१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कल निक्षेपमा कडाइ गर्न कठिन

यज्ञ बञ्जाडे

काठमाडौँ — बैंकिङ प्रणालीमा देखिएको वित्तीय असन्तुलन कम गर्ने उद्देश्यले राष्ट्र बैंकले कल निक्षेपमा कडाइ गर्न चाहे पनि तत्काल नियन्त्रणको सम्भावना न्यून देखिएको छ  । केही वाणिज्य बैंकमा कुल बचतको २५ देखि ३० प्रतिशतसम्म रकम कल निक्षेप रहेकाले तत्काल नियन्त्रणको सम्भावना कम देखिएको जानकारहरू बताउँछन्  ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले वाणिज्य बैंकमा कल निक्षेपको सीमा १० प्रतिशत कायम गर्ने बताएको थियो । उक्त नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन दिनुपर्छ । मंगलबारसम्म उक्त निर्देशन जारी भएको छैन । यसको अर्थ उक्त व्यवस्था अझै कार्यान्वयनमा आएको छैन ।


‘वााणिज्य बैंकहरूले स्वीकार गर्ने कल निक्षेपको रकम आफ्नो कुल निक्षेपको १० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भनिएको थियो । राष्ट्र बैंकले कल निक्षेपको सीमा अधिकतम १० प्रतिशत राख्ने तयारी गरे पनि केही बैंकमा २५ प्रतिशतभन्दा बढी रहेकाले तत्काल नियन्त्रण गर्न अप्ठ्यारो हुने जानकारहरू बताउँछन् । ‘कल निक्षेप’ मुद्दती, चल्ती र साधारण बचतजस्तै एक किसिमको निक्षेप खाता हो । यो खातामा कम समय अवधिका लागि निक्षेप राखिन्छ । छिनछिनमा धेरै रकमको कारोबार गर्ने व्यक्ति वा व्यवसायीका लागि यो खाता उपयोगी हुन्छ । तत्काल धेरै रकम बचत गर्नुपर्ने र रकम झिकिने टुंगो नहुने भएकाले यो खातामा जम्मा हुने बचतको प्रकृति अल्पकालको हुन्छ । व्यवसायी तथा ठूला व्यावसायिक घरानाहरूले यही खातामा बचत गर्ने गर्छन् । अल्पकालीन प्रकृतिको हुने भएकै कारण बैंकहरूले पनि यो खातामा केहीले धेरै त कहिले कम ब्याज दिन्छन् । यसकारण यो खाताको ब्याजदर प्रायः परिवर्तन भइरहन्छ । हाल बैंकले कल निक्षेपमा साधारण बचतमा दिने ब्याजभन्दा बढी ब्याज दिन नपाइने राष्ट्र बैंकको निर्देशन छ ।


यो खातामा रहेको रकम जतिबेला पनि बाहिरिन सक्ने भएकाले त्यसका आधारमा लामो समय अवधिका लागि ऋण दिँदा जोखिम हुने भएकाले राष्ट्र बैंकले नियन्त्रण गर्न चाहेको हो । ‘कल निक्षेपमा नियन्त्रण गर्दा एकातिर ब्याजदरमा स्थिरता आउँछ भने अर्कोतिर ऋणको जोखिम कम हुन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यसले अनिश्चत प्रकारको निक्षेप घटाउने भएकाले वित्तीय स्थिरता ल्याउन सहयोगी हुन्छ ।’ गत पुससम्मको तथ्यांकअनुसार २८ वटा वाणिज्य बैंकमध्ये १४ वटाको कल निक्षेप १० प्रतिशतभन्दा बढी छ । यस्तो अनुपात सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको २५.३६ प्रतिशत छ । एनसीसी, सिभिल, सेन्चुरी, सिद्धार्थ, कुमारी, मेगा, नेपाल बंगलादेश, एनआईसी एसिया, लक्ष्मी, प्रभु, नबिल, एभरेस्ट र नेपाल इन्भेस्टमेन्ट बैंकको कल निक्षेप १० प्रतिशतभन्दा बढी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।


कल निक्षेपमा सीमा तोकेर राष्ट्र बैंकले राम्रो गरेको पूर्वबैंकर जनक शर्मा पौड्यालले बताए । ‘कल निक्षेप अल्पकालीन प्रकृतिको हुन्छ, त्यसका आधारमा लामो समयका लागि ऋण दिँदा जोखिम हुन्छ,’ उनले भने, ‘केही बैंकमा ३० देखि ३२ प्रतिशतसम्म पनि कल निक्षेपको हिस्सा रहेको देखिन्छ ।’ यो व्यवस्थाले तत्काल बैंकहरूलाई अप्ठ्यारो परे पनि दीर्घकालमा समग्र वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्ने उनको ठहर छ । ‘विगतमा नक्कली निक्षेप सिर्जना गर्ने अभ्यास पनि देखिएको थियो । हाल त्यो काम रोकिएको छ,’ उनले भने, ‘यो व्यवस्थाले बैंकहरूको सम्पत्ति र दायित्व व्यवस्थापन गर्न सजिलो हुन्छ ।’


कल निक्षेपमा सीमा लगाउने राष्ट्र बैंकको नीतिले तत्कालका लागि बैंकहरूको ऋण प्रावह क्षमता प्रभावित हुने पूर्वबैंकर तथा चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराईले बताए । ‘पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएको सम्पत्ति तथा दायित्वबीचको असन्तुलन घटाउन यो व्यवस्थाले ठूलो मद्दत मिल्छ,’ उनले भने, ‘कल निक्षेपलाई १० प्रतिशतको सीमाभित्र ल्याउन केही समय दिनुपर्छ ।’ विगतमा बैंकहरूले कल निक्षेपमा नक्कली निक्षेप जम्मा गर्ने प्रचलन पनि थियो । उदाहरणका लागि विकास बैंकले वाणिज्य बैंकबाट ऋण लिने र उक्त रकम सोही बैंकको कल निक्षेपमा जम्मा गरी ब्याज खाने चलन पनि थियो । यसो गर्दा एउटै रकम ऋण प्रवाह र निक्षेप संकलनमा गणना हुने भएकाले त्यसलाई नक्कली निक्षेप भनिएको हो । ऋण लिएको बैंकमै निक्षेप गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेपछि नक्कली निक्षेप सिर्जनामा कमी आएको बैंकरहरू बताउँछन् ।

प्रकाशित : फाल्गुन २९, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?