भन्सार छलेका सामग्री छ्याप्छ्याप्ती

माधव अर्याल

पाल्पा — तानसेन र ग्रामीण बजार क्षेत्रमा भन्सार छलेका सामग्री छ्याप्छ्याप्ती भेटिन थालेका छन् । झोले व्यापारीले भन्सार छलेर ठूलो परिमाणमा सामग्री यहाँ ल्याए पनि प्रशासनबाट कारबाही भएको छैन । 

तराईमा बिक्री गर्न प्रहरी जाँच हुने भएकाले उनीहरू पहाडी क्षेत्रमा बढी आउँछन् । केही व्यापारीले भारत बिहारको मोतीहारी, उत्तरप्रदेशका सुनौली, कृष्णनगर, महेशपुरलगायतबाट ल्याउने गरेका छन् ।


अवैध रूपमा भन्सार छलेका कपडा भिक्रिने र त्यस्ता सामग्री बित्री गर्न सहज हुने भएकाले पहाडी भेगमा बढी आउने गरेको गुनासो प्रहरी प्रशासनलाई राख्दै आएको उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । नजिकको सुनौली, नवलपरासी र कपिलवस्तुका विभिन्न छोटी भन्सारबाट थोरैथोरै सामान ल्याएर गोदाममा राख्ने अझ बढी छन् । काजु, किसमिस, मसलालगायतका सामग्रीसमेत त्यसैगरी आउने गरेको छ । तानसेन, आर्यभन्ज्याङ, रामपुरलगायत ग्रामीण भेगका व्यापारीले समेत त्यस्ता भन्सार छलेका सामग्री बिक्री गर्छन् ।


‘धेरै वर्षअघिदेखि नै यस विषयमा हामीले सचेत गराउँदै आएका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यस विषयमा विगतमा प्रहरी र प्रशासनले साथ दिएन ।’ त्यस्ता सामग्रीको बिल नहुने, नक्कली लेबल लगाउने, झोला, पोका बनाएर बिक्री गर्दै हिँड्ने गर्छन् । त्यसलाई रोक्न धेरैपटक प्रहरी प्रशासनलाई अनुरोध गरेको पाल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु महर्जनले बताए । तानसेनको बाँसटारी, काजीपौवा, बारुदखानलगायत स्थानमा यस्ता कपडा गोदाम नै बनाएर राखेका छन् । केही दिनअघि विशेष सुराकीका आधारमा प्रहरीले भन्सार छलेर ल्याएको ठूलो परिमाणको कपडा बेवारिसे अवस्थामा फेला पारेको थियो ।


प्रहरीले सोमबार ३ सय ४४ थान ब्ल्यांकेट बेवारिसे अवस्थामा भेट्यायो । १ लाख ३ हजार २ सय मूल्य बराबरको ब्ल्यांकेट प्रहरीले बरामद गरेको हो । ‘यसैबाट पनि पुष्टि हुन्छ कि तानसेनमा गोदाम नै राखेर बिक्री गर्छन्,’ व्यापारी शैलेन्द्र भट्टराईले भने, ‘यस विषयमा प्रहरी प्रशासन गम्भीर हुन जरुरी छ ।’ जिल्लाका विभिन्न स्थानमा त्यस्ता व्यापारीले सामान लगेर खुलेआम बिक्री वितरण गर्दै आएका छन् । ‘कतिपयले आफैं बिक्री गर्छन् भने केहीले तानसेनलगायत विभिन्न बजार क्षेत्रका व्यापारीसँगको मिलेमतोमा बिक्री गरेका छन्,’ उनले भने । जिल्ला प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले विशेष सूचनाका आधारमा कपडा बरामद गरेको बताए । ‘सामानधनी को हो भन्ने नै थाहा हुन सकेन,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ ।’


सिद्धार्थ राजमार्गको आसपासमा गोदाम लिने र त्यहाँबाट त्यस्ता सामान सप्लाई हुने गरेको छ । तानसेन नगरपालिका ७ बारुदखान बागबानी फार्मनजिकै बेवारिसे अवस्थामा ब्ल्यांकेट बरामद भएको प्रहरी उपरीक्षक पोखरेलले बताए । फेला परेका ब्ल्यांकेटहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पोखरेलले बताए ।


बसपार्कमा मुचुल्का गर्दा केही व्यापारी छुटाउने प्रयासमा पुगेको स्रोतले जनाएको छ । उनीहरू नै यस्तो कार्यमा संलग्न भएको हुन सक्ने भए पनि प्रहरीले पुष्टि गर्न सकेको छैन । केही वर्षयता प्रहरी, तानसेन नगरपालिकालगायत यस विषयमा उद्योग वाणिज्य संघले कुरा राख्दै आएको थियो । ‘हामीले धेरै पटक यस विषयमा प्रहरी र प्रशासनमा कुरा राखेका हौं,’ संघका अध्यक्ष श्रेष्ठले भने, ‘अहिले सोही कुराको पुष्टि भएको छ ।’ उनका अनुसार तानसेनमा त्यस्ता सामग्री बिक्री गर्ने पसलमा बिल खोजी हुनुपर्छ ।

प्रकाशित : फाल्गुन २७, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?