प्रसारण लाइनलाई रूख काट्न अनुमति

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण ३ दानादेखि पर्वतको कुस्मास्थित खुर्कोट सबस्टेसन जोड्ने कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभीए प्रसारण लाइन आयोजनालाई रूख काट्न वन कार्यालयले स्वीकृति दिएको छ  । प्रसारण लाइनका ३० वटा टावर राख्न २.५८ हेक्टर वन क्षेत्रमा फैलिएका ११ वटा सामुदायिक वनका २ सय ८ वटा रूख काट्नुपर्छ  ।

प्रसारण लाइनलाई रूख काट्न अनुमति

अनुमति नपाएर अवरुद्ध प्रसारण लाइन निर्माणको काम पुनः सुचारु हुने भएको छ । गत वर्ष मन्त्रिपरिषदको जग्गा उपभोग र रूख काट्न दिने निर्णय म्याग्दी र पर्वतस्थित डिभिजन वन कार्यालयले बल्ल कार्यान्वयनमा ल्याएका हुन् ।

‘आयोजनाले वन विभागसँगको सम्झौताअनुसार जग्गाको सट्टा भर्ना गरेपछि रूख काट्न स्वीकृति दिएका हौं,’ डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख हरिशचन्द्र सापकोटाले भने, ‘काटिने रूखको छपान, मूल्यांकन र चेकजाँच भइसकेको छ । अब टावर राख्न खुला भएको छ ।’ म्याग्दीतर्फका सामुदायिक तथा राष्ट्रिय वनमा जग्गा सट्टा भर्ना सुरु भए पनि पर्वततर्फ भने सट्टा भर्ना गर्ने जग्गा खोजी भइरहेको कालीगण्डकी प्रसारण आयोजनाले जनाएको छ ।


दाना–कुस्मा–बर्दघाट १ सय ४२ किमि प्रसारण लाइनमध्ये पहिलो खण्ड दाना–कुस्माको ४२ किमि खण्डमा सबस्टेसन र टावर निर्माण धमाधम भइरहेको छ । आयोजनाले दाना र पर्वतको खुर्कोटमा सबस्टेसन निर्माण पूरा गरी १ सय १४ टावरमध्ये १ सय ८ वटा उभ्याइसकेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र रहेको पोखरेबगर खण्डमा ६ वटा टावर राख्न विवाद छ ।


टावर राख्ने भनिएको क्षेत्रमा गाउँपालिका कार्यालय र बस्ती पर्छ । बस्तीमाथि हाइभोल्टेजका तार तान्न दिन नहुने गाउँलेको भनाइ छ ।


‘सामुदायिक वन क्षेत्रमा पनि टावर राख्ने काम पूरा भएको छ । जग्गा सट्टा भर्ना भएपछि वन क्षेत्रका केही रूख काट्ने र तार टाँग्ने काम गर्न बाटो खुलेको छ । रोकिएका काम अब धमाधम सुरु हुन्छ,’ आयोजनाप्रमुख चन्दन घोषले भने, ‘सबस्टेसन र टावरमा राख्ने इलेक्ट्रोनिक उपकरण पनि ढुवानी भइसकेको छ ।’


प्रसारण लाइन एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको हो । निर्माण गर्न भारतीय टाटा प्रोजेक्टस र चिनियाँ कम्पनी चिन्ट इलेक्ट्रिक जेभीसँग २०१८ नोभेम्बरसम्म काम पूरा गर्ने गरी सम्झौता भएको छ । आयोजनाको हालसम्मको प्रगति करिब ७५ प्रतिशत छ । निर्माण ढिलाइ हुँदा मुस्ताङमा निर्माण भएको १३.६ मेगावाटको थापाखोलाबाट उत्पादित विद्युत् खेर गइरहेको छ ।


त्यसैगरी उत्पादनको अन्तिम तयारीमा रहेका ५ मेगावाटको घलेम्दी जलविद्युतको उत्पादन पनि खेर जाने अवस्था छ । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले प्रसारण लाइनको अवस्था हेर्दै निर्माणमा ढिलाइ गरिएको जनाएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?