१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सिम किन्दा ‘बायोमेट्रिक’ विवरण चाहिने

विजय तिमल्सिना

काठमाडौँ — अहिले सिम लिँदा सरकारले दिएको कुनै परिचयपत्र बुझाए पुग्छ । भविष्यमा भने सिम लिँदा बायोमेट्रिक विवरण भर्नुपर्ने हुन सक्छ । सिम लिँदा खुलाउनुपर्ने विवरणबारे नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ । यो कार्यविधि कार्यान्वयनमा आए मोबाइलको सिम लिन अहिलेजस्तो सहज हुने छैन ।

सिम किन्दा ‘बायोमेट्रिक’ विवरण चाहिने

व्यक्तिको विशिष्ट जैविक पहिचान खुल्ने विवरण जस्तै आँखाको रेटिना, औंठाछापजस्ता विवरण नै बायोमेट्रिक हो ।


कार्यविधिको मस्यौदामा दूरसञ्चार सेवा प्रदायकले सिम वितरण गर्दा उपभोक्ताको बायोमेट्रिक विवरण लिनुपर्ने प्रावधान भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘अर्को व्यक्तिको परिचयपत्र लिएर सिम लिने, सिम लिएर दुरुपयोग गर्ने प्रवृत्ति निरुत्साहित गर्न यसो गर्न लागिएको हो,’ उनले भने, ‘यसबाट सिम लिएर दुरुपयोग गर्ने सम्भावना कम हुन्छ ।’ कार्यविधिको मस्यौदा प्राधिकरणले तयार पारिसकेको छ ।


सेवा प्रदायक र अन्य सरोकारवालासँग थप परामर्श गरी यसलाई अन्तिम रूप दिइने उनले जानकारी दिए । कार्यविधिमा एक व्यक्तिको नाममा निश्चित संख्यामा मात्रै सिम जारी हुने व्यवस्था राखिएको उनले जानकारी दिए । ‘सेवा प्रदायक र सबै सरोकारवालासँगको छलफलपछि माक्रै एक व्यत्तिको नाममा कति वटा सिम जारी गर्ने भन्ने व्यवस्था राखिनेछ,’ उनले भने, ‘एक व्यक्तिको नाममा धेरै सिम जारी हुने समस्या यसले हल गर्नेछ ।’


कार्यविधिमा सिम लिँदा बुझाउनुपर्ने व्यक्तिगत विवरणबारे उल्लेख गरिएको छ । सिम जारी गर्दा सेवा प्रदायकले उपभोक्ताको औंठाछाप, आँखाको रेटिनासहितको विवरण लिनुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ ।


‘उपझोक्ताबाट व्यत्तिगत विवरण सेवा प्रदायकले संकलन गर्ने भए पनि यसको पूर्ण नियन्त्रण र सञ्चालन प्राधिकरणले गर्छ,’ अर्यालले भने, ‘एक सेवा प्रदायकले उपभोक्ताबाट संकलन गरेको विवरण अर्को सेवा प्रदायकले सिम जारी गर्दा प्रयोग गर्न मिल्छ ।’

एक पटक उपभोक्ताले आफ्नो विवरण उपलब्ध गराइसकेपछि अर्को पटक सिम लिँदा सोही विवरण भर्नु नपर्ने उनले बताए । अहिले नागरिकता वा सरकारले उपलब्ध गराएको अन्य परिचयपत्रमार्फत उपभोक्ताले सिम लिन सक्छन् ।


प्राधिकरणले तयार पारेको कार्यविधिमा सेवा प्रदायकले सिम वितरण गर्दा संकलन गर्नुपर्ने विवरण, त्यस्ता विवरणमा संकलन गर्न प्रयोग गर्नुपर्ने प्राविधिक उपकरणबारे पनि उल्लेख हुने अर्यालले जानकारी दिए । प्राधिकरणको तथ्यांकअनुसार अहिले नेपालमा सञ्चालित दूरसञ्चार सेवा प्रदायकबाट ३ करोड ९१ लाख ६३ हजार बढी सिम वितरण भएको छ ।


तीमध्ये सबैभन्दा बढी नेपाल टेलिकमले १ करोड ८८ लाख सिम वितरण गरेको छ । अर्को सेवा प्रदायकले एनसेलले १ करोड ६३ लाख ७६ हजार सिम वितरण गरेको छ । यति धेरै सिम जारी गरिएको भए पनि अधिकांश सिम निस्क्रिय छन् । विभिन्न आपराधिक घटनामा पनि अर्को व्यक्तिको नाममा रहेको सिम प्रयोग गरिएको सार्वजनिक हुने गरेका छन् ।


प्राधिकरणले यसअघि नै मोबाइलको विशिष्ट पहिचान खुलाउने आईएमई नम्बर व्यवस्थित गर्ने उद्देश्यसहित मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडान गर्ने फ्रक्रिया सुरु गरिसकेको छ । यसका लागि बित्रेता छनोटको प्रक्रिया जारी छ ।


एमडीएमएसले नेपालभर सञ्चालित मोबाइलको विशिष्ट पहिचान नम्बर आईएमईको विवरण व्यवस्थित गर्नुका साथै अवैध स्मार्टफोनलाई कालोसूचीमा राख्न सक्छ । यो प्रणालीको सञ्चालन पछि नेपालमा सञ्चालित अवैध मोबाइलहरू बन्द हुने, मोबाइल फोनको दुरुपयोग भए तत्काल पहिचान गर्न सकिने प्राधिकरणको विश्वास छ ।


सिम लिँदा संकलन गरिएको विवरणले राष्ट्रिय परिचयपत्रको वितरणमा पनि सघाउने उनले बताए । सरकारले बायोमेट्रिक विवरण समेटिएको राष्ट्रिय परिचयपत्र सबै नागरिकलाई उपलब्ध गराउने योजना बनाएको छ । चालु आर्थिक वर्षमा १५ वटा जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । तीन वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य छ ।


अहिले पाँचथर जिल्लाका नागरिक र सरकारी कर्मचारीहरूमाझ राष्ट्रिय परिचयपत्र परीक्षणका रूपमा वितरण भइरहेको छ । राष्ट्रिय परिचयपक्रमा नागरिकको व्यत्तिगत र बायोमेट्रिक विवरण, शैक्षिक योग्यता, बैंक खाता नम्बर, सरकारले जारी गरेको अन्य परिचयपत्रको विवरणजस्ता जानकारी समेटिएको छ । नागरिकले योबाहेक अन्य कुनै पनि परिचयपत्र बोक्नु नपर्ने व्यवस्था गर्ने भन्दै राष्ट्रिय परिचयपत्रको अवधारणा आएको हो ।

प्रकाशित : फाल्गुन २६, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?