२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

किन लाग्दैन समयमै फोन ?

विजय तिमल्सिना

काठमाडौँ — एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा ५ सेकेन्डभित्र फोन लाग्नुपर्ने नियम छ । नेपालमा चलेका दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमा फोन गरेको ५ सेकेन्डमा फोन लाग्दैन । नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई कल स्थापित हुने समय भनेको छ । प्राधिकरणले तयार पारेको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी नियमावलीमा कल स्थापित हुने दर ५ सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने प्रावधान छ ।

किन लाग्दैन समयमै फोन ?

प्राधिकरणले पुस र माघ महिनामा भक्तपुरसहित पृथ्वी राजमार्ग, पोखरा र बागलुङ बजारमा गरेको ड्राइभ टेस्टको क्रममा नेपालका प्रमुख दुई सेवा प्रदायक टेलिकम र एनसेलसहित स्मार्ट टेलिकमको मोबाइलको गुणस्तर मापदण्डभन्दा कम पाइएको हो । प्रयोगकर्ताको संख्या र मापदण्डअनुसार दूरसञ्चार सेवा प्रदायकले पूर्वाधार विस्तार नगर्दा यो समस्या आएको हो ।


चलायमान सवारी साधनमा परीक्षण उपकरण जडान गरेर लगातार फोन कल गरी वा डाटा प्रयोग गरी मोबाइल सेवा प्रदायकको सेवा मानकको संकलन गरिएको प्राधिरकणले आफ्नो प्रतिवेदनमा सार्वजनिक गरेको छ ।

भक्तपुरमा गरिएको परीक्षणका क्रममा नेपाल टेलिकमको कल स्थापित हुने दर करिब साढे १२ सेकेन्ड देखिएको छ । एनसेलको करिब ८ सेकेन्ड र स्मार्ट टेलिकमको कल स्थापित हुन औसतमा करिब १६ सेकेन्ड लाग्ने गरेको देखिएको छ ।


भक्तपुरमा टेलिकम र स्मार्टको फोन विच्छेद हुने दर पनि मापदण्डभन्दा बढी छ । प्राधिकरणले तोकेको प्रावधानअनुसार आफैं फोन कल विच्छेद हुने दर २ प्रतिशत वा सोभन्दा कम हुनुपर्नेमा टेलिकमको नेटवर्कमा हुने कलको विच्छेद दर करिब ५ प्रतिशत र स्मार्ट टेलिकमको नेटवर्कमा कल विच्छेद दर साढे ५ प्रतिशत पाइएको छ । उपभोक्ताले फोनमा कुराकानी गर्दागर्दै फोन काटिनु नै फोनकल विच्छेद हुनु हो । भक्तपुरमा टेलिकम र एनसेलबाहेक स्मार्टको इन्टरनेटको गुणस्तर पनि कमजोर पाइएको छ । स्मार्टको डाटा प्रयोग गरी कुनै वेबसाइट खोल्दा कनेक्ट हुन तीन सय मिलिसेकेन्ड लाग्ने परीक्षणको क्रममा देखिएको छ । कुनै वेबसाइट एड्रेस राखेपछि त्यसले प्रतिक्रिया दिन (कनेक्ट) हुन लाग्ने समयलाई पिङ्ग हो । पिङ्ग जति छिटो भयो त्यति राम्रो इन्टरनेट मानिन्छ ।


प्राधिरकणले पिङ्ग गर्न लाग्ने समय २ सय ५० मिलिसेकेन्ड वा सोभन्दा कम हुनुपर्ने मापदण्ड तोकेको छ ।


भक्तपुरमा टेलिकमको डाटा प्रयोग गरी वेबसाइट लोड हुन सबैभन्दा कम समय लागेको भए पनि डाउनलोड डाटाको बहाव भने एनसेलको सबैभन्दा धेरै छ । अपलोड डाटाको बहाव भने स्मार्टको सबैभन्दा बढी देखिएको छ । स्मार्टमा अपलोड डाटाको बहाव सबैभन्दा धेरे अर्थात् करिब ११ एमबीपीएस देखिएको छ ।


पोखरामा गरिएको क्रममा पनि कल स्थापना हुन लाग्ने समय ५ सेकेन्डभन्दा बढी पाइएको छ । परीक्षणका क्रममा पोखरामा टेलिकमको नेटवर्कभित्र कल गर्न लाग्ने समय करिब १२ सेकेन्ड र एनसेलको नेटवर्कमा कल स्थापित हुन लाग्ने समय करिब १० सेकेन्ड छ । स्मार्टमा यो दर १३ प्रतिशत छ ।


पोखरामा तीनै सेवा प्रदायकले दिने इन्टरनेट सेवा भने भक्तपुरको तुलनामा गुणस्तरीय देखिएको छ ।


बागलुङमा पनि टेलिकम, एनसेल र स्मार्ट गरी तीनै सेवा प्रदायकको फोन स्थापित हुने दर मापदण्डभन्दा कमजोर छ । परीक्षणका क्रममा बागलुङमा टेलिकम र एनसेल दुवैको इन्टरनेट सेवा पनि मापदण्डभन्दा कमजोर भेटिएको छ ।


टेलिकम र एनसेलको सेवाको पृथ्वी राजमार्गमा गरिएको परीक्षणको क्रममा पनि कल स्थापित हुने दर, कल विच्छेद हुने दर मापदण्डभन्दा कमजोर पाइएको छ । टेलिकमको तुलनामा एनसेलको इन्टरनेट सेवा कमजोर भेटिएको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित : चैत्र १, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?