कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भुक्तानी नपाए नयाँलाई काम गर्न नदिइने

मेलम्ची आयोजना
अनिश तिवारी

मेलम्ची, सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजना निर्माणमा संलग्न स्थानीय ठेकेदारले भुक्तानी नपाए नयाँ ठेकदारलाई काम गर्न नदिने चेतावनी दिएका छन्  । इटालियन ठेकेदार कम्पनी सीएमसीले ‘फन्ड सर्टेज’ को घोषणा गरेर आयोजनाको काम छोडेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन्  ।

भुक्तानी नपाए नयाँलाई काम गर्न नदिइने

आफूले काम गरेको रकम भुक्तानी नपाएको भन्दै उनीहरूले मंगलबार आयोजनाको मुहानमा भेला भएर विरोध जनाए । सीएमसी पीडित संघर्ष समितिका १२ वटा निर्माण व्यवसायीले मेलम्चीमा पत्रकार सम्मेलन गरेर आफूहरूले काम गरेको १६ करोड ५० लाख ३८ हजार भुक्तानी नपाएको जानकारी दिए । मुख्य ठेकेदार कम्पनी सीएमसीले काम छाडेपछि स्थानीय व्यवसायीको रकम भुक्तानी दिएको छैन । ‘हाम्रो त सबै घरखेत जाने भयो,’ संघर्ष समितिका सचिव राजकुमार भट्टराईले भने ।’


सीएमसी भागेको डेढ महिना हुँदासमेत सरकार र सम्बन्धित निकायले आफ्नो रकमबारे नबोलेको ठेकेदारहरूको आरोप छ । अन्तिम फिनिसिङसहित पाँच प्रतिशत काम बाँकी रहँदा ठेकेदार कम्पनी भाग्नु सरकारको कमजोरी रहेको संघर्ष समितिको ठम्याइ छ । संघर्ष समितिले प्रधानमन्त्री, खानेपानी मन्त्रालय, मेलम्ची आयोजना र स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ । ‘सुनुवाइ नभए आयोजनाको फिल्ड कार्यालयमा तालाबन्दी गर्छौं,’ भट्टराईले भने । आयोजना बनाउन अर्को कम्पनी आए भुक्तानी नपाउन्जेल काम गर्न नदिने चेतवानी उनीहरूले दिए ।

‘आयोजना निर्माण हुनुपर्छ भन्ने मान्यता हो,’ उनले भने, ‘यसको वातावरण सरकारले बनाउनुपर्छ ।’सीएमसीले स्थानीय ठेकेदारलाई गिट्टी, बालुवा, सिमेन्टलगायतमा सामग्री सप्लाईको जिम्मेवारी दिएको थियो । क्रसर उद्योग, डिजेल, पेट्रोल सप्लायर्सहरूको पनि भुक्तानी बाँकी रहेको व्यवसायीले जानकारी दिए । मेलम्चीमा खनिसकेको साढे २७ किमि सुरुङमध्ये २ किमिमा फाइनल फिनिसिङ, तीनमध्ये दुई वटा भेन्टिलेसन सेफ्टी निर्माण, हाइड्रो मेकानिकल जडानलगायतका काम बाँकी रहेको आयोजनाका कर्मचारीले बताएका छन् । त्यस्तै सुन्दरीजल सप्लाई जडान, इन्ट्युमेन्टेसन जडान, प्रशोधन केन्द्र २ को निर्माण र मेलम्चीको पानी सुरुङको इन्टेक निर्माण बाँकी छ । आयोजनाले ४६ दिनभित्र यी सबै निर्माण कार्य सम्पन्न गर्न सीएमसीलाई समय अवधि तोकेको थियो ।


एक अर्ब तिर्न बाँकी
सीएमसीले निर्माणमा संलग्न नेपाली कामदारलाई तलबभत्ता र सञ्चय कोषबापत १ अर्ब भुक्तानी गर्न बाँकी रहेको छ । ‘स्थानीय निर्माण सामग्रीबाहेक डिजेलको मात्रै १२ करोड ८० लाख रुपैयाँ भुक्तानी लिन पाएको छैन,’ व्यवसायी विष्णुमणि आचार्यले भने । उनका अनुसार स्थानीय ठेकेदारको साढे १६ करोडसहित सीएमसीले १ अर्ब ५० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । बालुवा उपलब्ध गराएबापत साढे चार करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको मेलम्चीका सप्लायर्स उत्तरकुमार श्रेष्ठले जानकारी दिए । ‘ऋण गरेर लगानी गरेको रकमले हामी पीडित भयौं,’ श्रेष्ठले भने ।

प्रकाशित : फाल्गुन २९, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?