कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उखु छाडेर मकै खेती

कान्तिपुर संवाददाता

मोरङ — सरकारले आफैं तोकेको मूल्य उद्योगीबाट दिलाउन नसक्ने अवस्था आएकाले यहाँका कृषक उखु छाडेर मकै खेती गर्न सुरु गरेका छन् । 

जहदा गाउँपालिका ७ का कृषक रजनीश सिंहले उखु खेतीले उद्योगी व्यवसायी नै मोटाउने भएकाले विकल्पमा मकै खेती थालेको बताए । ‘उखु खेतीमा अन्य खेतीभन्दा लागत बढी लाग्ने तर सरकारले तोकेको मूल्य पनि उद्योगीले दिन नमान्ने अवस्था छ,’ उनले भने, ‘उद्योगीले तोकेको मूल्य पनि समयमा भुक्तानी नपाएपछि उधारो उखु खेतीको विकल्पमा मकै खेती सुरु गरेका छौं ।’


उनले यसअघि २ बिघामा लगाएको उखु खेतीमा यस वर्ष उन्नत जातको मकै रोपेको बताए । ‘१० वर्षदेखि मकै खेती गर्दै आएको छु,’ उनले भने, ‘उखु खेतीभन्दा मकै खेती पनि आम्दानी कमै छैन ।’ जहदा २ का विजय साहले पनि यस वर्ष उखु लगाउने खेतमा पनि मकै खेती नै गरेको बताए । ‘गत वर्ष १२ मन प्रतिकट्ठा मकै फलेकोले राम्रै आम्दानी भएको थियो । त्यसैले यस वर्ष उखु खेतमा पनि मकै नै लगाएको छु,’ उनले भने, ‘लागत र मिहिनेत उखु खेतीमा बढी पर्छ तर फाइदा जति उद्योगीले नै लिन्छ ।’


कृषि विज्ञान केन्द्र इकाई विराटनगरका कृषि प्रसार अधिकृत रामदेव सिंहले जहदाका किसानहरूले १ हजार ५ सय हेक्टरमा मकै खेती गर्दै आएको बताए । धान, गहुँभन्दा बढी आम्दानी मकै खेतीमा भएकाले अधिकांश किसानले मकै खेती सुरु गरेको उनले बताए ।


सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६.५६ रुपैयाँ निर्धारण गरिसकेको छ । मन्त्रिपरिषद्ले चिनी मिलहरूले सम्बन्धित उखु मिलहरूले उखु कृषकलाई प्रतिक्विन्टल ४ सय ७१.२८ रुपैयाँमा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्ने र सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।


सुनसरीको बर्जु गाउँपालिकास्थित इस्टर्न सुगर मिल्सले ४ सय ४१ रुपैयाँ २८ पैसामा कृषकलाई उखु बिक्री गर्न बाध्य पारेको उनले बताए ।‘मोरङ र सुनसरी २ जिल्लाका २ हजार १ सय कृषकले गत वर्ष मिल्सलाई ११ लाख ७८ हजार क्विन्टल उखु बिक्री गरेका थियौं,’ कोसी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले भने, ‘यस वर्ष २ हजार ४ सय कृषकले गरेको उखु खेतीबाट १५ लाख क्विन्टल उत्पादन हुने भएको छ ।’


भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि विकास महाशाखाका प्रमुख मनोजकुमार यादवले यहाँका किसानहरूले वैज्ञानिक तरिकाले व्यावसायिक मकै खेती गर्दै आएकाले राम्रो उत्पादन हुँदै आएको बताए । ‘प्रदेश १ स्थित मोरङ र सुनसरीको दक्षिण क्षेत्रका किसानहरूले लाइन मिलाएर मकै रोप्ने, समयमा गोडमेल, मल र सिँचाइ गरिरहेकाले उत्पादन बढी भइरहेको छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?