मल बनाउन जानेकी थिइनन् । तालिमपश्चात् मल बनाउन जानिन् ।


‘घरभित्रको फोहोर सिट्ठी बजाउँदै कहिले गाडी आउला र फालौंला भन्दै बाटो हेर्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘अब त कुहिने फोहोर कम्पोस्ट मल बनाउन पनि जानियो, त्यसैले फोहोरको मात्रा पहिलेभन्दा घट्नेछ ।’ उनले पहिले पनि छतमा तरकारी लगाइन् । जब खाने बेला भयो, तब कुहिएर नासिन्थ्यो । ‘यस्तो समस्या हुँदा कतै समाधानका लागि गइनँ,’ उनले भनिन्, ‘अलि व्यवस्थित पनि भएन जस्तो लाग्यो, अब त्यस्तो समस्या नआउला ।’ उनका अनुसार घरमै बस्ने गृहिणीहरूका लागि कौसी खेती दिनचर्या बन्नेछ ।


उता २८ नम्बरकी वडा सदस्य सुनिता तण्डुकार घरमा फलेको तरकारी बजारबाट ल्याएको भन्दा धेरै गुणा स्वादिलो हुने बताउँछिन् । ‘घरमा फलाएको तरकारी खाएर बजारको खाँदा स्वादै लाग्दैन,’ उनले भनिन्, ‘पहिले अलिअलि लगाए पनि तालिम लिएपछि थप्ने सोचमा छु ।’ उनको ६ जनाको परिवार छ । पछिल्लो समय काठमाडौं, भक्तपुर र ललितपुरमा कौसी खेतीमा आकर्षण बढ्दै गएको छ । पहिलापहिला वातावरण विभागले तालिम दिएर तरकारी लगाउन हौस्याउने गर्थ्यो ।


महानगरपालिकाका कृषि विभाग प्रमुख बाली संरक्षण अधिकृत हरिबहादुर भण्डारीका अनुसार अहिले विभिन्न वडामा कौसी खेतीबारे तालिम जारी छ । वडाहरूसँग समन्वय गरेर तालिम दिने गरिएको छ । ३२ वडामध्ये ९ वटा वडामा तालिम सकिएको छ । ‘बजारमा विषादीयुक्त तरकारीको मात्रा बढी छ, ९० प्रतिशत तरकारी बाहिरबाट आउँछ,’ उनले भने, ‘त्यही भएर स्थानीयले आफ्नो स्वास्थ्यको ख्याल गर्दै कौसीमा तरकारी खेती गरून् भन्ने प्रमुख उद्देश्य हो ।’ उनका अनुसार काठमाडौंमा अर्को ठूलो समस्या फोहोरको छ ।


‘यसमा घरबाट निस्कने दुई तिहाइ फोहोरलाई सडाएर, गलाएर कम्पोस्ट मल बनाउन सकिन्छ,’ उनले भने, ‘यसरी बनेको मलबाट कौसीमा तरकारी र फलफूल फलाउन सकिन्छ, यसले काठमाडौं महानगरको दुई तिहाइ फोहोरको समस्या समाधान गर्नेछ ।’ अर्को फाइदा तरकारी आयात कम गर्ने र न्यून रूपमा रासायनिक मलको आयातलाई विस्थापित गर्न सकिनेछ । एउटा वडामा २५ जनाको समूह बनाएर तालिम दिने गरिएको छ ।


जो तालिम लिन इच्छुक हुन्छन्, उनीहरूले वडामा निवेदन दिनुपर्ने हुन्छ । यो वर्ष ६० वटा समूहलाई तालिम दिने कार्यक्रम छ । २५ जनाको समूहलाई तालिमपश्चात् ११ थरीका तरकारीको बीउ, १५ किलो गँड्यौले मल निःशुल्क दिने गरिएको छ । तीन वटा प्लास्टिकका क्रेट, ३ वटा जीओ टेक्सटायल सेट र मल कुहाउने एक लिटर ईएम झोल ७५ प्रतिशत अनुदानमा दिने गरिएको छ । कृषिविज्ञले कौसी खेतीको महत्व , गर्ने तरिकासहितको एकदिने तालिम दिने गरेका छन् ।


‘यो कार्यत्रम महिला लक्षित हो,’ प्रमुख भण्डारीले भने, ‘यसमा तालिम लिन आउने २/४ प्रतिशत पुरुष पनि छन् ।’ उनका अनुसार गत वर्ष १ हजार ६ सय जनालाई तालिम दिइएको थियो । कतिले कौसी खेती गरे, कतिले गरेनन् भन्नेबारे रेकर्ड छैन । तालिमका लागि भनेर महानगरले एउटा कार्यक्रमका लागि ८४ हजार रुपैयाँ विनियोजन गरेको छ ।


भण्डारीका अनुसार यसका लागि ५० लाख बजेट छुट्याइएको छ । ‘कौसी खेतीले तरकारी अर्गानिक खान पाइयो, अर्को कुरा जथाभावी फोहोर हुने भएन,’ २८ नम्बर वडाका वडाध्यक्ष भाइराम खड्गी ‘प्रकाश’ ले भने, ‘त्यही भएर वडाले कौसी खेतीलाई प्राथमिकतामा राखेको छ ।’


२०६८ सालको जनगणनाअनुसार ललितपुरमा ४ लाख ६८ हजार १ सय ३२, भक्तपुरमा ३ लाख ४ हजार ६ सय ५१ र काठमाडौंको जनसंख्या १७ लाख ५४ हजार २ सय ४४ रहेको छ ।


बस्ती बढ्दै जाँदा खाली जग्गाको अभाव बढ्दो छ । जसले गर्दा तरकारी खेती गर्ने ठाउँ साँघुरिएको छ । त्यही भएर घरका छत, रेलिङलाई अर्गानिक तरकारी खेती गर्ने थलो बनाउँदै लगिएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?