२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सय माथिका भारु फेरि चलाउने तयारी

'ठूला दरका नोट नेपाल भारतबीच ओहोरदोहोर गर्न पाउने व्यवस्था गर्न चाहेका हौं, आरबीआईको पत्रमा ती पक्ष खुलेका छैनन् । ती सबै कुरा खुलेपछि मात्र ठूला दरका नोट चलनचल्तीमा ल्याउने हो’
यज्ञ बञ्जाडे

काठमाडौँ — राष्ट्र बैंकले फेरि सय माथिका भारतीय नोट चलाउने तयारी गरेको छ । भारु सयभन्दा ठूला दरका नोट चलनचल्तीमा प्रतिबन्धको सूचना सार्वजनिक गरेको एक महिनापछि फेरि ती नोट चलाउने तयारी गरिएको हो । 

सय माथिका भारु फेरि चलाउने तयारी

राष्ट्र बैंकले केही साताअघि भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) लाई पत्र पठाएर २ सय, ५ सय, हजार र २ हजार दरको नोट चलनचल्तीमा ल्याउन, नेपाल–भारतमा ल्याउन–लैजान र नेपालमा संकलन भएका भारु भारतले सटही गरिदिने व्यवस्थाका लागि आग्रह गरेको थियो । एक साताअघि आरबीआईले जवाफ पठाएको छ । जवाफमा प्रतिव्यक्ति २५ हजारसम्म २ सय र ५ सय दरका भारु नेपाल लैजान पाउने अनुमति दिइएको छ । नेपालबाट भारत जाँदा ती नोट लैजान पाइने, नेपालमा थुप्रिएका भारु भारतले सटही गरिदिने लगायत विषयमा केही बोलेको छैन । यसको अर्थ २ सय र ५ सय दरका भारु नेपाल ल्याउन पाए पनि उता लैजान र नेपाल थुप्रिएको ती नोट सटही नगरिदिने भन्ने हो । यसकारण ती सबै विषय स्पष्ट भएपछि मात्र ठूला दरका भारु चलाउने तयारी भएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए ।


राष्ट्र बैंकले गत माघ १० मा परिपत्रमार्फत २ सय, ५ सय, हजार र दुई हजार दरका भारु नचलाउन निर्देशन दिएको थियो । यसअघि भारत सरकारले ५ सय र हजार दरका पुराना नोट सटही नगरिदिएपछि सयभन्दा ठूला दरका नोट नचलाउन निर्देशन दिएको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्र बैंकले यस्तो निर्देशन दिएको थियो । राष्ट्र बैंकले उक्त सूचना जारी गरे लगत्तै नेपालमा भारतीय पर्यटक घटेको आशयका समाचारहरू सार्वजनिक भएका थिए । जुन समाचार तथ्यद्वारा पुष्टि भएका थिएनन् । त्यही समाचारका आधारमा सरकारले ठूला दरका भारु पनि चलाउने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह गरेको थियो ।


‘हामीले ठूला दरका नोट नेपाल भारतबीच ओहोरदोहोर गर्न पाउने व्यवस्था गर्न चाहेका हौं, आरबीआईको पत्रमा ती पक्ष खुलेका छैनन्,’ उनले भने, ‘ती सबै कुरा खुलेपछि मात्र ठूला दरका नोट चलनचल्तीमा ल्याउने हो ।’ नेपालीले भारत जाँदा लैजान नपाउने र सटहीमार्फत यहाँ जम्मा भएको नोट भारतले सटही नगरिदिने अवस्थामा ती नोट चलनचल्तीमा नल्याइने उनले प्रस्ट पारे । ‘पुराना नोट अझै साटिएको छैन,’ उनले भने, ‘यही अवस्थामा फेरि ठूला दरका नयाँ नोट पनि थुपार्दा थप समस्या आउँछ । यसबारे हामी सचेत छौं ।’


उल्लिखित जिज्ञासासहित आरबीआईलाई फेरि पत्र पठाइएको डेपुटी गभर्नर सिवाकोटीले बताए । ‘जवाफ कस्तो हुन्छ, त्यही आधारमा ठूला दरका भारु चलाउने/नचलाउने बारे निर्णय हुन्छ,’ उनले भने, ‘नेपालबाट भारतमा लैजान नपाइने तथा नेपालमा रहेको भारु भारतले सटही नगरिदिने अवस्थामा ठूला नोट चलाउनुको अर्थ हुँदैन ।’


त्यसो त आरबीआईले नेपाललाई फेरि जालझेल गर्न खोजेको विज्ञहरूको अनुमान छ । यसअघि प्रतिबन्धित भारु ५ सय र हजार दरका नोट नसाटिदिएर दु:ख दिइरहेका समयमा फेरि अर्को झेल गर्न खोजेको उनीहरूको भनाइ छ । राष्ट्र बैंकको कमजोरीका कारण आरबीआईले नेपालप्रति यस्तो व्यवहार गरिरहेको उनीहरूको आरोप छ ।


‘पुराना ५ सय र हजार दरका भारु नसाटदै किन ठूला दरका नोट पनि चलाउँछौ भनेर राष्ट्र बैंकले पत्र पठाएको ?,’ एक अधिकारीले भने, ‘राष्ट्र बैंकले त भारतले आफैं ठूला दरका नोट चलाऊ भन्दा पनि पुराना नसाटदै अरू चलाउँदैनौं भन्न सक्नुपर्थ्यो । आफै अरू नोट चलाउन अनुमति मागेर राष्ट्र बैंकले गल्ती गरेको हो ।’


सय दरका भारु चलिरहेकाले तत्काल ठूला दरका नोट नचलाए पनि नेपाललाई अप्ठ्यरो नहुने राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले बताए । ‘पत्रमा भारतले पुराना तथा नयाँ भारु सटहीबारे केही नबोलेको भए, तत्काल ठूला नोट चलनचल्तीमा ल्याउनु हुँदैन,’ ती अधिकारीले भने, ‘अहिले पनि राष्ट्र बैंकको प्राथमिकता पुराना नोट साट्नुमै हुनुपर्थ्यो ।’ भुटानमा रहेको भारु सटही गरिसकेको भारतले नेपालमा रहेको नोट सटही नगरेर अन्याय गरेको उनको ठम्याइ छ । ‘पुराना नोट नसाटदै राष्ट्र बैंकले फेरि ठूला दरका नोट चलनचल्तीमा ल्याएमा उसको अक्षमता स्पष्ट हुनेछ,’ उनले भने । यसकारण राष्ट्र बैंकले कम्तीमा प्रणालीमा रहेको भारु साटहीपछि मात्र थप ठूला दरका नोट चलनचल्तीमा ल्याउनुपर्ने उनको सुझाव छ ।


प्रकाशित : चैत्र १, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?