१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

होटलका भान्सामा समस्या

रमेशकुमार पौडेल

चितवन — राजमार्गको आडमा रहेका खाना खाजा खुवाउने सामान्य होटलमा बेलाबेलामा अनुगमन हुन्छ । प्रायः होटलमा भान्सादेखि खानेकुरासम्मको अवस्था दयनीय रहेको भेटिने गर्छ । खाद्य गुणस्तर अनुगमन गर्ने सरकारी टोलीले चितवनका साधारणदेखि नाम चलेका होटलहरूसमेत अनुगमन गर्‍यो । प्रायः होटलका भान्सामा फोहोर र प्रयोग गर्न नमिल्ने वस्तुहरू राखेको फेला पर्‍यो ।

होटलका भान्सामा समस्या

प्रयोगशाला भ्यानसहित काठमाडौंबाट आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले शनिबार मध्यरातदेखि मुग्लिनका होटलहरूमा अनुगमन गर्‍यो । आइतबार जुगडीका होटलहरू हेर्दै अनुगमन टोली मध्याहनमा नारायणगढ बजारका होटलहरूमा छिर्‍यो । ‘नारायणगढका नाम चलेकै ठूला होटलहरूको भान्सा व्यवस्थापन भने कमजोर रहेछ,’ विभागका अनुसन्धान अधिकृत ईश्वर सुवेदीले भने ।


टोलीले मुग्लिनमा ४५ वटा होटल अनुगमन गरेको थियो । ‘तीमध्ये एउटा होटलको भान्सा सन्तोषजनक भेटियो नभए सबैका भान्सा फोहोर र अखाद्य पदार्थहरू राखेको पाइए,’ सुवेदीले भने । जुगेडीमा तीनवटा होटलमा अनुगमन गर्दा एउटा होटलको अवस्था भने राम्रो पाइएको उनले जानकारी दिए ।


‘होटलको साजसज्जा राम्रो छ, भवनहरू भव्य छन् । भान्सा के कस्तो होला भनेर भित्र पसेको चित्तबुझ्दो भेटिएन,’ सुवेदीले

भने । सफा सुग्घर पर्याप्त नभएको, खाद्य र अन्य वस्तु अलग राख्नुपर्नेमा त्यसो नगरिएको एव तेल उपयुक्त नभए पनि प्रयोग गर्ने गरेको भेटिएको उनले बताए ।


खाद्य नियन्त्रण तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पनि बिहीबार मात्रै भरतपुरका नाम चलेका तीनवटा ठूला होटलको अनुगमन गरेको थियो । ‘भरतपुरको आइल्यान्ड जंगल रिसोर्ट, भरतपुर गार्डेन रिसोर्ट र रोयल सेन्चुरी होटलमा अनुगमन गर्दा भान्सामा हुनुपर्ने सफाइ भएको भेटिएन । गार्डेन रिसोर्टको बेकरीमा म्याद नाघेका सामग्रीहरू भेटेपछि बन्द गर्नुपर्‍यो,’ चितवनको बजार अनुगमन समितिका संयोजक महेश पौडेलले भने ।


माछा–मासु तार्न वा खानेकुराहरू फुराउन प्रयोग हुने तेल पटक–पटक पुनर्प्रयोग हुने गरेको अनुगमनका क्रममा फेला पर्‍यो । ‘मुग्लिनका होटलहरूमा त यस्तो समस्या निकै चर्को देखियो ।


हामीले प्रयोग गर्न नमिल्ने तर प्रयोगका लागि राखेको २० लिटर तेल नष्ट गर्यौं,’ अनुसन्धान अधिकृत सुवेदीले भने । होटल सेन्ट्रल पामका सञ्चालक सुवोध प्रधान भान्साको स्वच्छतामा आफूहरू संवेदनशील भएको बताउँछन् ।


‘होटलको सबै क्षेत्र र पक्षमा गुणस्तर र स्वच्छता कायम गर्न हामी कटिबद्ध छौं । भूलचुकमा केही भएको हुन सक्छ । हामीले सक्दो प्रयास गर्दै आएका छौं,’ होटल सञ्चालक प्रधानले भने । विभागको टोली बेलाबेलामा आए पनि जिल्लामा नै रहेको डिभिजन कार्यालयले नियमित अनुगमन गर्ने अनुसन्धान अधिकृत सुवेदीले बताए । विभागसँग प्रयोगशाला भ्यानसमेत भएका कारण गुणस्तरको विषय विवादरहित ढंगले छिनोफानो गर्ने उनले बताए ।


‘होटल रेस्टुरेन्ट भौतिक संरचनामा उत्कृष्ट त हुनैपर्छ, यसका साथै खाने कुराको व्यवस्थापन र प्राविधिक विषयमा पनि जानकार हुनुपर्छ । कानुनी प्रक्रिया पुर्‍याएको हुनुपर्छ । विभागको टोली यही सन्देशका साथ अनुगमनमा निस्केको हो । कमजोरी देखिए सुधारको मौका दिन्छौं । अति नै गरे कारबाही गर्छौं,’ सुवेदीले भने । विभागले चितवनको पर्यटकीय होटलहरूको पनि अनुगमन गर्ने योजना बनाएको उनले बताए ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?