रनवेको काम ४० प्रतिशत सकियो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
तोकिएको समयभन्दा छ महिनाअघि नै निर्माण सक्ने गरी काम भइरहेको दाबी
लालप्रसाद शर्मा

पोखरा — निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन (जहाज चढ्ने र ओराल्ने ठाउँ) को निर्माण सकिएको छ । यतिबेला रनवे, टर्मिनल भवनलगायत संरचना धमाधम निर्माण भइरहेको आयोजनाले जनाएको छ । आयोजना राष्ट्रिय गौरवको हो ।

रनवेको काम ४० प्रतिशत सकियो

आयोजनाका अनुसार ५ हजार ५ सय १९ वर्गमिटरको एप्रोनको निर्माण सकिएको हो । ‘एप्रोनको काम सबै सकिएर अहिले रनवेलगायत अन्य संरचनाको काम भइरहेको छ,’ आयोजनाका इन्जिनियर कृष्णप्रसाद पौडेलले भने, ‘हालसम्म आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।’ ट्याक्सीवे, रनवे सोल्जरलगायत विमानस्थल क्षेत्रमा विद्युतीकरणका लागि केबुलिङ र लाइटिङको काम पनि भइरहेको छ ।


२ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे निर्माणको काम ४० प्रतिशत पूरा भएको छ । अबको डेढ महिनामा रनवे पूरै तयार हुनेछ । त्यसैगरी तीन महिनाभित्र ट्याक्सीवे निर्माण हुने गरी काम भइरहेको छ । रनवेको दुवैतर्फ सोल्जरको बेसकोर्सको काम पनि धमाधम भएको छ । ह्यांगर, फोहोर व्यवस्थापन, इलेक्ट्रिकल सबस्टेसन र ग्यारवेजको आरसीसी भवनको संरचना तयार भइसकेको छ । टर्मिनल भवन, कार्गो, प्रशासनिक भवन र अग्नि नियन्त्रण तथा उद्धार कक्षका भवनको फाउन्डेसनको काम तीव्र गतिमा भइरहेको छ । साथै नाला निर्माण र पानी निकासको संरचना पनि बनिरहेको छ । विमानस्थलभित्रका भित्री सडक बनिरहेका र रनवे लाइटिङका लागि ट्रान्सफर्मर पिट स्थापनाको काम पनि उत्तिकै रफ्तारमा भएको छ । आयोजनाले सकभर तोकिएको समयभन्दा छ महिनाअघि नै निर्माण सक्ने गरी काम भइरहेको जनाएको छ । विमानस्थल १० जुलाई २०२१ भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने ठेकेदार कम्पनीसँगको सम्झौता छ । भन्सार, क्वारेन्टाइनजस्ता आवश्यक १५ वटा संरचना निर्माणको काम पनि भइरहेको छ ।


निर्माण कम्पनी चीनको सीएएमसी इन्जिनियरिङका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले तोकिएको मितिभन्दा छ महिनाअघि नै निर्माण सक्ने गरी काम भइरहेको दाबी गरे । उनका अनुसार यतिबेला २ सय ५० नेपाली र २ सय चिनियाँले दैनिक काम गरिरहेका छन् । निर्माण क्रममा अहिले कुनै समस्या नभएको उनले बताए । ‘विमानस्थलको काम निर्वाध रूपमा भइरहेको छ,’ उनले भने, ‘युद्धस्तरमा काम भएकाले तोकिएको समय अगावै सकिने विश्वास छ ।’ विमानस्थलमा १ सय ९२ देखि २ सयसम्म यात्रु बोक्ने मझौला खालका जहाज अवतरण र उडान हुनेछन् । पोखराबाट बेइजिङ, अजरबैजान, सिंगापुर र दोहासम्म सिधा उडान हुनेछन् । चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल बन्दै छ । २०७४ साउन १८ मा विमानस्थल निर्माणको काम सुरु भएको थियो । ऋण रकममध्ये ७५ प्रतिशत एक्जिम बैंकको २ प्रतिशत ब्याज र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋण हो । ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गानाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ विमानस्थल बन्न लागेको हो । धावनमार्ग २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुनेछ । सीएएमसीले २०७१ वैशाख २९ मा ठेक्का पाएको थियो । काम सुरु भएको चार वर्षभित्र (निर्धारित समयमा) निर्माण पूरा नगरे कम्पनीले नेपाल सरकारलाई क्षतिपूर्ति दिनुपर्ने सम्झौतामा छ । विमानस्थलका लागि सरकारले २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ५ सय २१ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।

प्रकाशित : फाल्गुन २९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?