८३ प्रतिशत नेपाली बिमा बाहिर

यज्ञ बञ्जाडे

काठमाडौँ — मुलुकको ठूलो कुल जनसंख्या (करिब ८३ प्रतिशत) बिमा सेवाबाट वञ्चित छ । जनसंख्याको करिब १७ प्रतिशतमा मात्र बिमा सुविधा पुगेको बिमा समितिले जनाएको छ । 

८३ प्रतिशत नेपाली बिमा बाहिर

धेरै नागरिकमा बिमासम्बन्धी चेतना नहुनुका साथै कम्पनीहरू सहर तथा सुविधा सम्पन्न क्षेत्रमा सीमित भएकाले जनसंख्याको ठूलो हिस्सा बिमा सेवाबाट वञ्चित हुन पुगेको हो । यो तथ्यांकमा वैदेशिक रोजगारमा गएकाको बिमा र निर्जीवन बिमा समावेश गरिएको छैन ।


गत पुससम्म ५२ लाख ५० हजार १ सय २७ वटा जीवन बिमालेख जारी भएका छन् । यसका आधारमा पुससम्म करिब १७ प्रतिशत नागरिकमा जीवन बिमा सुविधा पुगेको बिमा समितिले बताएको छ ।


बिमा पहुँचको तथ्यांक गणना गर्दा जीवन बिमा सेवा लिएको जनसंख्यालाई मात्र समावेश गरिन्छ । यो अन्तर्राष्ट्रिय प्रचलन हो । निर्जीवन बिमा निश्चित अवधिको (म्यादी) हुने भएकाले बिमा पहुँचमा समावेश नगरिएको हो ।


एक व्यक्तिले एकभन्दा बढी जीवन बिमा पनि गरेका हुन्छन् । यसकारण जारी बिमालेखकै आधारमा त्यत्तिकै संख्यामा नागरिकसम्म सुविधा पुग्यो भन्ने हुँदैन । यसकारण बिमा पहुँचको तथ्यांक गणना गर्दा यस्तो प्रकारको दोहोरोपन हटाउनुपर्छ । यसका लागि कुल जारी बिमालेखबाट ५ प्रतिशत घटाएर बचेको बिमालेख सोही अवधिको कुल जनसंख्यासँग तुलना गरेर बिमा पहुँच गणना गर्ने विश्वव्यापी प्रचलन छ । यही विधिबाट गणना गर्दा नेपालमा गत पुससम्म बिमा कम्पनीले ५२ लाख ५० हजार १ सय २७ बिमालेख जारी गरेका छन् ।


यसबाट पाँच प्रतिशत बिमालेख घटाउँदा बाँकी ४९ लाख ८७ हजार ६ सय २१ हुन आउँछ । यसलाई गत पुससम्मको कुल अनुमानित जनसंख्या (२ करोड ९४ लाख ७० हजार ९ सय २६) करिब १७ प्रतिशतमा बिमा पहुँच पुगेको देखिन्छ । एक वर्षअघि यस्तो पहुँच करिब १० प्रतिशत थियो ।


उल्लिखित तथ्यांकमा वैदेशिक रोजगारमा गएका नेपालीले गरेको बिमा समावेश छैन । यस्तो बिमा अनिवार्य र निश्चित अवधिका लागि हुने भएकाले बिमा पहुँचमा समावेश नगरिएको हो । यो तथ्यांक पनि जोडदा बिमा पहुँच करिब २० प्रतिशत पुग्ने विज्ञहरू बताउँछन् ।


गएको वर्ष नयाँ कम्पनी थपिनुका साथै बिमासम्बन्धी चेतना पनि बढेकाले बिमा पहुँच बढेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । ‘नयाँ कम्पनी थपिएपछि प्रतिस्पर्धा बढेकाले कम्पनीहरू गाउँगाउँ जान थालेका छन्,’ उनले भने, ‘यसकारण एक वर्षमै करिब ७ प्रतिशतले बिमा पहुँच विस्तार भएको हो ।’


पछिल्ला वर्षमा बिमासम्बन्धी चेतना विस्तारका लागि विभिन्न प्रकारका प्रशिक्षण तथा प्रचारप्रसार बढ्नुले पनि बिमा पहुँच बढेको उनले बताए । ‘यही गतिमा बिमा सेवा विस्तार भइरहेमा आउँदो असारसम्म बिमा पहुँच २० प्रतिशत पुग्ने अनुमान छ,’ उनले भने, ‘आउँदा एक–दुई वर्षमा धेरै नागरिकमाझ बिमा सेवा पुर्‍याउने हाम्रो लक्ष्य छ । सोहीअनुसार नीति तथा योजनाहरू बनेका छन् ।’ गत आर्थिक वर्षको अन्त्यसम्म बिमा पहुँच १४ प्रतिशत थियो ।


६ महिनाको अवधिमा बिमा पहुँच ३ प्रतिशतले बढ्नु राम्रो संकेत भएको अध्यक्ष चापागाईले दाबी गरे । ‘यो राम्रो संकेत हो, कम्पनीहरूको व्यावसायिक विस्तारसँगै पहुँच पनि निरन्तर रूपमा बढ्छ,’ उनले भने ।


बिमा सेवा विस्तार भएपछि कुल गार्हस्थ उत्पादन (जीडीपी) मा बिमा क्षेत्रको योगदान पनि बढेर करिब साढे २ प्रतिशत पुगेको अध्यक्ष चापागाईले बताए । ‘गत असारमा यस्तो योगदान २.०३ प्रतिशत रहेकामा हाल २.५ प्रतिशत पुगेको छ,’ उनले भने, ‘यही क्रममा विस्तार हुँदै गएमा आउँदो असारसम्म यस्तो योगदान ३ प्रतिशतसम्म पुग्नेछ ।’


हाल मुलुकभर १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र एउटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन् ।

प्रकाशित : फाल्गुन २७, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?